ठूला अस्पतालमै पर्याप्त छैनन् एनेस्थेसिओलोजिस्ट, आवश्यक संख्याको एकचौथाइ मात्र उपलब्ध

बेहोस बनाएर अप्रेसन गर्नुपर्ने जुनसुकै रोगका बिरामीका लागि एनेस्थेसिया चिकित्सकको आवश्यकता पर्दछ । नेपालमा हालसम्मको अप्रेसनका केसहरूलाई अध्ययन गर्दा करिब २ हजारको हाराहारीमा एनेस्थेसिया चिकित्सक आवश्यक देखिन्छ । तर, हाल देशमा आवश्यक संख्याको एकचौथाइ अर्थात् करिब ५ सयको हाराहारीमा मात्र एनेस्थेसिया चिकित्सक उपलब्ध रहेको तथ्यांक छ । त्यसमा पनि करिब आधा चिकित्सक राजधानी काठमाडौंका ठूला अस्पतालमा कार्यरत छन् । सरकारी दरबन्दीमा देशभरमा जम्मा ६८ एनेस्थेसिया चिकित्सक कार्यरत छन् ।

स्वाभाविक कामको चार गुना प्रेसर खप्नुपर्ने भएपछि सेवाको गुणस्तर कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसै पनि आवश्यक संख्याको २५ प्रतिशत मात्र चिकित्सक उपलब्ध छन् भने भएका चिकित्सक पनि सुगमकेन्द्रित छन् । उपलब्ध चिकित्सकको तुलनामा बिरामीको अस्वाभाविक चापका कारण एकातिर सेवाको गुणस्तर खस्किरहेको छ भने अर्कोतर्फ देशका कतिपय भागमा बिरामीहरू सम्बन्धित सेवाबाट वञ्चित हुनुपरेको अवस्था छ । देशका दुर्गम भेग एनेस्थेसिया चिकित्सकविहीन हुँदा दिनहुँ हजारौँ बिरामीसास्ती खेप्न बाध्य छन् ।

मुलुकका साना अस्पतालहरू एनेस्थेसिओलोजिस्टविहीन हुँदा ती अस्पतालहरूमा शल्यक्रियासेवा नै सञ्चालन हुन सकिरहेको छैन । कतिपय अस्पतालमा एनेस्थेसियाको तालिम नलिएका चिकित्सकले बेहोस बनाउनुपर्ने बाध्यता हुँदा बिरामीको शल्यक्रिया असुरिक्षत हुँदै आएको छ ।

अहिलेको ३ गुना थप आवश्यक, एक एनेस्थेसिओलोजिस्टले १० हजार बिरामी हेर्दै
देशका सबै अस्पतालमा एनेस्थेसिया चिकित्सक उपलब्ध नहुँदा सम्बन्धित विषयको अध्ययन र ट्रेडिङ नलिएका चिकित्सकले नै बेहोस बनाउने, औषधिको प्रयोग गर्ने हुँदा बिरामीको शल्यक्रियामा असुरक्षा निम्तिँदै आएको छ । देशमा हालको शल्यक्रिया आवश्यक पर्ने बिरामीको चापलाई हेर्दा कम्तीमा १ हजार ५ सय एनेस्थेसिया चिकित्सक थप गर्नुपर्ने अवस्था रहेको ‘सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट अफ नेपाल’का पुर्व महासचिव डा. दीप्तेश अर्याल बताउँछन् । उनका अनुसार नेपालमा हाल एक एनेस्थेसिओलोजिस्टले कम्तीका १० हजार बिरामी हेर्नुपर्ने अवस्था छ । ‘नेपालमा एक वर्षमा ५० जनाको हाराहरीमा एनेस्थेसिया डाक्टर उत्पादन हुने गरेको छ,’ डा. अर्याल भन्छन्, ‘देशको जनसंख्या र आवश्यकताका आधारमा यो संख्या ज्यादै न्यून हो ।’

मुलुकका साना अस्पतालहरू एनेस्थेसिओलोजिस्टविहीन हुँदा ती अस्पतालहरूमा शल्यक्रियासेवा नै सञ्चालन हुन सकिरहेको छैन । कतिपय अस्पतालमा एनेस्थेसियाको तालिम नलिएका चिकित्सकले बेहोस बनाउनुपर्ने बाध्यता हुँदा बिरामीको शल्यक्रिया असुरिक्षत हुँदै आएको छ । डा. अर्याल भन्छन्, ‘एनेस्थेसिओलोजिस्टको अभावमा स–साना अस्पतालमा सर्जरी गर्न नसकिएको अवस्था छ । त्यसका लागि सरकारले दरबन्दी सिर्जना गरेर खटाउनुपर्छ ।’

के हो एनेस्थेसिया ?
कुनै पनि बिरामीलाई शल्यक्रियाका लागि बेहोस बनाउने जिम्मा एनेस्थेसिया चिकित्सकको हुन्छ । बिरामीका सबै स्वास्थ्य अवस्थाको चेकजाँच गरी बेहोस बनाउन हुने वा नहुने, कुन औषधि वा प्रविधिको प्रयोग गरी कति समयका लागि बेहोस बनाउन मिल्ने, बेहोसपछि होसमा आउनमा कुनै समस्या भए–नभएबारे एनेस्थेसिया चिकित्सकले निर्णय गर्छन् । एनेस्थेसियाका डाक्टरहरूले बिरामीलाई उसको अवस्थाअनुसारको औषधि वा प्रविधिको प्रयोग गरेर अप्रेसनका लागि बेहोस बनाउने काम गर्छन् । तसर्थ, एनेस्थेसिया भनेको दुखाइ महसुसविना अप्रेसन गराउने विधि हो र यस कामको जिम्मेवारी पाएका चिकित्सक एनेस्थेसिओलोजिस्ट हुन् ।

रिजनल र जनरल एनेस्थेसिया
एनेस्थेसिया विभिन्न किसिमबाट गर्न सकिन्छ । शल्यक्रियाको प्रकृति र आवश्यकताअनुसार शरीरको कुनै भाग वा पूरै बेहोस बनाउनुपर्ने हुन्छ । ‘मानिसको साधारण औँलामा चोटपटक लागेको छ र त्यो भागमा टाँका लगाउनुपर्यो भने औँला मात्रै नदुख्ने बनाउन सकिन्छ,’ डा. अर्याल भन्छन्, ‘यसमा बिरामीलाई पूरै होस् रहिरहने तर औँलाको भागमा केही दुखाइको महसुस नहुने बनाउन सकिन्छ । यस विधिलाई रिजनल एनेस्थेसिया भनिन्छ ।’
उनका अनुसार टाउको, मुटु, फोक्सो, छातीलगायत शरीरका महत्वपूर्ण अंगहरूको अप्रेसन गर्नुपर्दा बिरामीलाई पूरै बोहोस बनाउनुपर्ने हुन्छ । बिरामीलाई अचेत बनाउनका लागि रगतमा औषधि दिइन्छ, नदुख्ने औषधिको पनि प्रयोग गरिन्छ । यसप्रकारको पूरै बेहोस बनाउने विधिलाई जनरल एनेस्थेसिया भनिन्छ ।

एनेस्थेसिओलोजिस्टको प्रमुख काम बिरामीलाई बेहोस बनाउनु नै हो । तर, बेहोस बनाउनुभन्दा अघि अप्रेसन गर्न बिरामी फिट भए–नभएको हेर्ने, शरीरका अन्य अंगहरूको अवस्थाबारे चेकजाँच गरी शल्यक्रियाका लागि बिरामीको अवस्था उपयुक्त भए मात्र बेहोस बनाउनुपर्ने भएकाले यो जिम्मेवारी पनि एनेस्थेसियाकै हुन्छ ।

के हुन् त एनेस्थेसिओलोजिस्टका काम ?
एनेस्थेसिओलोजिस्टको प्रमुख काम बिरामीलाई बेहोस बनाउनु नै हो । तर, बेहोस बनाउनुभन्दा अघि अप्रेसन गर्न बिरामी फिट भए–नभएको हेर्ने, शरीरका अन्य अंगहरूको अवस्थाबारे चेकजाँच गरी शल्यक्रियाका लागि बिरामीको अवस्था उपयुक्त भए मात्र बेहोस बनाउनुपर्ने भएकाले यो जिम्मेवारी पनि एनेस्थेसियाकै हुन्छ ।

बेहोस बनाइएको बिरामीले आफैँ श्वास–प्रश्वास गर्न सक्दैन । त्यतिवेला मुखबाट पाइप हालेर फोक्सोसम्म पुर्याई भेन्टिलेटर मेसिनको सहायताले बिरामीको होस नखुलुन्जेलसम्म श्वास–प्रश्वास गराउनुपर्ने हुन्छ । अप्रेसन सफल भएपछि औषधिको असर बिस्तारै हटेर जाने गर्छ । डा. अर्याल भन्छन्, ‘बिरामी होसमा आएपछि बिरामीले आफैँ श्वास फेर्न सक्ने भएकाले पाइप निकालेर साधारण समस्या हो भने वार्डमा राखिन्छ भने सिरियस बिरामी हो भने आइसियूमा राखिन्छ ।’

एनेस्थेसियाका डाक्टरले ओपिडीमा बिरामीको प्रत्यक्ष चेकजाँच गर्दैनन् । आइसियूमा सिकिस्त रहेका बिरामीलाई औषधोपचार गर्ने, भेन्टिलेटर राख्ने, डाइग्नोस्टिक गर्ने काम एनेस्थेसियाका डाक्टरले गर्ने गर्छन् ।

डा. अर्यालका अनुसार क्रोनिक पेन हुने, जस्तै, कुनै–कुनै मानिसलाई हात–खुट्टा झमझमाउने, टाउको दुख्ने, ढाड दुख्ने महिनौँसम्म दुखिरहने हुन्छ भने दुखाइ कम गर्ने विधि प्रयोग वा औषधि प्रयोग गरेर उपचार गर्नेमा जुन पेन स्पेसलिस्ट हुन्छन्, उनीहरूले पनि एनेस्थेसियाको टे«निङ लिनुपर्ने हुन्छ ।
बच्चा जन्माउनका अप्रेसन गर्नुपरेमा दुखाइ कम गर्न वा बेहोस बनाउने काम एनेस्थेसियाका डाक्टरले गर्ने गर्छन् । ‘सिटी स्यान, एमआरआई गराउँदा बिरामीहरू हल्लिँदा वा चल्दा एमआरआई गर्न सकिँदैन । बिरामी नचलून् भनेर बेहोस बनाएर सिटी स्यान, एमआरआई गर्ने काम पनि एनेस्थेसिया डाक्टरले गर्ने गर्छन्,’ डा. अर्याल भन्छन् ।

अप्रेसन सफल हुने–नहुने कुरामा एनेस्थेसिओलोजिस्टको ठूलो भूमिका हुने उनको भनाइ छ । ‘अप्र्रेसनका क्रममा बिरामी बाँच्ने–नबाँच्नेमा एनेस्थेसियाका डाक्टरको निकै ठूलो भूमिका हुन्छ,’ उनले भने ।

त्यसैगरी, बाँकी ५५ एनेस्थेसिओलोजिस्टमध्ये ४० जना प्रदेशमातहतका अस्पतालमा र १५ जना केन्द्र सरकारमातहतका अस्पतालमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसका साथै, पाँचौँ, छैटौँ र सातौँ तहका २३ जना एनेस्थेसिया सहायक जनशक्ति सरकारी दरबन्दीमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी दरबन्दीमा जम्मा ६८ एनेस्थेसिओलोजिस्ट
नेपाल सरकारको दरबन्दीमा कार्यरत एनेस्थेसिओलोजिस्ट चिकित्सकको संख्या ज्यादै न्यून छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालभर जम्मा ६८ जना एनेस्थेसिओलोजिस्ट सरकारी दरबन्दीमा छन् । त्यसमध्ये कन्सलट्यान्ट एनेस्थेसिओलोजिस्ट १३ जना छन् । कन्सल्ट्यान्टमध्ये ८ जना केन्द्र सरकारमातहतका अस्पतालमा कार्यरत छन् भने ५ जना प्रदेशमातहतका अस्पतालमा छन् ।
त्यसैगरी, बाँकी ५५ एनेस्थेसिओलोजिस्टमध्ये ४० जना प्रदेशमातहतका अस्पतालमा र १५ जना केन्द्र सरकारमातहतका अस्पतालमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसका साथै, पाँचौँ, छैटौँ र सातौँ तहका २३ जना एनेस्थेसिया सहायक जनशक्ति सरकारी दरबन्दीमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

वर्षिक ५० जना एनेस्थेसिओलोजिस्ट थपिन्छन्
एनेस्थेसिओलोजीको पढाइ त्रिवि शिक्षण अस्पताल, चिकित्साशात्र अध्ययन संस्थान (न्याम्स), बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा हुन्छ । एनेस्थेसिओलोजिस्टका लागि एमडीपछि ३ वर्षको ट्रेडिङ लिनुपर्ने हुन्छ ।
नेपालमा प्रतिवर्ष करिब २५ जनाको हाराहारीमा मात्र एनेस्थेसिओलोजिस्ट उत्पादन हुन्छन् भने झन्डै त्यति नै संख्यामा विदेशबाट पढेर आउँछन् ।
नेपालमा एनेस्थेसिओलोजी अध्ययनका लागि सिट कम भएका कारण अन्य मुलकमा पढ्न जाने लहर बढ्दो छ । यसका लागि विशेषगरी भारत, चीन, बंगालादेश, पाकिस्तान नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

नेपालमा एनेस्थेसिओलोजी अध्ययनका लागि सिट बढाउनुपर्छ : डा. प्रधान 
विकसित देशमा प्राथमिताका साथ एनेस्थेसिओलोजीको पढाइ हुने गरेकोमा नेपालमा पढ्नका लागि सिट पर्याप्त नभएकाे  एनेस्थेसिओलोजिस्ट समाजका अध्यक्ष डा. बिश्वास प्रधान बताउँछन् । उनका अनुसार शिक्षण अस्पताल महाराजगन्जमा वर्षमा जम्मा ५–६ जनाका लागि मात्र सिट उपलब्ध छ । अन्य केही अस्पताल र मेडिकल कलेजमा गरेर जम्मा २५ जनाले मात्र एनेस्थेसिओलोजी पढ्ने अवसर पाउँछन् । पढ्नका लागि सिटसंख्या कम भएकै कारण आकर्षण र राम्रो आम्दानी हुँदाहुँदै पनि यसको जनशक्ति अभाव भएकाले स्वदेशमा अध्ययनका लागि सिटसंख्या बढाउनुपर्ने उनको धारणा छ ।

अन्य चिकित्सकको भन्दा कमाइ बढी, पढाइखर्च सरकारी कोटामा निःशुल्क, निजीमा ३० लाख
एमबिबिस पास गरेका चिकित्सक एनेस्थेसिओलोजी अध्ययनका लागि योग्य हुन्छन् । सरकारी कोटामा एनेस्थेसिओलोजी पढ्दा कुनै खर्च लाग्दैन । तर, निजी कलेजमा पढ्नुपर्दा ३० लाखको हाराहारीमा लाग्ने गरेको छ ।
एनेस्थेसियोलोजीको पढाइ र काम दुवै चुनौतीपूर्ण रहेको कारण एनेस्थेसियओलोजिस्टले दाम पनि राम्रै कमाउने गरेका छन् । तर, यो विषय धेरै चुनौतीपूर्ण रहेकाले यसतर्फ सबैको आकर्षण भने हुन नसकेको डा. प्रधान बताउँछन् ।

गुणस्तर सही छ, तर औषधि अभाव र दुरूपयोगले समस्या
एनेस्थेसिया उपचार प्रविधिमा विकसित देशमा जस्तै सेवा–सुविधा भएको उपकरण नेपालमा उपलब्ध छन् । डा. अर्याल भन्छन्, ‘बिरामीलाई बेहोस बनाउनका लागि जुन उपकरणको प्रयोग गरिन्छ त्यो नेपालमा पनि उपलब्ध छन् । तर, औषधिमा भने बाह्य देशको भर पर्नुपर्ने हुँदा नेपालमा समय–समयमा औषधिको अभावले समस्या आउने गर्छ ।’ दुखाइ कम गर्न नाराकोटिन नामक औषधि प्रयोग गरिन्छ । तर, यो औषधि मानिसले दुव्र्यसनमा प्रयोग गर्नाले थप समस्या आउने गरेको डा. अर्यालकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय