स्वास्थ्य अनुसन्धान परिषद्को पाँचौँ राष्ट्रिय सम्मेलन बुधबारदेखि

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन अगामी बुधबारदेखि सुरु हुन लागेको छ । सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार पत्रकारसम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो ।
तीन दिनसम्म चल्ने सम्मेलन २७ देखि २९ चैतसम्म काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्विटमा हुनेछ । सम्मेलनमा १ हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

परिषद्ले ५ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ । यसपटकको सम्मेलनको नारा ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ रहेको छ ।

सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता रहनेछ । सम्मेलनमा अमेरिका, चीन, जर्मन तथा भारतका विश्वप्रख्यात वैज्ञानिकहरूको समेत सहभागिता रहने परिषद्का कार्यकारी अध्यक्ष अञ्जनीकुमार झाले बताए ।

सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित २ सय ७७ वटा अनुसन्धानसम्बन्धी एब्स्ट्र्याक्ट परेका थिए । कुल २ सय ७७ वटा एब्स्ट्र्याक्ट परेकोमा साइन्टिफिक कमिटीले १ सय ३७ वटा मात्र छनोट गरेको छ । सम्मेलनमा ३३ वटा मौखिक र १ सय ४ वटा पोस्टर प्रस्तुति हुने अध्यक्ष डा. झाले भने ।

परिषद्ले ५ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ । यसपटकको सम्मेलनको नारा ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ रहेको छ ।

यसपटकको सम्मेलनमा स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृस्वास्थ्य, बालस्वास्थ्य र किशोर–किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवर्धन, प्रविधि र आवश्यक मेडिकल उत्पादनजस्ता विषयमा प्रस्तुति हुनेछन् । सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतीकरणसमेत हुनेछन् ।

सम्मेलनको अन्तिम दिन जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०१८, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०१८, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकलाई मात्र), मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, स्वास्थ्य अनुसन्धान लाइफटाइम एचिभमेन्ट पुरस्कार, उत्कृष्ट मौखिक प्रस्तुति पुरस्कार र उत्कृष्ट पोस्टर प्रस्तुति पुरस्कार सातजनालाई दिइनेछ ।

‘सम्मेलनको मुख्य उद्देश्य स्वास्थ्यक्षेत्रमा हाल के भइरहेको छ र अब के गर्ने भन्ने विषयमा सार्वजनिक छलफल गर्नु हो,’ डा. झाले भने, ‘यसका लागि एउटै थलोमा बसेर अनुसन्धानकर्ता, नीति–निर्माता, विकास साझेदार विभिन्न संस्थाहरूबीच छलफल हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय