क्षयरोग आतंककारीभन्दा खतरनाक : मन्त्री बराल

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले क्षयरोगको नियन्त्रण मुलुकका लागि चुनौतीपूर्ण बनेको बताएका छन् । क्षयरोगका बिरामीको संख्या र यसबाट मृत्यु हुने व्यक्तिको तथ्यांकलाई हेर्दा क्षयरोग चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । पछिल्लो समय नेपालमा रोगका कारण हुने मृत्युका अनेक कारकरोगमध्ये क्षयरोग सातौँ स्थानमा छ ।

विश्व क्षयरोग दिवसका अवसरमा प्रदेश ५ को स्वास्थ्य निर्देशनालय, बुटवलले रूपन्देहीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बरालले क्षयरोगको नियन्त्रणका लागि गम्भीर भएर लाग्नुपर्ने बताए । क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवारोग भएको उल्लेख गर्दै उनले भने, ‘एकजना क्षयरोग लागेको व्यक्ति १० जना आतंककारीभन्दा खतरनाक हुँदो रहेछ ।’ यद्यपि, विशेषज्ञ चिकित्सकहरू क्षयरोगभन्दा पनि उनीहरूप्रतिको समाजको हेयको दृष्टिलाई प्रमुख समस्याका रूपमा मान्छन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुगमन शाखाका प्रमुख अनिल थापा भने क्षयरोगलाई अझै पनि सर्ने रोगका रूपमा लिइने गरेका कारण केन्द्रका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउन समस्या आइपरेको बताउँछन् ।

मन्त्री बरालले यसको नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्नुपर्ने खाँचो औँल्याए । ‘निःशुल्क औषधि, गाउँगाउँमा उपचारको व्यवस्था, हजारौँ स्वास्थ्यकर्मी खटिँदा पनि प्रदेश ५ मा एक वर्षमा क्षयरोगबाट २ सय ३८ जनाको मृत्यु भएको छ, यो सामान्य होइन,’ उनले भने, ‘आमनागरिकको पोषण, स्वास्थ्यअवस्थामा सुधार हुँदै जाँदा मात्रै यसको न्यूनीकरण हुन्छ ।’

उनले भने, ‘एकजना क्षयरोग लागेको व्यक्ति १० जना आतंककारीभन्दा खतरनाक हुँदो रहेछ ।’ यद्यपि, विशेषज्ञ चिकित्सकहरू क्षयरोगभन्दा पनि उनीहरूप्रतिको समाजको हेयको दृष्टिलाई प्रमुख समस्याका रूपमा मान्छन् ।

कार्यक्रममा प्रदेश ५ मा क्षयरोगीहरूको अवस्थालाई तथ्यांकमा प्रस्तुत गरिएको थियो । स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंका अनुसार आर्थिक वर्ष ०७४/७५ मा प्रदेशमा ४७ हजार ५ सय ८२ जनाको परीक्षण गरिएकोमा ७ हजार २९ जनामा क्षयरोग देखिएको छ ।

प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै १ हजार ४ सय ८६ जना क्षयरोगी फेला परेका छन् भने पूर्वी रुकुममा सबैभन्दा कम ५२ जना भेटिएका छन् । विगत एक वर्षमा अर्घाखाँचीमा २ सय ७०, गुल्मीमा ३ सय १६, कपिलवस्तुमा ७ सय ६७, पश्चिम नवलपरासीमा ४ सय ७८, पाल्पामा ३ सय ९७, बाँकेमा ८ सय ४४, बर्दियामा ६ सय ७०, दाङमा १ हजार १ सय ६४, प्युठानमा ३ सय ८७ र रोल्पामा ३ सय ५ जना नयाँ क्षयरोगी फेला परेका छन् ।

कार्यक्रमका वक्ताहरूले क्षयरोग नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता र जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताएका थिए । क्षयरोगको उपचारपद्धति बढी झन्झटिलो र जटिल हुँदा थुप्रै बिरामीले निजी क्लिनिकबाट औषधि सेवन गर्ने गरेका कारण रोगीको वास्तविक संख्या पत्ता लगाउन कठिन भएको उनीहरूको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय