प्रधानमन्त्रीले गरे बुटवल मेडिकल कलेज कार्यालय उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेजको पूर्वाधार विकास आयोजना कार्यालय उद्घाटन गरेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ र ८ मा स्थापना हुने बुटवल मेडिकल कलेजको काम अगाडि बढाउन वडा नम्बर १ नयाँमिलमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको बताए । ‘यो ठूलो योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने । रूपन्देहीमा बन्न लागेको प्रदेशस्तरीय मेडिकल कलेज समयमै बन्ने विश्वास व्यक्त गर्दै उनले अब मुलुकले राम्रो अस्पताल, राम्रा डाक्टर, साधनस्रोतसम्पन्न अस्पताल, सक्षम, अनुभवी र दक्ष प्राध्यापकहरू चाहेको बताए ।

मन्तव्यका क्रममा मानव स्वास्थ्यको चर्चा गर्दै प्रधानमन्त्री ओलीले थकाइ मर्ने गरी आराम गर्न र भोक लाग्ने गरी काम र व्यायाम गरे लामो समय बाँचिने बताए । ‘मान्छे जति कम सुत्छ, उति छिटो मर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘थकाइ मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्नु जरुरी छ ।’ दूषित पानी, पोषणयुक्त खानाको अभाव र असन्तुलित खानाले कुपोषण बढेको उनले बताए । स्वस्थ रहन स्वस्थ आहार–विहार आवश्यक हुने हुँदा स्वस्थ आहार–विहारलाई दैनिक जीवनको अंग बनाउन उनले आग्रह गरे ।

नेकपाका महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका वेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको र सोही नीतिअनुसार काम अघि बढेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको व्यवस्थापन गरिसकेको बताए ।

‘मान्छे जति कम सुत्छ, उति छिटो मर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘थकाइ मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्नु जरुरी छ ।’ दूषित पानी, पोषणयुक्त खानाको अभाव र असन्तुलित खानाले कुपोषण बढेको उनले बताए । स्वस्थ रहन स्वस्थ आहार–विहार आवश्यक हुने हुँदा स्वस्थ आहार–विहारलाई दैनिक जीवनको अंग बनाउन उनले आग्रह गरे ।

हाल मासिक ३५ हजार रूपैयाँ भाडा तिर्ने गरी स्थापना भएको आयोजना कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखाअधिकृत, इन्जिनियर, लेखाअधिकृत, सवारीचालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव घिमिरेले बताए । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गाप्राप्तिलगायत काम गर्नेछ ।

घिमिरेका अनुसार संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिवास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रूपैयाँ विनियोजन गरेको छ । कम्तीमा ३ सय शय्याको अस्पताल बनाएर तीन वर्षसम्म सञ्चालन गरेपछि मात्र मेडिकल कलेजले एमबिबिएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ । योजनाअनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुनेछ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ ।

नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयबाट २७ असार ०७३ मा प्रा.डा. सरोज ओझाको संयोजकत्वमा ८ सदस्यीय मेडिकल कलेज प्रारम्भिक अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले दुई महिनाको अध्ययनपश्चात् मेडिकल कलेज स्थापनाका लागि सिफारिस गरेको थियो ।
कार्यालय उद्घाटनपछि प्रतिक्रिया दिँदै अध्ययन समितिका एक सदस्य इन्जिनियर दुर्जेन्द्र बस्नेतले अन्योलका बीच भएको कार्यालय उद्घाटनले काम अघि बढ्ने र समयमै सम्पन्न हुने कुरामा विश्वास लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय