प्रधानमन्त्रीले छलेको गोदानको आरोप, ‘समायोजन मान्दैनौँ, बरु राजीनामा दिन्छौँ’

लामो समयको संघर्षपछि सामान्य प्रशासन मन्त्रालयले पुनःसंरचित संगठन संरचनाअनुसार खटिने स्वास्थ्यसेवाअन्तर्गतका ७, ८, ९ र १०औँ तहका कर्मचारीको समायोजन सूची सार्वजानिक गरेलगत्तै त्यसको विरोधमा संघर्ष सुरु भइसकेको छ । मन्त्रालयले मंगलबार समायोजनको आंशिक सूची सार्वजनिक गरेपछि चिकित्सकको समायोजनबारे फरक मत र माग राख्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले सार्वजनिक समायोजन सूची आफूलाई मान्य नहुने जनाएको हो ।

सामान्यले सार्वजनिक गरेको समायोजन सूची विगतको चिकित्सकको आन्दोलनको सम्झौता र प्रधानमन्त्रीको आश्वासनविपरीत भएको ठहर गर्दै गोदानले आन्दोलनको तयारी सुरु गरेको जनाएको छ । ‘हामीसँग भएको सम्झौताअनुरूप समायोजन आएन,’ गोदानका केन्द्रीय अध्यक्ष डा. दीपेन्द्र पाण्डेले हेल्थपोस्टसित भने, ‘यो समायोजन हामीलाई मान्य छैन, अबको अन्तिम अस्त्र भनेको राजीनामा नै हो ।’

गोदानले कर्मचारी समायोजन अध्यादेश २०७५ आएपछि सबै चिकित्सकलाई संघअन्तर्गत राखेर देशभर खटाउनुपर्ने मागसहित आन्दोलन गर्दै आएको थियो ।
‘सबै चिकित्सकलाई केन्द्र सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गरिएमा देशको कुनै पनि क्षेत्र चिकित्सकविहीन हुँदैन, सबै जनताले सर्वसुलभ रूपमा सेवा पाउँछन् भन्ने हाम्रो अवधारणा थियो,’ डा. पाण्डेले भने, ‘तर, सरकारले यो समायोजनमा प्रदेश २ र ३ मा धेरै चिकित्सकलाई खटाएको छ, जुन दुर्गम र अति दुर्गमबाट तानिएका हुन् । अब ६, ७ नम्बरका जनताले अब चिकित्सकको मुखै देख्न नपाउने ?’

प्रधानमन्त्रीबाटै छल्ने काम भयो
गोदानले दोस्रोपटकको आन्दोलन विनाकुनै लिखित सहमति स्थगित गर्नुको प्रमुख कारण प्रधानमन्त्रीबाट प्राप्त आश्वासन थियो । प्रधानमन्त्रीलगायत उच्च राजनीतिक तहमा छलफलपछि गोदानले प्रधानमन्त्रीले नै विश्वास दिलाएको माग पूरा हुनेमा विश्वस्त रहेको जनाउँदै एकाएक आन्दोलन फिर्ता लिएको थियो । तर, त्यसबमोजिम समायोजनको सूची नआएपछि गोदानले प्रधानमन्त्रीबाटै छल्ने काम भएको आरोप लगाएको छ । ‘प्रधानमन्त्रीसँग भएको वार्तामा चिकित्सकको योग्यता हेरेर समायोजनमा लाने आश्वासन पाएका थियौँ, तर त्यस ढंगले सूची आएन,’ डा. पाण्डेले भने, ‘प्रधानमन्त्रीले प्रतिबद्धता दिएपछि पुग्यो, आन्दोलन स्थगन गर्नुस्, माग पूरा हुन्छ भन्ने आवाश्वन पाइएको थियो, तर पटक–पटक झुक्काउने काम मात्र भएको छ ।’  डा. पाण्डेले स्वास्थ्यकर्मीका अन्य संगठनसँग पनि अनौपचारिक बैठक भइरहेको र अब संयुक्त आन्दोलन हुने बताए ।

दुईपटकको आन्दोलनले दिएन राहत, तेस्रो आन्दोलनको तयारी
गोदानले चिकित्सकलाई संघअन्तर्गत राखेर देशभर सेवामा खटाउनुपर्ने प्रमुख माग राख्दै २२ पुषदेखि आन्दोलन सुरु गरेको थियो । आन्दोलन चर्किंदै सेवा बहिष्कारसम्म पुगेपछि गोदानसँग वार्ताका लागि मन्त्रालयले समिति बनाएको थियो । सरकारी वार्ताटोलीमा स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाईं र जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ थिए भने गोदानका तर्फबाट अध्यक्ष डा. दीपेन्द्र पाण्डे, डा. रविन खड्का, डा. सन्तोष पौडेललगायतको टिम थियो । सरकार र गोदानबीच ८ बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको थियो ।

सहमतिको एक महिना बित्तिसक्दा पनि मन्त्रालयले कुनै चासो नदेखाएपछि गोदानले दोस्रोपटक २७ माघबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो । यसपटक गोदानले प्रधानमन्त्रीसितको छलफलपछि अप्रत्याशित रूपमा आन्दोलन स्थगित गरेको थियो । तर, सामान्य प्रशासन मन्त्रालयले समायोजनलाई कार्यरूप दिँदा सबै चिकित्सकलाई केन्द्र सरकारमातहत नराखिएपछि प्रधानमन्त्रीसमेतबाट धोका भएको भन्दै गोदानले तेस्रोपटक आन्दोलनको तयारी गरेको छ । गोदानको यसपटकको आन्दोलनले भने कि वार कि पारको हुनुपर्ने देखिन्छ । यसै पनि गोदानले अन्तिम अस्त्र अर्थात् सामूहिक राजीनामाको विकल्प नभएको बताइसकेको छ ।
अध्यक्ष डा. पाण्डेले बुधबार बस्ने बैठकले आन्दोलनबारे सम्पूर्ण तयारी पूरा गर्ने बताए । ‘हामी पुनः स्थगन भएको आन्दोलनबाटै विरोधका कार्यक्रम सुरु गर्छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय