हावाहुरीको क्षति थपिँदै, घाइते हजार नाघे, २८ को ज्यान गुमेको पुष्टि, संक्रमणको खतरा

आइतबारको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा मानवीय क्षतिको क्रम बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म हावाहुरीका कारण २८ जनाको ज्यान गइसकेको छ ।

उद्धार र राहतको काम जारी रहँदा घटनामा घाइते हुनेको संख्या थपिँदै छ । हालसम्म १ हाजर ४४ जना घाइते पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष, १४ जना महिला र ५ बालबालिका छन् । उनका अनुसार कलैया अस्पतालमा १९ जना र नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये केहीको अस्पताल पुर्याउनुअघि घटनास्थलमै मृत्युभइसकेको र केहीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । १८ जना गम्भीर घाइतेको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान ११ जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा दिउँसो थप ७ जनालाई ल्याइएको छ । त्यसमध्ये ३ जनाको आकस्मिक अप्रेसन गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सघन उपचारका लागि काठमाडौं ल्याइएको हो ।

सरकारले आइतबारको हावाहुरीका कारण घाइते भएका सबै बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ । साथै, मृतक परिवारका लागि राहतस्वरूप ३–३ लाख रूपैयाँ उपलब्ध गराउने प्रदेश २ सरकारले निर्णय गरेको छ । हावाहुरीले क्षति पुर्याई आवासविहीन बनेका परिवारलाई घर बनाइदिनेसमेत सरकारले जनाएको छ ।

उद्धारको क्रम जारी रहेकाले भौतिक तथा मानवीय क्षतिको यकिन विवरण भने अहिले नै अनुमान गर्न सकिएको छैन । प्रलयकै रूप धारण गरी हावाहुरीले बस्ती क्षतविक्षत तुल्याएका कारण मानवीय क्षति अझै बढ्न सक्ने अनुमान लगाइएको छ । सडकमा गुडिरहेका सवारीसाधनसमेत उडाउने गरी आइतबार साँझ आएको हुरीले बारा र पर्सा जिल्लाका अधिकांश घर कच्ची घर ध्वस्त पारेको छ ।

 

संक्रमणको जोखिम, प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

एकातिर उपचाररत कतिपय घाइतेको अवस्था चिन्ताजनक छ भने अर्कोतर्फ घरबारविहीन स्थानीयमा खुला आकाशमा सामूहिक बसोवास गर्नुपर्दा रोग संक्रमणको खतरा बढ्ने जोखिमतर्फ पहिले नै सजग हुनुपर्ने देखिन्छ । यसै पनि गर्मी सुरु भएसँगै तराका जिल्लामा संक्रमणको उच्च जोखिम रहने गरेको छ । यद्यपि, घाइतेको उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट विशेषज्ञ चिकित्सकसहितको टोली घटनास्थल पुगिसकेको छ ।

यसैबीच खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स हावाहुरी प्रभावितक्षेत्रमा पठाएको छ । दूषित पानीलगायत कारणबाट हुने संक्रमणको जोखिम न्यूनीकरणका लागि पानी शुद्धीकरणका सामग्रीहरुसहितको एम्बुलेन्स खानेपानी डिभिजन कार्यालय इटहरीबाट प्रभावित क्षेत्रमा पठाइएको हो । वाटर एम्बुलेन्समा जडित आधुनिक प्रविधिको सहयोगले पानीको गुणस्तर जाँच गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय