फिस्टुलाको उपचार : अवस्था, विधि र सावधानी

डा. गणेश दंगाल
प्रकाशित
२०७५ चैत २० गते १०:१९

के हो फिस्टुला ?
योनिमार्गबाट पिसाबथैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ । डेलिभरी व्यथा लामो हुन जाँदा बच्चाको टाउको योनिमार्गमा धेरै समयसम्म रहन्छ र टाउकोले थिचेको योनिमार्गको भागमा रक्तसञ्चार बन्द हुन्छ । रक्तसञ्चार बन्द भएको भाग मर्छ । उक्त भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ । त्यस्तो प्वाल पिसाबथैली र योनिमार्गको बीचमा परेको छ भने योनिमार्गबाट पिसाब चुहिरहन्छ । यदि त्यस्तो प्वाल योनिमार्ग र दिसाथैलीको बीचमा छ भने योनिमार्गबाट दिसा चुहिरहन्छ । कहिलेकाहीँ यस्तो प्वाल दुवैतर्फ पर्छ । त्यस्तो अवस्थाका दिसा र पिसाब दुवै योनिमार्गबाट चुहिरहन्छ ।

डेलिभरीको समयमा बच्चाको टाउकोले पिसाबको थैली वा दिसाको नलीलाई थिचेर वा डेलिभरी हुन लामो समय लाग्दा प्वाल पर्ने सम्भावना रहन्छ । प्वाल परेपछि धेरै महिलामा पिसाब तथा दिसा चुहिने समस्या निम्तिने गर्छ ।

सामान्य अवस्थामा यौनिमार्गको पिसाबथैली, मलद्वार वा मलाशयलाई जोड्ने कुनै प्वाल हुँदैन । तर, कुनै कारणले योनिमार्ग, पिसाबथैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाल बन्यो भने त्यसलाई फिस्टुला भनिन्छ । यो प्रायः असुरक्षित प्रसूतिका कारण हुने गर्छ ।

प्रसूतिको समयमा फिस्टुला भएपछि २४सै घण्टा दिसा–पिसाब चुहिने समस्या हुने गर्छ । तसर्थ, हरेक महिलाले प्रसूति गराउनका लागि स्वास्थ्यसंस्थामा जानुपर्ने हुन्छ । केही गरी लामो समयसम्म प्रसूति व्यथा लाग्यो र घरमै डेलिभरी गराइयो भने फिस्टुला हुने बढी सम्भावना हुन्छ । सानो उमेरमा विवाह गर्नाले, कलिलै उमेरमा बच्चा जन्माउनाले पनि फिस्टुलाको समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा आमाको शरीर परिपक्व भएको हुँदैन । बच्चा जन्माउने यौनिमार्गको बाटो नै विकसित नभएको अवस्थामा बच्चा जन्माउँदा किशोरीमा फिस्टुलाको समस्याले सताउने गर्छ ।

नेपालमा फिस्टुलाका बिरामी यति नै छन् भन्ने तथांक उपलब्ध छैन । तर, विभिन्न अध्ययन, अनुसन्धानका प्रतिवेदनअनुसार प्रतिवर्ष ४–५ सय फिस्टुलाका बिरामी थपिने गएका छन् । ५ हजारभन्दा बढी महिला फिस्टुलाको उपचार नगराई रोग पालेर बसिरहेको आकलन गरिएको छ ।

किन हुन्छ फिस्टुला ?
स्वास्थ्यमा पहुँच नपुगेका महिलामा फिस्टुलाको समस्या बढी पाइएको छ । सीमान्तकृत वर्ग, दुर्गम ठाँउमा बसोवास गर्ने महिला, अस्पतालसम्म पुर्याइदिने आफन्त नभएका महिला तथा उपचारखर्च अभावमा लामो समयसम्म प्रसूति व्यस्था लागे पनि घरमै डेलिभरी हुने अवस्थाका महिलामा फिस्टुलाको सम्भावना बढी हुन्छ । त्यसैगरी, कम उमेरमा बच्चा जन्माउँदा योनिमार्ग विकसित भइनसकेको हुने भएकाले योनिमार्गमा बढी दबाब पर्दा घाउ हुने वा प्वाल गर्ने समस्या निम्तिन्छ । कुनै महिलामा पोषणको कमीका कारण पनि फिस्टुला हुने गर्छ ।

केहिलेकाहीँ क्यान्सरका कारण पनि फिस्टुला हुने गर्छ । क्यान्सरको उपचारका क्रममा लामो समय रेडियोथेरापी दिँदा पनि फिस्टुला हुने सम्भावना रहन्छ । यौनसम्पर्क राख्दा वा अन्य कारणले योनिमा चोटपटक लाग्नु, योनिमा संक्रमण हुनु, सामान प्रयोग गरी वा अप्रेसन गरी प्रसूति गराउँदा भूलवश प्वाल पर्नुजस्ता कारणले पनि फिस्टुला हुने गर्छ ।

कम उमेरमा बच्चा जन्माउँदा योनिमार्ग विकसित भइनसकेको हुने भएकाले योनिमार्गमा बढी दबाब पर्दा घाउ हुने वा प्वाल गर्ने समस्या निम्तिन्छ । कुनै महिलामा पोषणको कमीका कारण पनि फिस्टुला हुने गर्छ ।

फिस्टुलाका असर
फिस्टुलाका कारण पिसाब चुहिरहने भएकाले पिसाब कम गर्न पानी नखानाले मिर्गौलासम्बन्धी समस्या बढ्दै जान्छ । पिसाब तारन्तार लागिरहने भएकाले नियमित काम गर्न कठिनाइ हुन्छ । पिसाब चुहिरहने डरले खुट्टा सधैँ खुम्च्याएर बस्दा खुट्टा खुम्चिँदै जान्छ । समाजमा अपहेलनाको पात्र बन्न पुगिन्छ । यसले महिलामा तनाव बढ्दै जान्छ ।

उपचार :अवस्था, विधि र सावधानी
फिस्टुलाको उपचार शल्यक्रियामार्फत नै गरिन्छ । तर, सबै अस्पतालमा यसको शल्यक्रियासेवा सर्वसुलभ रूपमा उपलब्ध छैन । तालिम लिएको स्वास्थ्यकर्मी तथा स्त्रीरोग विशेषज्ञले मात्र फिस्टुलाको उपचार गर्नुपर्ने भएकाले धेरै ठाउँमा सेवा पुग्न सकेको छैन । विदेशमा गएर फिस्टुलाको उपचारसम्बन्धी तालिम लिएर आएका चकित्सकले मात्र यसको उपचारमा नियमित सेवा दिन सक्छन् ।

नियमित रूपमा फिस्टुलाको उपचारसेवा काठमाडौं मोडेल अस्पताल, बिपी कोइराला हेल्थ इन्स्टिच्युट र अन्य एक–दुईवटा अस्पतालले मात्र प्रदान गर्दै आएका छन् । अस्पतालसँगै नेपालमा फिस्टुला विशेषज्ञ चिकित्सकको समेत अभाव छ ।

फिस्टुलाको उपचार गरिसकेपछि फेरि डेलिभरी भएमा घाउ कच्चा भएका कारण प्वाल पर्ने सम्भावना रहन्छ । त्यसकारण फिस्टुलाको अप्रेसन गराएकी महिला पुनः डेलिभरी हुँदा अप्रेसन गरेरै बच्चा निकाल्नुपर्छ । बच्चा पुगेको छ भने सकेसम्म बच्चा पाउनु नै हुँदैन । बच्चा पुगेको छैन भने योनिबाट पाउँदा फिस्टुला बल्झिने सम्भावना बढी हुने हुँदा सि–सेक्सन विधि नै अपनाउनुपर्ने हुन्छ ।

काठमाडौं मोडेल अस्पताल र बिपी कोइराला हेल्थ इन्स्टिच्युटमा फिस्टुलाको निःशुल्क शल्यक्रिया हुने गरेको छ । त्यति मात्र नभएर फिस्टुलाको बिरामी उपचार गर्न आउँदा बसभाडा र बिरामीका लागि खानाको समेत व्यवस्था अस्पतालले नै गर्ने गरेको छ । शल्यक्रिया गर्दा बिरामीले २ हप्ता अस्पताल बस्नुपर्ने हुन्छ । शल्यक्रिया गरेपछि २ हप्तासम्म पिसाबको पाइप राखेर उपचार गरिन्छ । दुई हप्तापछि पाइप निकालेपछि र दिसा–पिसाब नचुहिने भएपछि बिरामी घर जान सक्छन् ।

फिस्टुलाका बिरामीको उपचार खर्चका लागि विभिन्न संघ–सस्थाले सहयोग गर्दै आएका छन् । महिलाको ठूलो समस्या भएका कारण पनि विभिन्न संस्थाहरूको सहयोग जुटिरहेको छ । सीमान्तकृत तथा गरिब महिलामा धेरैजसो फिस्टुलाको समस्या पाइएको छ ।

कुनै बिरामीमा फिस्टुला भएको लामो समय भएको रहेछ भने शल्यक्रिया विफल पनि हुन सक्छ । यस्ता बिरामीको शल्यक्रिया दोहोर्याएर पनि गर्नुपर्ने हुन्छ । पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने सामान्यतया ३ महिनापछि मात्र गरिन्छ । सुत्केरी महिलामा पनि तुरुन्तै फिस्टुलाको अप्रेसन गरिँदैन । सुत्केरी भएको ३ महिनापछि मात्र शल्यक्रिया गरिन्छ । महिलाको योनिवरिपरि भएको घाउको खाटा बसेपछि मात्र अप्रेसन गर्ने गरिन्छ ।

प्रसूति फिस्टुलाबाहेक अहिलेको समयमा अरू फिस्टुलाको समस्या पनि बढिरहेको छ । जस्तो कि, कुनै महिलाको अप्रेसनमार्फत पाठेघर निकाल्ने, सिजरिङ गरेर बच्चा निकाल्नेक्रममा पनि पिसाबको थैली नजिकै हुने हुँदा चोट–पटक लाग्ने गर्छ ।

फिस्टुलाको उपचार गरिसकेपछि फेरि डेलिभरी भएमा घाउ कच्चा भएका कारण प्वाल पर्ने सम्भावना रहन्छ । त्यसकारण फिस्टुलाको अप्रेसन गराएकी महिला पुनः डेलिभरी हुँदा अप्रेसन गरेरै बच्चा निकाल्नुपर्छ । बच्चा पुगेको छ भने सकेसम्म बच्चा पाउनु नै हुँदैन । बच्चा पुगेको छैन भने योनिबाट पाउँदा फिस्टुला बल्झिने सम्भावना बढी हुने हुँदा सि–सेक्सन विधि नै अपनाउनुपर्ने हुन्छ । गर्भवती अवस्थामा कम्तीमा पनि चारपटक गर्भजाँच गराउनुपर्छ । गर्भवती अवस्थामा आवश्यक मात्रामा पोषणयुक्त खानेकुरा खानुपर्छ । त्यसैगरी, गर्भवती अवस्था र प्रसूतिको समयका लागि परिवारका सदस्यले आवश्यक सम्पूर्ण तयारी गर्नुपर्ने हुन्छ ।

रोकथाम
पहिलो कुरा त फिस्टुलारोगबारे भरपूर जानकारी हुनु आवश्यक छ । अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट मात्र प्रसूति गराउनुपर्छ । लामो प्रसूति व्यथा लाग्यो भने सिजेरिङ सम्भव हुने अस्पतालमा जानुपर्छ । सानै उमेर विवाह गर्न तथा बच्चा जन्माउनुहुँदैन । फिस्टुला भइसकेको अवस्थामा उपचारसेवा उपलब्ध भएको अस्पतालमा भई समयमै उपचार गाउनुपर्छ । गर्भवती अवस्थामा उचित पोषणयुक्त खानेकुरा खानुपर्छ । नियमित गर्भजाँचका साथै प्रसूति व्यथा सुरु हुनेबित्तकै डेलिभरीका लागि उचित स्वास्थ्यसंस्थामा जान ढिलो गर्नुहुँदैन ।

(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय