नेपाल नेत्रज्योति संघले मनायो ४१औँ वार्षिकोत्सव

हेल्थपोस्ट नेपाल

नेपाल नेत्रज्योति संघले स्थापनाको ४१औँ वार्षिकोत्सव मनाएको छ । संघले वार्षिकोत्सवको अवसर पारेर बुधबार आफ्ना महत्वपूर्ण उपलब्धि र भावी लक्ष्य तथा योजना प्रस्तुत गरेको छ ।
नेपाल नेत्रज्योति संघमातहत मुलुकभर १८ आँखा अस्पताल तथा ८४ आँखा उपचार केन्द्रहरू सञ्चालनमा छन् । यी स्वास्थ्यसंस्थाबाट १ वर्षमा ३० लाख ५० हजारभन्दा बढी नेत्ररोगीलाई बहिरंगसेवा र करिब ३ लाखभन्दा बढी स्वदेशी तथा विदेशी बिरामीले आँखाको शल्यक्रियासेवा दिएका छन् ।

संघले हाल मुलुकभर ४० जिल्लामा आफ्ना शाखा गठन गरी सेवाविस्तार गरेको छ ।

चालू आर्थिक वर्षमा नेपाल सरकार, विभिन्न स्वेदेशी तथा विदेशी दातृनिकायको सहयोगमा संघले मुलुकभरका दुर्गम जिल्लाहरूमा निःशुल्क आँखाशिविर सञ्चालन गरी आर्थिक अभावका कारण अस्पतालमा गएर उपचार गर्न नसक्ने ज्येष्ठनागरिक, महिला तथा विपन्न नागरिकको मोतीविन्दुको शल्यक्रिया गरेको संघका कार्यकारी निर्देशक शैलेश मिश्रले बताए । उनका अनुसार संघले आँखासेवाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सिटिइभिटीको सम्बन्धनमा नेत्रसहायक तथा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सहकार्यमा नेत्र विशेषज्ञ तथा दृष्टि विशेषज्ञका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संघले सन् २०१९ सम्ममा विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुरूप विद्यमान दृष्टिदोषको समस्यालाई २०१० को तुलनामा २५ प्रतिशतले कम गर्ने, सातवटै प्रदेशमा आँखा स्वास्थ्य सर्वेक्षण सम्पन्न गर्ने, संघअन्तर्गतका आँखा अस्पतालहरूमा क्रमशः नयाँ–नयाँ विशेषज्ञसेवाको विस्तार गर्ने, हरेक प्रदेशमा एक विशिष्टीकृत आँखा अस्पतालको विकास गर्ने, आँखा अस्पताल तथा उपचार केन्द्रहरूलाई अपांगतामैत्री बनाउनेलगायत लक्ष्य तथा कार्यक्रम सार्वजनिक गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *