समायोजन नमान्ने डाक्टर संघीयताविरोधी हुन्, कारबाही हुन्छ : मन्त्री, मन्त्रीले नै आन्दोलन गर भनेका हुन् : डाक्टर

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत २५ गते १८:३८

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आन्दोलनरत चिकित्सकलाई खटाएको ठाउँमा नगए कानुनअनुसार कारबाही गर्ने बताएका छन् । सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले पुनःसंरचित संगठन संरचनाअनुसार सरकारले खटाएको ठाउँमा नजाने चिकित्सकलाई संघीयताविरोधी मानिने बताए ।

‘कुनै पनि डाक्टरको कर्तव्य बिरामीको सेवा गर्नु नै हो । त्यसकारण उपचार नगर्ने डाक्टर हुनै सक्दैन,’ मन्त्री यादवले भने, ‘गाउँमा रहेको अस्पतालमा जान्न भन्ने पनि डाक्टर हुन्छ ? गाउँमा जान्न, सहरमा बस्छु वा काठमाडौंमा मात्रै बस्छु भन्ने प्रवृत्ति कदापि स्वीकार्य हुँदैन ।’
मन्त्री यादवले संघीय शासनप्रणालीविरुद्धमा हुने कुनै पनि खालको षड्यन्त्र सरकारलाई स्वीकार्य नहुने बताए । ‘संघमा मात्रै बस्छु, तल्ला तहहरुमा जान्न भन्ने पनि हुन्छ ?’ मन्त्री यादवले थपे, ‘गाउँमा जनता बस्छन्, गाउँमा अस्पताल छन्, त्यसकारण चिकित्सकले गाउँमा उपचार गर्न जानुपर्छ ।’

गोदान भन्छ– सुरुमा आन्दोलन गर्न उक्साउने मन्त्री नै हुन्, तर अहिलेसम्म हाम्रा माग थाहा रहेनछ
मन्त्री यादवको संघीयताविरोधी भएको आरोप र कारबाही गर्ने चेतावनीप्रति प्रारम्भिक प्रतिक्रिया दिँदै सरकारी चिकित्सकले आफूहरु संघीयताविरोधी नभएको बताएका छन् । मन्त्री स्वयम्ले आफूहरुलाई आन्दोलन गर्न भनेको स्मरण गराउँदै उनीहरुले राजीनामा खल्तीमा बोकेर आन्दोलनमा उत्रिएका चिकित्सकलाई कारबाहीको धम्कीले अलिकति पनि नछुने प्रतिक्रिया दिएका छन् ।

‘मन्त्रीज्यू आफैँले हामीलाई कुनै मितिमा तपाईंहरु आन्दोलन गर्नुस्, हडताल गर्नुस्, म पनि आन्दोलन र हडताल गरेरै आएको मान्छे हुँ भन्नुभएको हो,’ सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘हामी अहिले त्यही आन्दोलन र सेवा–बहिष्कारमा छौँ ।’ उनले जस्तोसुकै कारबाहीको धम्कीले चिकित्सकहरु रतिभर नडराउने समेत बताए । ‘हामी खल्तीमा राजीनामा लिएर हिँडेका मान्छे हौँ, जुनसुकैवेला राजीनामा बुझाउन तयार छौँ,’ डा. पाण्डेले भने, ‘त्यसैले हामीलाई बर्खास्त गर्ने, निलम्बन गर्ने कुराले हामी डराउँदैनौँ, त्यसमा हाम्रो भन्नु केही छैन ।’

डा. पाण्डेले आफूहरु संघीयताविरोधी नभएको बताए । ‘हामीले भन्नुपर्ने कुरा यति मात्र छ कि, हामी संघीयताविरोधी होइनौँ,’ डा. पाण्डेले भने, ‘हाम्रा मागहरु मन्त्रीले अहिलेसम्म बुझ्नुभएको रहेनछ भन्ने हाम्रो निक्र्योल छ ।’

कर्मचारी समायोजन प्रक्रियामा आफूसँग गरेको सहमतिविपरीत सूची सार्वजनिक गरिएको भन्दै सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले ४ दिनदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्दै आएको छ । सबै सरकारी चिकित्सकलाई केन्द्र सरकारमातहत राखेर मात्र उनीहरुलाई मुलुकभर काममा खटाउनुपर्ने गोदानको माग छ ।

सोमबार पनि मुलुकभर स्वास्थ्यसेवा प्रभावित
सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेसँगै तेस्रो चरणको आन्दोलन घोषणा गरेको गोदानले शुक्रबारदेखि सुरु गरेको अनिश्चितकालीन सेवा–बहिष्कार आन्दोलनका कारण सोमबार पनि देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्यसेवा नराम्ररी प्रभावित भएका छन् । सरकारी दरबन्दीका चिकित्सकले काम नगरेपछि कतिपय ठूला अस्पतालमा ओपिडी, शल्यक्रियालगायत सबै सेवा ठप्प रहे भने कतिपयमा अस्पताल विकास समितिअन्तर्गतका चिकित्सकमार्फत बिरामीलाई अत्यावश्यक सेवा दिइरहेको अस्पतालहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय