कसरी देख्छ आँखाले ? कस्तोमा चस्मा लगाउनुपर्छ ? नलगाए के हुन्छ ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत १९ गते १३:३६

एकदमै अँध्यारोमा हामी कुनै वस्तुलाई पनि देख्न सक्दैनौँ, किनकि कुनै चिज वा वस्तु देख्नका लागि प्रकाश चाहिन्छ । कुनै पनि वस्तुबाट परार्वतन भई आएका प्रकाशका किरणहरू हाम्रा आँखाका पारदर्शक भागका माध्यमले संकलित रूपमा केन्द्रीकृत (फोकस) भई हाम्रो आँखाको दृष्टि पर्दामा पुगी सो वस्तुको आकृति बन्दछ ।

दृष्टिपर्दामा भएका स्नायुहरूले यसरी आएका प्रकाशका किरणबाट बनेको आकृतिलाई दिमागसम्म पुर्याउने काम गर्दछन् र दिमागले त्यसलाई बुझेपछि हामीले उक्त वस्तुहरू देख्दछौँ ।

चस्मा लगाउनुपर्ने अवस्था कसरी र किन हुन्छ ?
सामान्य अवस्थामा यसरी वस्तुबाट परावर्तन भई आएका किरणहरू दृष्टिपर्दामा केन्द्रीकृत हुँदा प्रस्ट आकृति बनाउने गर्दछन्, तर यसरी आएका किरणहरू दृष्टिपर्दामा केन्द्रीकृत नभई दृष्टिपर्दाको अगाडि वा पछाडि केन्द्रीकृत भई धमिलो आकृति बनेमा आँखाले सो वस्तुलाई धमिलो देख्ने वा नचिनिने हुन्छ । यस्तो अवस्थालाई चस्मा लगाउनुपर्ने अवस्था अर्थात् दृष्टिदोष भनिन्छ ।
यसरी प्रकाशका किरणहरू दृष्टिपर्दामा केन्द्रीकृत नहुनुका मुख्यतया दुई कारण हुन्छन् ।
क) आँखाको आकार सामान्यभन्दा ठूलो वा सानो हुनु ।
ख) प्रकाशका किरणहरूलाई केन्द्रीकृत गर्न सक्ने आँखाको क्षमता बढी वा कम हुनु ।

अदूरदृष्टि
आँखाको गेडीको बनावट सामान्यभन्दा ठूलो भएमा वा प्रकाशका किरणहरूलाई केन्द्रीकृत गर्ने आँखाको पारदर्शक भागको क्षमता सामान्यभन्दा बढी भई प्रकाशका किरणहरू दृष्टिपर्दाभन्दा अगावै केन्द्रीकृत हुने अवस्थालाई अदूरदृष्टि भनिन्छ । यो अवस्थामा टाढाका चिजहरू प्रस्ट देखिने हुन्छ ।
आँखाको आकार सामान्यभन्दा ठूलो भएमा वा प्रकाशका किरणहरूलाई केन्द्रीकृत गर्ने आँखाको क्षमता सामान्यभन्दा बढी भएमा अदूरदृष्टि हुने गर्दछ ।

दूरदृष्टि
आँखाको बनावट सामान्यभन्दा सानो भएमा वा प्रकाशका किरणहरूलाई केन्द्रीकृत गर्ने क्षमतामा कमी भई प्रकाशका किरणहरू दृष्टिपर्दामा केन्द्रीकृत नभई सोभन्दा पछाडि केन्द्रीकृत हुने भई धमिलो आकृति बनी प्रस्ट नदेखिने हुन्छ । यसमा नजिकबाट आएका प्रकाशका किरणहरू टाढाबाट आएकोभन्दा पछाडि केन्द्रीकृत हुने हुनाले अझ धमिलो देखिने हुन्छ । त्यसकारण यसमा टाढा ठिकै देखिएता पनि नजिक प्रस्ट नदेखिने हुन्छ ।

चस्मा लाउनुपर्ने कारणबाट दृष्टिदोष भएको कसरी थाहा पाउने ?
माथि उल्लेखित कुनै पनि अवस्थामा दृष्टिक्षमतामा ह्रास आउने हुनाले दृष्टिक्षमतामा कमी भएको अवस्थामा करिब १ मिलिमिटर व्यास भएको सूक्ष्म प्वालबाट हेर्दा क्षमतामा सुधार भएमा चस्मा लगाउनुपर्ने कारणले दृष्टिदोष भएको थाहा हुन्छ । यदि कुनै टाढाका चिजहरू प्रस्ट देखिने, नजिकको सानो वस्तु वा मसिनो अक्षर नदेखिने वा लामो समयसम्म पढ्दा वा नजिकको मसिनो काम गर्दा आँखा थाकेजस्तो अनुभव हुने वा टाउको दुख्ने हुन्छ, जुन चस्मा लगाउनुपर्ने कारणले भएको हुन सक्छ ।

उपचार
यस अवस्थाको उपचार भनेको चस्मा लगाउनु नै हो । अदूरदृष्टि भएको अवस्थामा प्रकाशलाई केन्द्रीकृत गर्ने आँखाको क्षमतालाई न्यून गर्न अर्थात् माइनस पावरको चस्मा लगाउनुपर्ने हुन्छ भने दूरदृष्टि भएको अवस्थामा भने केन्द्रित गर्ने क्षमतालाई अझ सुदृढ बनाउन थप अर्थात् प्लस पावरको चस्मा लगाउनुपर्ने हुन्छ ।

चस्मा लगाउनुपर्ने व्यक्तिले चस्मा प्रयोग नगरेमा के हुन्छ ?
अदूरदृष्टि भएको विद्यार्थीले कक्षाकोठामा सेतो वा कालोपाटीमा लेखेको कुरा देख्न नसक्ने हुँदा पठन–पाठनमा कमजोर वा पछाडि पर्ने हुन्छन् । यसैगरी, अन्य व्यक्तिले टाढाको वस्तु देख्न नसक्ने भई उनीहरूको दैनिक कामकाजमा बाधा पुग्न जान्छ ।
दूरदृष्टि भएको अवस्थामा नजिक हेर्न गाह्रो हुने हुँदा चस्मा नलगाईकन धेरैबेरसम्म पढ्ने तथा नजिकको काम गर्ने गरेमा आँखालाई बढी परिश्रम पर्ने हुन्छ । यस्तो भएमा आँखा थाक्ने तथा टाउको दुख्ने, पढ्दा अक्षरहरू तथा हरफरहरू चल्ने हुन्छ । तसर्थ, यस्ता अवस्थामा चस्मा लगाएमा विद्यार्थीको पठन–पाठनमा र अन्य व्यक्तिको दैनिक कमकाजमा बाधा पर्न पाउँदैन ।

के चस्मा नलगाएमा चस्माको नम्बर बढ्छ ?
चस्मा नलगाएर चश्माको नम्बर बढ्दैन । साधारणतया केटाकेटीमा अदूरदृष्टि भएको खण्डमा २० वर्ष उमेरसम्म उनीहरूको चस्माको नम्बर बढ्दै जाने सम्भावना हुन्छ भने दूरदृष्टि भएको खण्डमा उक्त चस्माको नम्बर घट्दै जाने हुन्छ । चस्माको प्रयोगले धुलो, कसिंगर आदि आँखामा पर्नबाट समेत बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय