भेरी अस्पतालमा आवासीय भवन उद्घाटनसँगै इन्डोर ब्लकको शिलान्यास

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको स्तरोन्नतिसँगै पूर्वाधार निर्माणको कामले गति लिन थालेको छ । अस्पताल हाताभित्र इन्डोर ब्लकको निर्माण कार्य सुरु भएको छ भने चार परिवार नर्सिङ आवास निर्माणको काम सकिएको छ ।

३२ करोड ३१ लाख ३ हजार ७ सय ९३ रूपैयाँ लागतमा निर्माण हुने इन्डोर ब्लक तथा ६९ लाख ३१ हजार ६ सय ५५ रूपैयाँ लागतमा निर्माण सकिएको नर्सिङ आवास भवनको मंगलबार सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास तथा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मन्त्री राईले इन्डोर ब्लक निर्माण सुरु भइसकेकाले आगामी दिनमा अस्पतालमा आउने बिरामीले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुनुनपर्ने बताएका छन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेपछि सहरी विकास मन्त्रालयले कार्यान्वयनलाई तीव्रता दिनेछ ।’ मुलुक समृद्धिको बाटोमा अघि बढिसकेकाले पूर्वाधार विकासले गति लिइसकेको मन्त्री राईको भनाइ थियो ।

मन्त्री राईले देशको समृद्धि चाहेर पनि कसैले रोक्न नसक्ने दाबी गर्दै भने, ‘स्थायी सरकारले स्थायी काम गर्छ, यसले मुलुकको समृद्धिसँगै नागरिकलाई समृद्धिको बाटोमा लैजाने सम्भावनाका अवसरहरू आइरहेका छन् ।’ धेरैपटकको प्रयासपछि भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न सफल भएको मन्त्री राईले बताए । ‘म निकै उत्साहित भएको छु, मेरो कार्यकालमा यस क्षेत्रका नागरिकका लागि यो एउटा सानो उपहार मात्रै हो,’ उनले भने, ‘यस क्षेत्रको विकासका लागि मसँग अझै चुनौतीहरू छन् । ती चुनौतीको सामना गर्दै अघि बढिरहेको छु, यसलाई मैले सुनौलो अवसरका रूपमा लिएको छु ।’


मन्त्री राईले इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएपछि आफू उत्साहित भएको बताए । ‘अस्पतालको स्तरवृद्धिसँगै पूर्वाधार निर्माणका लागि मैले निरन्तर प्रयत्न गरेँ,’ उनले भने, ‘अस्पताल आमनागरिकका लागि हो, यसको सुधारका निम्ति तपाईंहरूको पनि साथ रहोस् ।’ मन्त्री राईले भेरी अस्पताललाई प्रदेशकै नमुना अस्पतालका रूपमा विकास गरिने बताए ।

अस्पतालको पूर्वाधार विकासमा संघीय सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री राईले समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिए । ‘पूर्वाधार निर्माणमा ढिलासुस्ती नहोस्, समयमै काम सक्न निर्माण कम्पनीले ध्यान दिनुपर्छ,’ उनले भने, ‘विशेषज्ञ सेवा प्रदान गर्न संघीय सरकार प्रतिबद्ध छ ।’

स्वास्थ्य मन्त्रालयले १७ असोजमा अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । त्यसैका आधारमा ८ कात्तिकमा मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको थियो । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवासीय भवन र बिरामीका लागि इन्डोर भवन बनाउन १२ वर्षअघिदेखि पहल भइरहेको भए पनि परिणाम निस्किन सकेको थिएन ।

हाल १ सय ५० शय्यामा सञ्चालनरत अस्पतालमा बिरामीको चापअनुसार इन्डोर ब्लकको आवश्यकता देखिएपछि निर्माण सुरु भएको भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन पाण्डेले खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय