६२ वर्ष पुरानो डेढ केजीको जटिल ट्युमरको नेपालगन्ज मेडिकल कलेजमा सफल शल्यक्रिया

हेल्थपोस्ट नेपाल

आर्थिक अभावका कारण ६२ वर्षदेखि गालामा ट्युमर झुन्ड्याएर बस्न बाध्य बाँकेका ७२ वर्षीय ज्येष्ठ नागरिकको झन्डै डेढ केजीको जटिलकिसिमको ट्युमरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । नरैनापुर गाउँपालिका–६ का ७२ वर्षीय वरीलाल अहिरको बायाँ गालामा रहेको ट्युमरको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

अहिरको बायाँ गालामा १० वर्षको उमेरदेखि पलाएको ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालका सहायकनिर्देशक डा. कुमार पोखरेलले जानकारी दिए । ७ चैतमा अस्पताल भर्ना भएका अहिरको ८ गते डेन्टल सर्जन डा. द्वारिकाप्रसाद बजगाईं, डा.अरुणकुमार महत, नाक–कान–घाँटी विशेषज्ञ डा. अंशु शर्मा, एनेस्थेसिओलोजिस्ट डा. नवीन रेग्मी, डा. कपिल पोखरेललगायत चिकित्सक तथा प्राविधिक टिमले सफल शल्यक्रिया गरेको प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिए ।

शल्यक्रियाका क्रममा स्नायुहरूमा क्षति पुग्ने जोखिम रहे पनि आफूहरूले २ घण्टा लगाएर विनाकुनै क्षति सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको र अहिले बिरामीको अवस्था खतरामुक्त रहेको डा. बजगाईंले बताउँछन् । यसखाले ट्युमर पलाएका बिरामी धेरै भए पनि यति ठूलो ट्युमर बिरलै भेटिने गरेको उनको भनाइ छ ।

सानै उमेरमा बुबा–आमा गुमाएका कारण अहिर अभिभावकत्वविहीन भएका थिए । अन्य आफन्तसमेत नहुँदा कलिलै उमेरमा असहाय बनेका अहिर आर्थिक अभावका कारण उपचारमा गर्न नसकी रोग बोकेर बस्न बाध्य थिए । यस्तोमा अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सबै खर्च आफैँले बेहोर्दै उनको उपचार गरिदिएको अस्पतालका निर्देशक डा. एम किदवाईले बताए । विपन्न तथा अति विपन्न नागरिकलाई स्थानीय सरकारले सिफारिस दिएको अवस्थामा अस्पतालले उनीहरूलाई निःशुल्क उपचारसेवा प्रदान गर्दै आएको डा. किदवाईले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *