छात्रवृत्तिका चिकित्सक पनि सुगमकेन्द्रित, ३८ प्राथमिक स्वास्थ्यकेन्द्रमा शून्य, काठमाडौंको एउटै अस्पतालमा १३ जना

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका अधिकांश चिकित्सकले सहर तथा सुगमकेन्द्रित सेवा दिएरहेको पाइएको छ । मुलुकका दुर्गम क्षेत्रमा चिकित्सक अभावमा स्वास्थ्यसेवा नराम्ररी प्रभावित भइरहँदा सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकलाई भने सहरकेन्द्रित नियुक्ति दिने गरेको पाइएको हो ।

छात्रवृत्तिमा पढेका चिकित्सकले सरकारले खटाएको जुनसुकै क्षेत्रमा कम्तीमा दुई वर्ष सेवा गर्नुपर्ने प्रावधान छ । छात्रवृत्तिमा पढ्न सुरु गर्दै उनीहरूलाई तोकिएको क्षेत्रमा तोकिएको अवधि काम गर्नुपर्ने कबुलनामा गराइएको हुन्छ । तसर्थ, देशका दुर्गम क्षेत्र, जहाँ चिकित्सक अभावमा स्वास्थ्यसंस्था भएर पनि नागरिक संविधानप्रदत्त स्वास्थ्यसेवाबाट वञ्चित छन्, त्यस्ता क्षेत्रमा सरकारको लगानीमा पढेका चिकित्सकहरूलाई पठाउने छात्रवृत्तिको मूल उद्देश्य र विगतको प्रचलन पनि हो । तर, पहुँच र प्रलोभनका आधारमा सरकारको पैसा र पूर्व सर्तमा अध्ययन गरेका चिकित्सकहरूलाई पर्याप्त विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध सुगम क्षेत्रमा नियुक्ति दिइएपछि दुर्गमका स्वास्थ्यसंस्थाका सेवा प्रभावहीन हुने गरेका छन् । पछिल्लो तथ्यांकले छात्रवृत्तिमा अध्ययन गर्ने धेरै चिकित्सकको सुरु नियुक्ति नै सहरका ठूला अस्पतालमा भएको देखाउँछन् ।

देशको र स्वास्थ्यसेवाको पनि केन्द्रका रूपमा रहेको काठमाडौं उपत्यकामा सबैभन्दा बढी छात्रवृत्तिका एमबिबिएस चिकित्सक खटाइएका छन्, जहाँ पहिले नै विशेषज्ञ चिकित्सक फलाफाल छन् । आयुर्वेद विभागमा मात्र १४ जना छात्रवृत्तिका चिकित्सक खटाइएका छन्, तर कतिपय जिल्लाका आयुर्वेद अस्पतालले चिकित्सक देख्न मुस्किल छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताललगायत राजधानीका ठूला अस्पतालहरूमा दर्जनको हाराहारीमा छात्रवृत्तिका चिकित्सक थुपारिँदा मोफसलका कतिपय स्वास्थ्यसंस्था भने चिकित्सकको बाटो हेरेको हेर्यै हुने अवस्था छ ।
प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा ४ सयको संख्यामा चिकित्सक उत्पादन हुने गरेका छन्, तर धेरैजसो सुगम क्षेत्रमै खटाइने गरेको तथ्यांकले देखाएका छन् ।

स्वास्थ्यसेवा विभागको तथ्यांकअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा १३ जना छात्रवृत्तिका चिकित्सक खटाइएका छन् । यस्तै अवस्था काठमाडौंका र सुगम भूभागका अन्य अस्पताल तथा प्राथमिक स्वास्थ्यकेन्द्रको पनि छ । टेकुस्थित आयुर्वेद विभागअन्तर्गत छात्रवृत्तिका १४ जना भर्खर एमबिबिएस पास गरेका चिकित्सक खटाइएका छन्, जहाँ बिरामीको चेकजाँच नै हुँदैन ।

राजधानीको एउटै अस्पतालमा १३, आयुर्वेद विभागमा १४ छात्रवृत्ति चिकित्सक
स्वास्थ्यसेवा विभागको तथ्यांकअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा १३ जना छात्रवृत्तिका चिकित्सक खटाइएका छन् । यस्तै अवस्था काठमाडौंका र सुगम भूभागका अन्य अस्पताल तथा प्राथमिक स्वास्थ्यकेन्द्रको पनि छ ।
टेकुस्थित आयुर्वेद विभागअन्तर्गत छात्रवृत्तिका १४ जना भर्खर एमबिबिएस पास गरेका चिकित्सक खटाइएका छन्, जहाँ बिरामीको चेकजाँच नै हुँदैन । सेवाको सुरुवातमै चिकित्सकलाई प्रशासनिक काममा खटाइँदा स्वयम् चिकित्सक पनि आफूले अध्ययनका क्रममा आर्जन गरेको ज्ञानलाई प्रयोगमा उतार्नबाट वञ्चित भइरहेका छन्, जसले भविष्यमा चिकित्सा अभ्यास गर्नुपर्दाका बखत ग्यापका कारण समस्या आउने जोखिम छ ।

कान्ति बाल अस्पतालमा ७, केन्द्रीय कारागार अस्पतालमा ३ जना छात्रवृत्तिका चिकित्सक ससर्त सेवाका लागि खटाइएका छन् । त्यसैगरी, भक्तपुर जिल्ला अस्पतालमा ५, चाँगुनारायण प्राथमिक स्वास्थ्यकेन्द्रमा ३, दधिकोट प्राथमिक स्वास्थ्यकेन्द्रमा ४ छात्रवृत्तिका चिकित्सक खटाइएको पाइएको छ, जब कि एउटा प्राथमिक स्वास्थ्यकेन्द्रमा अधिकतम २ जना चिकित्सक खटाउने कानुनी प्रावधान छ । ललितपुर जिल्लाको बाँडेगाउँ प्राथमिक स्वास्थ्यकेन्द्रमा ३ र लुभु प्राथमिक स्वास्थ्यकेन्द्रमा ४ जना खटाइएका छन् । त्यस्तै, काठमाडौंनजिकका धादिङ जिल्ला अस्पतालमा ५, त्रिशूली अस्पताल, नुवाकोटमा ५, धादिङको गजुरी प्राथमिक स्वास्थ्यकेन्द्रमा ४ जना पठाइएका छन् । पाटन जिल्ला अस्पतालमा ३ जना छात्रवृत्तिका चिकित्सक कार्यरत छन् ।

यी ३८ प्राथमिक स्वास्थ्यकेन्द्र छात्रवृत्ति चिकित्सकविहीन

हाल मुलुकभर २ सय २ वटा प्राथमिक स्वास्थ्यकेन्द्र सञ्चालनमा छन् । त्यसमध्ये ३८ वटा प्राथमिक स्वास्थ्यकेन्द्रमा एकजना पनि छात्रवृत्तिका चिकित्सक कार्यरत नभएको स्वास्थ्यसेवा विभागको तथ्यांक छ ।

प्रदेश १
प्रदेश १ का ४२ वटा प्राथमिक स्वास्थ्यकेन्द्रमध्ये १० वटामा छात्रवृत्तिका चिकित्सक छैनन् । चिसापानी, खोताङ, प्याउली, मूलपानी, घोरेटार, जितपुर, झुर्किया, ताम्कु, बनियानी, तेल्लोक प्राथमिक स्वास्थ्यकेन्द्र छात्रवृत्ति चिकित्सकविहीन छन् ।

प्रदेश २
प्रदेश २ का ३५ प्राथमिक स्वास्थ्यकेन्द्रमध्ये ९ वटामा छात्रवृत्तिका चिकित्सक खटाइएका छैनन्, जसमा बनगमाटी, नवराजपुर, औहरी, पतौरा, गंगा–पिपरा, रामगोपालपुर, पिपरा, जमुनिया र अचलगढ प्राथमिक स्वास्थ्यकेन्द्र छन् ।

प्रदेश ३
प्रदेश ३ मा सबैभन्दा बढी ४० प्राथमिक स्वास्थ्यकेन्द्र सञ्चालनमा छन् । त्यसमध्ये ३ वटामा मात्र छात्रवृत्तिका चिकित्सक छैनन् । अर्थात्, मुलुकको केन्द्रका रूपमा रहेका कारण सबैभन्दा बढी प्राथमिक स्वास्थ्यकेन्द्र रहेको प्रदेश ३ मा भने गण्डकीबाहेक अन्य प्रदेशको तुलनामा छात्रवृत्तिका चिकित्सक बढी खटाइएका छन् । यहाँका रामकोट, भीमफेदी र सुरी प्राथमिक स्वास्थ्यकेन्द्रमा छात्रवृत्तिका चिकित्सक खटाइएका छैनन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशका २६ प्राथमिक स्वास्थ्यकेन्द्रमध्ये ठूलोपोखरी प्राथमिक स्वास्थ्यकेन्द्रमा छात्रवृत्तिका चिकित्सक छैनन् । यो प्रदेश पनि तुलनात्मक रूपमा सुगम मानिन्छ ।

देशभरका प्राथमिक स्वास्थ्यकेन्द्रमा कुल ७ सय १६ छात्रवृत्तिका चिकित्सक कार्यरत छन् । प्रदेश ३ का प्राथमिक स्वास्थ्यकेन्द्रमा मात्रै २ सय ८३ जना छात्रवृत्तिमा चिकित्सक कार्यरत छन् भने दुर्गम क्षेत्रका रूपमा चिनिने सुदूरपश्चिम प्रदेशका प्राथमिक स्वास्थ्यकेन्द्रमा ३६ जना मात्र खटाइएका छन् ।

प्रदेश ५
प्रदेश ५ का २२ प्राथमिक स्वास्थ्यकेन्द्रमध्ये ३ वटा प्राथमिक स्वास्थ्यकेन्द्रमा छात्रवृत्तिका चिकित्सक खटाइएका छैनन् । यो पनि सुगममा मानिने प्रदेश हो । चिकित्सक नहुनेमा ताहुँ, खलंगा, कोटजहारी प्राथमिक स्वास्थ्यकेन्द्र छन् ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशका २० प्राथमिक स्वास्थ्यकेन्द्रमध्ये ७ वटा केन्द्रमा छात्रवृत्तिका चिकित्सक नभएको पाइएको छ । जसमा कालिका खेतु, मगरागडी, लकान्द्रा, नौमुने, गर्खाकोट, लिम्सा, लेखपोखरा प्राथमिक स्वास्थ्यकेन्द्र छन् ।

प्रदेश ७
प्रदेश ७ अन्तर्गतका १६ प्राथमिक स्वास्थ्यकेन्द्रमध्ये ६ वटामा छात्रवृत्तिका चिकित्सक खटाइएका छैनन्, जसमा केशरपुर, श्रीपुर, वेलडाँगी, रायल, देउलेख, केदार अखडा प्राथमिककेन्द्र छन् ।
देशका दुर्गम क्षेत्रमा समेत स्वास्थ्यसेवाको पहुँच पुर्याउने उद्देश्यपूर्तिको महत्वपूर्ण कडीका रूपमा लिइएको छात्रवृृत्तिले प्रतिफल दिने समयमा हुने राजनीतिकरणका कारण निष्प्रभावी बन्ने गरेको उल्लेखित तथ्यांकले पुष्टि गर्छन् ।

छात्रवृत्तिका चिकित्सक प्रदेश ३ मा २८३, सुदूरपश्चिममा ३६
स्वास्थ्यसेवा विभागको तथ्यांकअनुसार हाल देशभरका प्राथमिक स्वास्थ्यकेन्द्रमा कुल ७ सय १६ छात्रवृत्तिका चिकित्सक कार्यरत छन् । प्रदेश ३ का प्राथमिक स्वास्थ्यकेन्द्रमा मात्रै २ सय ८३ जना छात्रवृत्तिमा चिकित्सक कार्यरत छन् भने दुर्गम क्षेत्रका रूपमा चिनिने सुदूरपश्चिम प्रदेशका प्राथमिक स्वास्थ्यकेन्द्रमा ३६ जना मात्र खटाइएका छन् । यो तथ्यांकले छात्रवृत्तिका चिकित्सकको सुगमकेन्द्रित सेवालाई पुष्टि गर्छ ।
त्यसैगरी, प्रदेश १ मा १ सय ९, प्रदेश २ मा ८३, गण्डकी प्रदेशमा १ सय १९, प्रदेश ५ मा १ सय ६, कर्णाली प्रदेशमा ५५ जना छात्रवृत्तिका चिकित्सक कार्यरत छन् ।

आफ्नै विभागको तथ्यांकलाई महानिर्देशक लोहनी भन्छन्, ‘तथ्यांक गलत छ’
स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले छात्रवृत्तिका चिकित्सकलाई अधिकतर सुगमकेन्द्रित खटाइनुको कारणबारे सोधिएको प्रश्नमा तथ्यांक नै गतल भएको बताए, यद्यपि उक्त तथ्यांक डा. लोहनी नेतृत्वकै विभागले उपलब्ध गराएको हो । आफैँले सार्वजनिक गरेको तथ्यांकलाई संस्थाको प्रमुख जिम्मेवार व्यक्तिले गलत भएको आरोप लगाउँदै सवालबाट पन्छिनुले छात्रवृत्तिका चिकित्सकको पोस्टिङ अवैज्ञानिक, अव्यावहारिक तथा कानुन र छात्रवृत्तिको मर्मविपरीत हुने गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
स्वास्थ्यसेवा विभागले सबै प्राथमिक स्वास्थ्यकेन्द्रमा छात्रवृत्तिका चिकित्सक खटाइएको बताउँदै आएको छ । तर, विभागकै तथ्यांकले भने दुर्गम क्षेत्रका ३८ प्राथमिक स्वास्थ्यकेन्द्रमा एकजना पनि छात्रवृत्तिका चिकित्सक नभएको देखाइरहेको छ ।

One thought on “छात्रवृत्तिका चिकित्सक पनि सुगमकेन्द्रित, ३८ प्राथमिक स्वास्थ्यकेन्द्रमा शून्य, काठमाडौंको एउटै अस्पतालमा १३ जना

  1. patrakar mahodaya ekpatak pradesh 3 ko bhimphedi PHC ma aayera hernu hola tapaiko news kattiko sahi ho vanne thaha paunuhunecha. yesto hawa data dine ko raixa bibhag ma ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय