बाँकेमा १ वर्षमा थपिए ८ सयभन्दा बढी क्षयरोगी

हेल्थपोस्ट नेपाल

हरेक वर्ष २४ मार्चका दिन मदाइँदै आएको विश्व क्षयरोग दिवस यस वर्ष पनि शनिबार मुलुकका विभिन्न जिल्लामा जस्तै बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । मुलुकभर तामझामका साथ क्षयरोग दिवस मनाइँदै गर्दा बाँकेमा भने निकै चिन्तित बनाउने गरी क्षयरोगीको तथ्यांक सार्वजनिक गरिएकोे छ ।

जिल्लामा क्षयरोग नियन्त्रणका लागि सरकारीसहित दर्जनभन्दा बढी गैरसरकारी निकायले निरन्तर काम गरिरहेको दाबी गरिरहेकै वेला क्षयरोगको पछिल्लो अवस्था भने झन् डरलाग्दो पाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा अहिले ९ सय ४३ जना क्षयरोगी उपचारको दायरामा छन् । अस्पतालको निगरानीमा नियमित औषधिसेवन गरिरहेका ती बिरामीमध्ये नयाँ खकार पोजिटिभ ४ सय ५१, खकार नेगेटिभ पुरुष ३ सय ४८ र अन्य १ सय ४४ जना छन् । तीमध्ये बालबालिका मात्र ४३ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘आर्थिक वर्ष ०७४/७५ मा बाँकेमा मात्र ८ सयभन्दा बढी नयाँ क्षयरोगी पत्ता लागेका छन्,’ जनस्वास्थ्य कार्यालयका क्षयकुष्ट अधिकृत प्रेम केसी भन्छन्, ‘बाँकेमा निको हुने दर ८९ प्रतिशत र उपचार सुरु भएको दुई महिनामा खकार नेगेटिभ हुने दर ८२ प्रतिशत रहेको छ ।’

तथ्यांकअनुसार बाँके जिल्ला क्षयरोगको जोखिममा देखिन्छ । उपचार बीचैमा छाड्ने, नियमित औषधिसेवन नगर्नेजस्ता कारणले पनि क्षयरोग नियन्त्रणमा आउन नसकेको क्षयकुष्ठ अधिकृत केसी बताउँछन् । हाल नेपालमा कुल जनसंख्याको ४५ प्रतिशतमा कुनै न कुनै प्रकारको क्षयरोगको किटाणु रहेको अनुमान छ । सरकारले क्षयरोग बढ्दै गएपछि नियन्त्रणका लागि प्रयासहरू गर्दै आएको छ । सन् २०५० सम्ममा प्रति १० लाख जनसंख्यामा १ जनामा मात्र क्षयरोगको संक्रमण भेटिने लक्ष्य सरकारले निर्धारण गरेको छ ।

सन् २०१६ मा गरिएको सेन्टिनल सर्वेको तथ्यांकले नेपालमा ८ दशमलव ५ प्रतिशत क्षयरोग तथा एचआइभी सहसंक्रमणका बिरामी रहेको देखाएको थियो । नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशतभन्दा बढीमा फोक्सोको क्षयरोग हुने गरेको छ भने बाँकी एकचौथाइ अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क, हड्डीलगायतमा हुने गरेको छ ।

‘क्षयरोगको संक्रमण हुँदैमा आत्तिनुपर्ने अवस्था भने होइन,’ क्षयकुष्ठ अधिकृत केसी भन्छन्, ‘नियमित औषधि सेवन गरेमा रोग पूर्ण रूपमा निको हुन्छ ।’ तर, औषधि सेवनमा लापरबाहीका कारण कतिपयमा रोग बल्झिँदै गएको उनी बताउँछन् । ‘क्षयरोग निको हुन्छ, तर नियमित औषधिसेवन गर्नुपर्छ,’ केसी थप्छन्, ‘पहिलो चरणमा लापरबाही गरेमा रोग जटिल हुँदै जान्छ र औषधिले काम गर्न छाड्न सक्छ ।’

बाँकेमा टिबी नेपालले सञ्चालन गरेको नेपालगन्ज क्षयरोग रेफरल केन्द्रमा बिरामीको चेकजाँच, उपचार र जटिल प्रकृतिका क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने व्यवस्था छ ।

एचआइभी संक्रमितलाई पनि क्षयरोग लाग्ने सम्भावना बढी हुने गरेको छ । त्यसैले क्षयरोगीमा एचआइभी र एचआइभी संक्रमितमा क्षयरोग परीक्षण गरिन्छ । बाँकेमा आ.व. ०७३/७४ मा २२ जना एचआइभी संक्रमितमा क्षयरोग पनि फेलापरेको थियो ।
सन् २०१६ मा गरिएको सेन्टिनल सर्वेको तथ्यांकले नेपालमा ८ दशमलव ५ प्रतिशत क्षयरोग तथा एचआइभी सहसंक्रमणका बिरामी रहेको देखाएको थियो । नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशतभन्दा बढीमा फोक्सोको क्षयरोग हुने गरेको छ भने बाँकी एकचौथाइ अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क, हड्डीलगायतमा हुने गरेको छ ।

नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दै आएको छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगका कारण हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ । गाउँघरमा क्षयरोगविरुद्ध जनचेतनाको अभावसँगसँगै उपचार गर्न स्वास्थ्यसंस्थामा नआउने समस्या कायमै छ । प्रतिवर्ष क्षयरोग दिवससम्बन्धी कार्यक्रमले क्षयरोगविरुद्ध देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य राखिँदै आएको छ ।

‘३ हप्ता वा बढी समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, धेरै पसिना आउने तथा थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यसंस्थामा गएर जचाउनुपर्छ,’ क्षयकुष्ठ अधिकृत केसी भन्छन्, ‘क्षयरोग सर्न पनि सक्छ र शारीरिक अवस्था कमजोर भई रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरूमा संक्रमणले सहजै डेरा जमाउन सक्छ ।’

सरकारले सन् २०१६ देखि २०२१ सम्ममा नयाँ बिरामी पत्ता लगाउने र उपचार गर्ने रणनीति बनाएको छ । नेपालबाट सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने सरकारी तयारी छ । अझै करिब २२ प्रतिशत बिरामी निःशुल्क उपचारको पहुँचमा पुगेका छैनन् ।

आर्थिक वर्ष ०७४/७५ को तथ्यांकअनुसार बाँके जिल्लामा बहुऔषधि प्रतिरोध बिरामी ७० जना भेटिएका छन् । क्षयरोग नियन्त्रण गर्न जिल्लामा ६० वटा डट्स सेन्टर, १५ वटा प्रयोगशाला र दुई स्थानमा जिनस्पोर्ट सञ्चालनमा छन् भने नेपालगन्जमा टिबी नेपाल अस्पताल बाँकेले बहुऔषधि प्रतिरोध उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सरकारले क्षयरोगको उपचार पूर्ण रूपमा निःशुल्क गरेको गरेको छ ।

सरकारले सन् २०१६ देखि २०२१ सम्ममा नयाँ बिरामी पत्ता लगाउने र उपचार गर्ने रणनीति बनाएको छ । नेपालबाट सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने सरकारी तयारी छ । अझै करिब २२ प्रतिशत बिरामी निःशुल्क उपचारको पहुँचमा पुगेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा प्रतिवर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्छन् । करोडौँ लगानीमा निरन्तर सञ्चालनमा ल्याइएका उपचार र चेतनाविस्तारका कार्यक्रमका बाबजुद पनि एकै वर्षमा एउटा जिल्लामा झन्डै हजारको संख्यामा बिरामी थपिन्छन् भने यसले क्षयरोग निवारणको सरकारी लक्ष्यलाई पक्कै पनि चुनौती दिएको मान्नुपर्छ । पुरानो र नयाँ गरी करिब ६० हजार क्षयरोगीले निजीक्षेत्रबाट उपचारसेवा लिइरहेको अनुमान गरिएको छ । देशभर करिब १३ हजार नयाँ बिरामी सरकारको तथ्यांकमा छैनन् । जिल्ला स्वास्थ्य कार्यालय बाँँकेका स्वास्थ्य अधिकृत रामबहादुर चन्द सम्पर्कमा नआएका बिरामीलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको मान्छन् ।

नियमित औषधिसेवन गर्दा क्षयरोग निको हुन्छ । नेपालमा उपचारको दायरामा आएका नयाँ क्षयरोगीको निको हुने दर ९१ प्रतिशत छ भने र पुरानोको हकमा यो दर ८९ प्रतिशत छ । क्षयरोग नियन्त्रणका लागि मुलुकभर ४ हजार ३ सय २३ डट्स उपचार केन्द्र, ६ सय ४ प्रयोगशाला, ५६ जिनस्पोर्ट केन्द्र र २ राष्ट्रिय परीक्षण प्रयोगशाला सञ्चालनमा छन् । बहुऔषधि प्रतिरोधी क्षयरोगका लागि २१ उपचार केन्द्र र ८१ उपकेन्द्र सञ्चालनमा छन् ।

विश्व क्षयरोग दिवसकै अवसरमा टिबी नेपाल बाँकेको अस्पतालमा उपचाररत क्षयरोगीलाई फलफूल वितरण गरिएको छ । नेपालगन्ज–४ मा रहेको टिबी नेपाल बाँकेको अस्पतालमा उपचाररत बिरामीलाई स्वास्थ्य कार्यालयले बेडमै पुगेर फलफूल वितरण गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दलगायतको सहभागिता थियो ।
यस वर्षको क्षयरोग दिवस ‘समय अबको, क्षयरोग अन्त्यको’ नाराका साथ मनाइएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *