विकराल बन्दै आङ खस्ने समस्या, लाज र सामाजिक अपहेलना उपचारका बाधक

मकवानपुरकी एकमाया मगरको १८ वर्षको कलिलो उमेरमै विवाह भयो । विवाह भएको ४ वर्षपछि अर्थात् २२ वर्षको उमेरमा उनले पहिलो सन्तान छोरा जन्माइनन् । घरको समस्याका कारण उनले सुक्केरी भएको ४–५ दिनपछि सबै काम गर्न थालिन् । २६ वर्षको उमेरमा उनको दोस्रो छोरो जन्मियो । यसपटक सुत्केरी भएको १ महिनामा उनले आङ खस्यो, जसका कारण उनलाई हिँडडुल गर्नसमेत गाह्रो भयो ।

‘दुःख–कष्ट सहेर आफ्नो व्यथा सहेर बसेँ, कसैलाई भन्न लाज लाथ्यो,’ एकमाया भन्छिन्, ‘आङ खसेको थाहा पाए सबैबाट अपहेलित हुनुपथ्र्यो, त्यसकारण आफ्नो शरीरको व्यथा लुकाएरै राखेँ ।’
३० वर्षको उमेरमा तेस्रो सन्तानका रूपमा एकमायाको पुनः छोरो नै जन्मियो । फेरि छोरीको रहरले अर्को सन्तान जन्माउने निर्णय भयो । छोरो जन्मिएको केही वर्षमा उनले चाथौ सन्तान छोरी जन्माइन् । ‘छोरी जन्मिएपछि फेरि आङ खसेर हिँडडुल गर्नसमेत सकिएन,’ उनी भन्छिन्, ‘अलिकति हिँड्यो कि पाठेघर दुख्ने गथ्र्यो ।’

छोरी जन्मिएको २ वर्षपछि उनले पाँचौँ सन्तानका रूपमा छोरोलाई जन्म दिइन् । त्यसको केही वर्षमै उनकै कोखबाट छठौँ सन्तानका रूपमा छोराले जन्म लियो । ‘खाना पकाउनेदेखि लिएर घरका सम्पूर्ण काम र बाहिरको खेतीसम्मको काम आफूले नै गर्नुपथ्र्यो, तर घरमा खानपानको समेत राम्रो व्यवस्था थिएन,’ एकमाया सम्झिन्छिन् ।

५७ वर्षको हुँदासम्म एकमाया आङ खस्ने रोग लिएर हिँडिराखिन् । आफूभन्दा कम उमेरकी बुहारी भएपछि मात्र उनले आफ्नो व्यथा बुहारीसमक्ष राख्न सकिन् । छोरा–बुहारी पोखरामा बस्थे । बुहारीले उनलाई पोखराकै एक अस्पतालमा लएर जाँच गराइन् । चिकित्सकले पाठेघरको अप्रेसन गर्न सुझाब दिए ।

एकमायाको घरको आर्थिक स्थित पनि राम्रो थिएन । छोरा–बुहारीले आफ्नो ढंगले काम गरेर जीविका चलाएका थिए । ‘घरबाट ल्याएको ५–७ हजार रूपैयाँ औषधि किन्नमै सकियो, अप्रेसन गर्ने पैसा भएन,’ एकमाया भन्छिन्, ‘छोरा, बुहारी नै सामान्य जीविका चलाएर बसेका हुनाले उनीहरूलाई दुःख दिन मन लागेन र केही औषधि बोकेर बिसेक हुने आशमा घर फर्किएँ ।’

औषधि सेवनपछि पनि उनको दुखाइ ज्युँ का त्युँ नै रह्यो । एकदिन उनी बजार जान निस्किएकी थिइन्, बाटोमा एउटा रूखमा पत्र टाँसिएको देखिन् । पत्रको सूचनाबारे बुझ्दा थाहा पाइन्, खेमा नेपालले गाउँमा पाठेघरको बिरामीका लागि उपचार शिविर राखेको रहेछ ।
खेमा नेपालको सहकार्यमा उनी काठमाडौं मेडिकल कलेजमा भर्ना भइन् । केही दिनको बसाइमा उनको पाठेघरको अप्रेसन भयो । ‘अप्रेसनपछि केही महिना आराम गरेपछि अहिले केही समस्या देखिएको छैन,’ एकमाया भन्छिन्, ‘सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’

स्वास्थ्योपचारसम्बन्धी ज्ञान र पहुँच अभावमा एकमायाको जस्तै कथा र व्यथा बोकेर हजारौँ नेपाली महिला कष्टपूर्ण जीवनयापन गर्न बाध्य छन् । शनिबार राजधानी काठमाडौंमा खेमा नेपालले आयोजना गरेको कार्यक्रममा नेपालमा कम उमेरमै महिलाको आङ खस्ने समस्याले विकराल रूपमा लिँदै गएको विशेषज्ञले जानकारी दिएका छन् ।

७५ प्रतिशत विवाहित महिलामा पाठेघरको कुनै न कुनै प्रकारको समस्या
नेपालमा ७५ प्रतिशत विवाहित महिला पाठेघरको कुनै न कुनै समस्याबाट पीडित भएको तथ्यांकले देखाएका छन् । शनिबार खेमा नेपालको कार्यक्रममा सहभागी क्यानडाकी स्त्रीरोग विशेषज्ञ डा. मार्गरेट रोपर्टले नेपालमा आङ खस्नुको मुख्य कारण कम उमेरमा सन्तान जन्माउनु रहेको बताइन्। उनका अनुसार पेटमा भार धेरै भएपछि आङ खस्ने सम्भावना बढी हुन्छ । रोपर्टले नेपालमा गरेको अध्ययनअनुसार अधिकांश महिलाले लाजकै कारण आफ्नो समस्या वर्षौंसम्म लुकाएर राख्ने गरेको पाइएको छ ।

नेपालको सुदूरपश्चिम क्षेत्रमा ७१ प्रतिशत महिलामा आङ खस्ने समस्या छ । यति ठूलो संख्यामा समस्या देखिनुमा सानै उमेरमा सन्तान जन्माउनु, सुत्केरीपछिको १५ दिनभित्रै गह्रुंगो काम गर्नु, सुत्केरी भएपश्चात् पोषणयुक्त खानेकुरा नखानुलगायत कारण प्रमुख रूपमा रहेको डा. रोपर्टको अध्ययनले देखाएको छ ।

‘अमेरिकातिर हेर्ने हो भने ७० वर्षका महिलामा पाठेघरमा केही समस्या देखिन्छ,’ डा. रोपर्ट भन्छिन्, ‘तर, नेपालमा भने २० वर्षको उमेरदेखि नै युवतीमा आङ खस्ने समस्या बढ्दै गएको छ ।’ उनका अनुसार ग्रामीण क्षेत्रका महिलाको आङ खस्नुको प्रमुख कारण गरिबी, आवश्यक पोषणको अभाव, बढी मात्रामा धूमपानलगायत हुन् ।

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले महिलाको आङ खस्दा मन पनि सँगै खस्ने बताइन् । यो समस्या कम गर्न सरकारले जनचेतानको कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन् । उनका अनुसार जनचेतनाको कमीका कारण आङ खसेका महिलाले परिवार र समाजदेखि लाज मानेर वर्षौंसम्म समस्या लुकाएर राख्ने गरेका छन् । आङ खसेका सबै महिलाको उपचारका लागि र कम उमेरमा विवाह रोक्नका लागि अब आफ्नै घरबाट पहल गर्नुपर्ने डा. उप्रेतीको भनाइ छ । ‘सरकारले यस्ता समस्या भएका महिलाको शल्यक्रियाका लागि बजेट छुट्याए पनि महिलाको स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने विषयमा लगानी कम छ,’ उनले भनिन्, ‘जनचेतना फैलाउन सके आङ खस्ने समस्यामा कमी ल्याउन सकिन्छ ।’

त्यसैगरी, स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बरालले आङ खसेको अप्रेसन गर्नु भनेको पाठेघर नै फाल्नु हो भन्ने भ्रम व्याप्त रहेको बताए । ‘आङ खसेको सर्जरी गर्नु भनेको पाठेघर नै फाल्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘अवस्था हेरेर मर्मत गर्न पनि सकिन्छ ।’ महिलालाई दासका रूपमा लिने र जस्तो अवस्थामा पनि घरका काम गर्नैपर्छ भन्ने नकारात्मक सोचले पनि आङ खस्ने समस्या निम्तिने गरेको उनले बताए ।

‘गर्भैदेखि राखिने लैंगिक विभेदको सोच नै समस्याको जड’
महिलाअधिकारकर्मी राधा पौडेलले महिलाको विवाहपछिको अवस्थाभन्दा पनि गर्भदेखि नै लैंगिक विभेदको सोचलाई परिवर्तन गर्नुपर्ने बताइन् । ‘आजको समयमा पनि गर्भदेखि नै लिंग पहिचान गरेर छोरीलाई गर्भमै मारिन्छ, उनीहरू संयोगले मात्रै बाँच्छन्,’ उनले भनिन्, ‘सोही कारण छोरीलाई गर्भदेखि नै हेर्ने साँघुरो दृष्टिकोण परिवर्तन गर्नुपर्छ, जुन महिलामा आउने हरेक समस्याको मुख्य जड हो ।’

स्थापनाको २ वर्षमा खेमा नेपालले दूरदराजमा स्वास्थ्योपचारको पहुँचबाहिर रहेका करिब २ सय महिलाको पाठेघरको अप्रेसन गराएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजसँगको सहकार्यमा खेमा नेपालले महिलाको पाठेघरको उपचार गर्दै आएको हो । गाउँघरमा पुगेर आङ खस्ने समस्याबारे जनचेतानाका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय