बुटवलमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना

हेल्थपोस्ट नेपाल

प्रादेशिक स्तरमा स्वास्थ्यसेवाको आपूर्तिका लागि बुटवलमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बीच बिहीबार केन्द्रको उद्घाटन गरेका छन् ।

बुटवलमा साबिकको क्षेत्रीय मेडिकल स्टोर रहेको भवनमा उक्त केन्द्र खोलिएको हो । केन्द्रको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश सरकारले जनशक्ति र भौतिक अभावका बीच पनि काम गरेर देखाउनुपर्ने अवस्था रहेको बताए । ‘न्यूनतम स्रोतको अधिकतम उपयोग गर्नुपर्ने अवस्था छ,’ मन्त्री बरालले भने, ‘थोरै जनशक्ति, अपुग भौतिक पूर्वाधार र थोरै आर्थिक स्रोतका बीच काम नगरी सुखै छैन ।’

जनताको आकांक्षालाई सम्बोधन गर्न पनि स्रोत र साधनको पर्खाइमा बस्न नसकिने अवस्था रहेको उनले बताए । मन्त्री बरालले प्रदेश स्थापनासँगै आफूहरू मन्त्री बन्दाको अवस्था सम्झिए । ‘हामीले पनि स्रोत अभावका बीच काम सुरु गरेका हौँ,’ उनले भने, ‘मन्त्री चढ्ने गाडी स्टार्ट नहुने, लगाएपछि ढोका नखोलिने अवस्थाका थिए, तर हामीले अवस्थालाई बुझेर गुनासो नगरी काम गर्दै गयौँ ।’ कतिपय मन्त्रीको गाडीको ढोका बिग्रिएकाले नखोलिने हुँदा बाहिरबाट पिएसओ र ड्राइभरले तान्ने, भित्रबाट पिए र मन्त्रीले घचेट्नेसम्म भएको उनले सुनाए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा १७ जनाको दरबन्दी रहे पनि पाँचजना मात्र कर्मचारी आइपुगेको अवस्था छ । केही महिनाअघि प्रदेश स्वास्थ्य निर्देशनालय पनि यही भवनमा उद्घाटन भई सरेको छ भने केही दिनमा प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रयोगशालाका दुईवटा कार्यालयको पनि ठाउँ अभावका कारण यहीँ नै उद्घाटन गर्ने तयारी गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले भौतिक पूर्वाधार र मानवीय स्रोतको अभाव मात्र नभई बजेटको पनि त्यत्तिकै अभाव रहेको बताए । कार्यक्रमका लागि बजेट आएको भए पनि प्रशासनिक बजेट नआएको सचिव ज्ञवालीले बताए । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले प्रदेशअन्तर्गतका स्वास्थ्यसंस्था स्थापनाको क्रम बढ्दै जाँदा काम गर्ने बल मिलेको बताए । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंले नियम बुझेर र कामको तालिका बनाएर काम गर्न केन्द्रका कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका तर्फबाट सचिव कृष्ण ज्ञवालीले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त कार्यालय प्रमुख बुद्धिराज काफ्ले र प्रदेश तालिम केन्द्रका निमित्त कार्यालय प्रमुख भुवन कुँवरलाई अख्तियारी हस्तान्तरण गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *