मौसमविद्लाई हुन्छ कि हुँदैन हावाहुरीको पूर्वानुमान ? आइतबारको हुरी दुर्लभ, सोमबार पोखरा प्रभावित हुने

 

केही समयदेखि नेपालका मौसमविद्ले गरेको मौसमसम्बन्धी पूर्वानुमान धेरै हदसम्म मिलेको कुरा यत्रतत्र चर्चाको विषय बनेको छ । आइतबार पनि मौसम पूर्वानुमान महाशाखाले देशको मध्यभेगमा मेघगर्जनसहित वर्षा हुने कुराको भविष्यवाणी गरेको थियो । महाशाखाको पूर्वानुमानबमोजिम नै पानी पर्यो, तर पानीसँगै अप्रत्याशित रूपमा आएको हावाहुरीले ऐतिहासिक विनाश निम्त्यायो । यस्तोमा सबैको मनमा खुलदुली हुन सक्छ कि, वर्षा र तापक्रमबारे भविष्यवाणी गर्ने मौसमविज्ञानको अध्ययनक्षेत्रभित्र हावाहुरी पर्छ कि पर्दैन ? के हावाहुरी पनि भूकम्पजस्तै पूर्वानुमान गर्न नसकिने प्राकृतिक प्रकोप हो त ? हामीले मौसमविद् विभूति पोख्रेलसित यही विषयमा जान्ने प्रयास गरेका छौँ ।

‘हावाहुरीको पूर्वानुमान गर्न सकिन्छ, तर हामीकहाँ उपकरण र जनशक्ति छैन’
मौसमविद् पोख्रेलका अनुसार समग्र मौसमको अवस्थाबारे मौसमविद्ले भविष्यवाणी गर्न सक्ने भए पनि कुनै स्थानविशेषको मौसमी अवस्थाबारे गहिराइमा अन्ययन गर्ने प्रचलन नेपालमा छैन । ‘हामीले देशको मध्यभेगमा मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेका थियौँ,’ महाशाखाकी मौसमविद् पोख्रेलले भनिन्, ‘तर, बारा, पर्साक्षेत्रमा यस्तो हुन्छ भनेर लोकलाइज गरेर पत्ता लगाएका भने थिएनौँ ।’ उनका अनुसार मौसम विज्ञानले हावाहुरीको पूर्वानुमान गर्न सक्ने भए पनि नेपालमा त्यसका लागि आवश्यक उपकरण र दक्ष जनशक्तिको अभाव भएकाले अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन । ‘हामीसँग हावाहुरीको अध्ययन गर्ने कुनै उपकरण छैन र त्यससम्बन्धी दक्षजनशक्ति पनि उपलब्ध छैन,’ उनले भनिन् ।

विकसित देशहरूले हावाहुरीको पूर्वानुमान गरी आफ्ना नागरिकलाई पहिले नै सतर्क गराउने गरेका छन् । छिमेकी देश भारतले पनि विहारका जनतालाई हावाहुरी आउने पूर्वानुमानका आधारमा सतर्क गराएको थियो । नेपालमा पनि अत्याधुनिक प्रविधि उपलब्ध भएको खण्डमा हावाहुरीको पूर्वसूचना दिई त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने मौसमविद्को भनाइ छ ।

आइतबारको हावाहुरी दुर्लभ, के थियो कारक ?
मौसमविद् पोख्रेलका अनुसार आइतबार तराइक्षेत्रमा आएको हावाहुरी दुर्लभ हो । ‘यस्तोखालको ठूलो हावाहुरी आजसम्म आएको थाहा थिएन,’ उनले भनिन्, ‘यस्तो हावाहुरी आउनुमा विभिन्न कारण हुन्छन्, जसको हामी खोजी गरिरहेका छौँ ।’

आइतबार अकस्मात् भएको मौसम परिवर्तनको प्रमुख कारक पश्चिमी वायु थियो । ‘पश्चिमी वायु पोखरा हुँदै दक्षिणपूर्वतर्फ सरेको थियो,’ मौसमविद् पोख्रेल भन्छिन्, ‘पश्चिमी वायु, स्थानीय प्रभाव र ट्रस, यी तीनवटा कुराले गर्दा आइतबार बारा–पर्साक्षेत्रमा प्रभाव परेको देखिन्छ ।’ उनका अनुसार बाराको क्षतिलाई हेर्दा ४०–५० नटको हाराहारीमा हावाहुरी चलेको अनुमान गरिएको छ ।

मौसमको अध्ययनका लागि आवश्यक अत्याधुनिक उपकरण उपलब्ध भएको खण्डमा मौसम पूर्वानुमानलाई समग्रमा मात्र नभई स्थानीयीकरण गर्न सकिने र स्थानविशेषमा आउने हावाहुरीको पूर्वानुमान गर्न सकिने उनी पोख्रेल बताउँछिन् । ‘यदि हामीसित अत्याधुनिक उपकरण भएको भए लोकलाइज गरेर जान सकिन्थो र यो घटनालाई न्यूनीकरण गर्नमा सहयोग पुग्थ्यो,’ उनले भनिन् ।

सोमबार पोखरालगायत पश्चिमी क्षेत्रमा हावाहुरीको सम्भावना
पोख्रेलले सोमबार पोखरालगायत पश्चिमी क्षेत्रमा पनि हावाहुरीको संकेत देखिएकाले सर्तक रहन आग्रह गरिन् । ‘आज भने पश्चिम नेपालको पोखराआसपासको एरियामा र पहाडी भूभागमा हुरी चल्ने सम्भावना छ,’ उनले भनिन्, ‘तर, हिजोजस्तो ठूलो हावाहुरीको सम्भावना भने छैन ।’

सामान्यतया उच्चचापीय क्षेत्रबाट निम्नचापीय क्षेत्रमा हावा वहने गर्छ । वायुमण्डलमा हावाको चापमा जति भिन्नता आयो, त्यति नै तीव्र गतिमा हावा चल्छ । सामान्यतया हावाको गति ३० नट अर्थात् १५ मिटरप्रतिसेकेन्डभन्दा माथि गएपछि हावाले सशक्त हुरीको रूप लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय