गण्डकी मेडिकल कलेजका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

हेल्थपोस्ट नेपाल

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल कलेज सञ्चालकहरुलाई सरकारले तोकेको शुल्क लागू गर्न र अवरुद्ध पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् ।

विहीबार मन्त्रालयमा सञ्चालक र सरोकारवालाहरुको संयुक्त बैठक बोलाएर मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । मन्त्री उपस्थित बैठकले कलेजमा देखिएका समस्या हल गर्न चार बुँदे सहमतिसमेत जारी गरेको छ ।

सो क्रममा गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुको शैक्षिक कार्यक्रम प्रभावित नहुनेगरी परीक्षाका निम्ति आवश्यक विशेष व्यवस्था गर्ने र सरकारले तोकेभन्दा बढी शुल्क एक महिनाभित्र शुल्क फिर्ता गर्ने सहमति भएको छ । शुल्क फिर्ता भए नभएको अनुगमन समेत नियमनकारी निकायले गर्ने सहमति भएको छ ।

तीबाहेक विद्यार्थीहरुले त्रिवि उपकूलपति कार्यालय र आइओएममा लगाएको तालासमेत खोल्ने सहमति भएको छ ।  बैठकमा मन्त्री पोखरेलले सरकारले चिकित्सा शिक्षा आयोगलाई छिट्टै पूणता दिने समेत बताए । बैठकमा त्रिविका उपकुलपति तिर्थ खनियाँ, रजिष्टार डिल्ली उप्रेती, रेक्टर, सुधा त्रिपाठी र डिन स्कुल अफ मेडिकल साइन्सका डिन प्रा.डा. जगदिश अग्रवाल, निजि मेडिकल कलेज संचालकहरु नेशनल मेडिकल कलेजका डा. बसुरुद्धिन अन्सारी, चितवन मेडिकल कलेजका डा. हरिश न्यौपाने, किष्ट मेडिकल कलेजका बालमानसिंह कार्की, लगायत उपस्थित थिए । बैठकमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसमेत उपस्थित थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *