न्युरो सर्जनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

नेपाल न्युरो सर्जन समाजको आयोजनामा न्युरो सर्जनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

१३ देशका प्रतिनिधिहरूको सहभागिता रहेको तीन दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन बिहीबार हायात होटेलमा भव्य कार्यक्रमका बीच गरियो ।

समाजले दोस्रो अन्तर्राष्ट्रियसम्मेलनसँगै आफ्नो सातौँ राष्ट्रिय सम्मेलनसमेत एकैसाथ आयोजना गरेको हो ।

२३ चैतसम्म चल्ने सम्मेलनमा विदेशी र नेपाली गरी १ सय ४० भन्दा बढीको सहभागिता रहेको नेपाल न्युरो सर्जन समाजका महासचिव डा. प्रवीण श्रेष्ठले बताए । उनका अनुसार सम्मेलनमा विदेशी १० र नेपाली ४ फ्याकल्टीले न्युरो सर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । एजुकेसन कोर्सका लागि चीन, अस्ट्रेलिया, पोर्चुगल, जापान, भारत, जर्मनीका न्युरो सर्जनले न्युरो सर्जरीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए । सम्मेलनमा १३ देशका न्युरो सर्जन, न्युरोलोजिस्ट, न्युरो नर्स र फिजियोथेरापिस्टको सहभागिता छ ।

सम्मेलनमा मस्तिष्क, नसा तथा मेरुदण्डसम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धानसम्बन्धी विचार आदान–प्रदान हुने आयोजकको भनाइ छ । संसारमा भएका नवीनतम प्रविधिहरूको विकास र त्यसले नसासम्बन्धी रोगको निदान र उपचारमा पुर्याउने सहयोगका विषयमा उच्चस्तरीय छलफल हुने महासचिव डा. श्रेष्ठले बताए ।

‘विश्वका वरिष्ठ न्युरो सर्जनले न्युरो सर्जरीमा अपनाएका अन्तर्राष्ट्रिय पद्धति, प्रविधि र नयाँ विकास भएका उपकरणबारे विचार आदान–प्रदान गर्नेछन्,’ डा. श्रेष्ठले भने, ‘नेपालमा भएका उपचारपद्धतिबारे पनि विचार आदान–प्रदान हुनेछ ।’

नेपालमा ८० जना न्युरो सर्जन उपलब्ध छन् ।  सरकारी दरबन्दीको कमीका कारण धेरै न्युरो सर्जन निजी अस्पतालमा काम गर्न बाध्य भएको डा. श्रेष्ठको भनाइ छ । ‘बाँकी विश्वको तुलनामा नेपालको न्युरो सर्जरीको अवस्था निकै पछाडि छ,’ उनले भने, ‘यसको मूल कारण उपकरणको कमी नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय