स्वास्थ्यकर्मीका लागि मोटिभेसन : अब यसरी सोचौँ, यसरी गरौँ

अमृतजंग बस्नेत
प्रकाशित
२०७५ चैत २२ गते ११:१२

स्वास्थ्य पेसा मात्र होइन, सेवा हो । यो साधारण मान्यतामा तपाईंहरू सबै सहमत हुनुहुन्छ । दुःखीको दुखिरहेको, चहर्याइरहेको घाउमा मलमपट्टी गरेर ठिक बनाउन पाउनुको आनन्द सायद स्वास्थ्यसेवामा लागेका बाहेक अरूले महसुस गर्न सक्दैनन् । एउटा मान्छेबाट अर्को मान्छे निस्किँदै गर्दा कुशलतापूर्वक दुई शरीर छुट्याइसकेपछिको सन्तुष्टि अरूलाई के थाहा ? जीवन–मरणमा छटपटाइरहेको मानिसलाई केही समयमा मुसुक्क हाँस्ने बनाउँदा कति गर्व लाग्छ, त्यसको कुनै हिसाब छैन । रौँबराबरको समयमा जीवन बचाउँदा कति अहम् हुन्छ, त्यो अरूले बुझ्न सक्दैनन् । त्यसैले स्वास्थ्य पेसा मात्र होइन, सेवा हो । यो पेसा अरूभन्दा धेरै विशिष्ट छ । यो आफूले बुझेर अरूलाई बुझाउने कुरा हो ।

मानिसको उत्पत्तिसँगै प्राक्ऐतिहासिक कालखण्डमा बलिया मानिसहरू खानका लागि संघर्ष गर्न सक्षम हुन्थे र पोसिलो खाना पाएकाहरू नै स्वस्थ हुने गर्दथे । कमजोरहरू पृथ्वीमा रहन संघर्ष गर्न नसकी मर्दथे । चेतनाको विकास हुँदै जाँदा रोगी, अशक्तहरूलाई स्याहार गर्नुपर्छ भन्ने बुझ्न थालेपछि प्राचीन उपचार पद्धतिहरूको विकास भएको अनुमान गर्न सकिन्छ । त्यस समयदेखि नै स्वास्थ्यसेवाको महत्व उच्च रहँदै आएको छ । समाजमा अरू पेसाका मानिस नभए पनि समाज चल्छ, तर स्वास्थ्यसेवाका मानिस अनिवार्य हुन्छन् ।

वर्तमान समयमा विविध परिस्थितिका कारण स्वास्थ्यकर्मीको मनोबल गिरेको छ । खुम्चिएको मन र कामेका हातले निश्चित छ, राम्रो सेवाको अपेक्षा राख्न सकिँदैन । यो लेख त्यी खुम्चिएका मनहरूलाई सिँचाइ गर्ने उद्देश्यले तयार गरेको छु ।

धेरै स्वास्थ्यकर्मी साथीहरूको गुनासो सुनिन्छ– हाकिमले केही सपोर्ट गर्दैनन्, सिनियरले गन्दैनन्, जुनियरले टेर्दैनन्, बिरामीले पत्याउँदैनन्, बिरामीका आफन्तले हेप्छन्, काम गर्ने वातावरण नै छैन… इत्यादि । यी समस्या सानातिना हुन् भन्ने आशय होइन । समस्या आफ्ना ठाउँमा ठूला र जटिल छन् । अब यी समस्यालाई चुनौतीका रूपमा ग्रहण गरौँ । बुझौँ, समाज यस्तै छ, यहाँका मानिस यस्तै छन् । यहाँ मात्र होइन, जहाँ पनि यस्तै हो । यस्तै वातावरणका माझमा आफ्नो कौशल देखाउनुपर्ने चुनौती हामीमाझ छ । चुनौतीलाई सामना गर्ने सामथ्र्य पनि छ, हामीसँग । कमी छ त थोरै आशाको कमी छ, थोरै सकारात्मक सोचको कमी छ, थोरै धैर्यको कमी छ र थोरै प्रतिज्ञाको कमी छ । यी समस्या कसैले सामाधान गरिदिनेवाला छैनन्, चुनौतीको सामना अफैँले गर्नुपर्ने हुन्छ ।

परिस्थिति आफ्नो, परिवेश आफ्नो, समस्या आफ्ना, चुनौती आफ्ना, लक्ष्य आफ्नो, उद्देश्य आफ्नो । अरूले मेरा लागि गरिदिनुपर्छ, अरूले मलाई सजिलो बनाइदिनुपर्छ भन्ने नसोचौँ । आफ्ना उल्झनहरू आफैँले छिचोल्ने हो । परिस्थितिलाई सिम्प्लिफाई गर्दै लैजानुपर्छ, कम्प्लेक्स बनाउन थालियो भने त कहाँ पुग्छ कहाँ ! मेरा आदरणीय मित्रहरू– टेक इट इजी । हरेक उल्झनहरूलाई इजिली ह्यान्डल गरेर पार लगाउन सकिन्छ । नयाँ तरिकाले साचौँ । अल्वर्ट आइन्स्टाइनले भनेका छन्, ‘कुनै एक तहको सोचाइले सिर्जना गरेको समस्या त्यही तहको सोचाइले वा ज्ञानले सामाधान गर्न सक्दैन, समस्या सामाधानका लागि नयाँ तरिकाले हेर्न सक्नुपर्छ ।’

ज्ञानलाई नवीकरण गरौँ, सोच बदलौँ । स्मार्ट त बन्नैपर्यो, जमाना यस्तो प्रतिस्पर्धी छ । वर्क हार्ड हैन, वर्क स्मार्टको जमाना छ । साथीहरूसँग, सिनियरहरूसँग वा जुनियरहरूसँग अनुभव आदान–प्रदान गर्दा फाइदा नै हुन्छ । आफू सधैँ सफा, स्वस्थ रहने कोसिस गर्नुहोस्, अनि न अरूलाई स्वास्थ्यसम्बन्धी सन्देश छाँट्न पाइन्छ । दर्जीको दौरा च्यात्तिएको सुहाउँदैन ।

आफ्नो काम इमानदारीका साथमा फुल इफोर्टले गर्नुस् । हुन सक्छ, तपाईंको सिनियरले तपाईंले गरेको कामको मूल्यांकन गर्न नसक्लान् । तर, विश्वास गर्नुस्, समयले तपाईंको मिहिनेतको सही मूल्यांकन गर्नेछ । समयलाई पर्खिनुस्, समय सबैको आउँछ । निरन्तर आफूलाई अद्यावधिक राख्नुहोस्, आफूलाई सधैँ चाहिने कुरामा अरूको साहरा लिनु राम्रो हुँदैन । सिक्नका लागि कहिल्यै ढिला भएको हुँदैन । रिटायर्ड हुने अघिल्लो दिन सिकेको ज्ञान वा सीपको पनि काम आउँछ । अरूको ईष्र्या गर्नुहुँदैन, तर प्रोफेसनल्ली सधैँ आफूलाई प्रतिस्पर्धाका लागि तयार राख्नुहोस् । नजानेको कुरामा बाठो पल्टिनु भएन, तर आत्मबल उच्च राख्नुहोस्, अरूले सक्ने तपाईंले नसक्ने भन्ने कुनै काम छैन ।

ज्ञानलाई नवीकरण गरौँ, सोच बदलौँ । स्मार्ट त बन्नैपर्यो, जमाना यस्तो प्रतिस्पर्धी छ । वर्क हार्ड हैन, वर्क स्मार्टको जमाना छ । साथीहरूसँग, सिनियरहरूसँग वा जुनियरहरूसँग अनुभव आदान–प्रदान गर्दा फाइदा नै हुन्छ । आफू सधैँ सफा, स्वस्थ रहने कोसिस गर्नुहोस्, अनि न अरूलाई स्वास्थ्यसम्बन्धी सन्देश छाँट्न पाइन्छ । दर्जीको दौरा च्यात्तिएको सुहाउँदैन । कहिलेकाहीँ जोखिम पनि उठाउनुपर्छ, कि आँटले खान्छ, कि त ढाँटले खान्छ । कमान्डिङ क्यापासिटी विकास गर्नुपर्यो, दुई–चारजना भएको ठाउँमा आत्तिएर हुँदैन ।

आफ्नो कुरा सशक्त, स्पष्ट र कन्फिडेन्ट तरिकाले राख्नुहोस्, कामेको आवाजलाई कसैले पत्याउँदैन । कसैलाई भन्न मन लागेको कुरा मनमा गुम्स्याएर नराख्नुहोस्, राति निद्रा लाग्दैन । अरूसँग धेरै आशा नराखौँ । जोसँग आशा राखिन्छ, उसको अघिल्तिर सिर ठाडो गर्न सकिँदैन, याद गर्नुभा’छ ? सधैँ सिर्जनशील बन्नुपर्छ । कम्तीमा दिनमा एउटा काम नयाँ गरेको छु भनेर निदाउन सकियोस् । कसैप्रति कुण्ठा नराखौँ, अरूको चियो–चर्चो गरेर साध्य चल्दैन । धेरै पनि नसोचौँ, जति चिन्ता लिए नि संसार यस्तै हो । तनाव व्यवस्थापन गर्न सिकौँ, ‘मन चंगा त, ढल गंगा’ भन्छन् । राम्रा कुराहरू पनि छन् संसारमा, आशावादी बन्नुपर्छ ।

हामीलाई यहाँसम्म ल्याउन हाम्रो परिवार, समाज र देशले कति लगानी गरेको छ, हिसाब गर्नुस् । त्यसको कमसेकम ब्याज तिर्न सकियो भने पार पाइएला । सक्ने लक्ष्य लिनुहोस्, चन्द्रमा नै छुनुपर्छ भन्ने छैन । अपेक्षा धेरै राखे मनमा शान्ति हुँदैन, छटपटी हुन्छ । तर, आफ्नो लक्ष्यमा स्पष्ट रहनुहोस् । लेविस कारोलले भनेका छन्, ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ भन्ने थाहा छैन भने जुन बाटो हिँडे पनि कहीँ पुग्न सक्नुहुन्न ।’

(लेखक स्वास्थ्यकर्मी हुन् ।)
e-mail : amritjikomail@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय