नेपाल मेडिसिटीलाई एनएबिएच मान्यता, प्रधानमन्त्रीले गरे हस्तान्तरण

हेल्थपोस्ट नेपाल

ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) मान्यता पाएको छ । अस्पतालको जनशक्ति व्यवस्थापन, सेवा, प्रविधि, बिरामीमैत्री पूर्वाधार तथा मापदण्डलगायतलाई आधार मानेर संस्थाले यस्तो मान्यता दिन्छ । एनएबिएचले भारतीय उपमहाद्वीप र विश्वस्तरीय अस्पताल एवम् स्वास्थ्य सेवाप्रदायकको विभिन्न पद्धतिबाट स्वास्थ्यसंस्थाको अनुगमन गरी संस्थालाई मान्यता दिन्छ ।

बुधबार राजधानीको पाँचतारे होटेलमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री केपी ओलीले अस्पतालका अध्यक्ष उपेन्द्र महतोलाई मान्यताको प्रमाणपत्र हस्तान्तरण गरे । एनएबिएच इन्टरनेसनल सोसाइटी फर क्वालिटी इन हेल्थ केयर (इस्क्वा)को सदस्य एवम् एसियन सोसाइटी फर क्वालिटी हेल्थ केयरको कार्यकारी बोर्डमा छ ।

यो संस्थाले भारतका ५ सय ९२ अस्पताललाई मान्यता दिएको छ । भारतबाहिर फिलिपिन्सपछि नेपालमा पहिलोपटक यसरी अस्पताललाई मान्यता दिएको आयोजनको दाबी छ । मान्यता दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. हरीश नाडकर्मीसमेत उपस्थित कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित आधा दर्जनहाराहारीमा मन्त्रीहरू, प्रमुख दलका नेता, विभिन्न देशका राजदूत, विभिन्न मन्त्रालयका सचिव, प्रहरी प्रमुख, विभिन्न प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीलगायत हजारभन्दा बढी विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको अस्पतालले अन्तर्राष्ट्रिय रूपमा यस्तो मान्यता पाउनु निकै गर्वको विषय भएको बताए । ‘नेपालको एउटा अस्पतालले भए पनि अन्तर्राष्ट्रिय विश्वास र मान्यता पाएको छ,’ उनले भने, ‘मेडिसिटीले आफूलाई भरपर्न सकिने अस्पतालका रूपमा विकास गरेको छ ।’

प्रधानमन्त्री ओलीले रोगको निदान, साधन–स्रोतमा सम्पन्नताका आधारमा देशको एउटै मात्र भए पनि अस्पतालले यस्तो मान्यता पाएको भन्दै अस्पतालको प्रशंसा गरे । सरकारले थुप्रै साधन–स्रोत लगाए पनि एउटै पनि सरकारी अस्पतालले आफूलाई यो अवस्थामा नपुर्याएको भन्दै उनले सरकारी अस्पतालको आलोचनासमेत गरे । मेडिसिटीले यस्तो उपलब्धि हासिल गर्यो भनेर अरु अस्पतालले चित्त दुःखाउनुनपर्ने भन्दै उनले राम्रोका लागि प्रतिस्पर्धा गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष महतोले वर्तमान सरकार र प्रधानमन्त्रीले लिएको समृद्ध नेपाल निर्माणको सोचमा टेवा पुर्याउनकै लागि आफूले सेवामूलक क्षेत्रमा हात हालेको बताए । आफ्नी आमाले समयमा उपचार नपाएकै कारण अल्पायुमै ज्यान गुमाउनुपरेको प्रसंग उप्काउँदै महतोले त्यो अवस्था अन्त्यका लागि स्वास्थ्यक्षेत्र रोजेको बताए । उनले पछिल्लो समय उपचारका लागि नेपालबाट अर्बौं रकम बिदेसिरहेको जनाउँदै त्यसलाई रोग्न मेडिसिटीजस्तो सुविधासम्पन्न अस्पतालमा लगानी गरेको बताए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालमा सरकारी र निजीक्षेत्रमा पनि थुप्रै गौरवपूर्ण संस्था बनिरहेको र स्वास्थ्यक्षेत्र धेरै अगाडि बढिसकेको बताए । नेपालमा पनि ओपनहार्ट सर्जरी, मिर्गौला तथा कलेजो प्रत्यारोपणको क्षेत्रमा धेरै प्रगति भइरहेको भन्दै उनले गाउँ तहसम्म अस्पताल र वडा तहसम्म स्वास्थ्यसंस्था बनाउने योजनाअनुसार सरकार अगाडि बढिरहेको बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *