स्वास्थ्यसचिवहरूले नै बहिष्कार गरे राष्ट्रिय परिवार योजना सम्मेलन, संकटमा परिवारनियोजन कार्यक्रम

परिवारनियोजनका क्षेत्रमा आधुनिक साधनको प्रयोगदर, कोरा प्रजननदरजस्ता महत्वपूर्ण सूचकहरू नकारात्मक बनिरहेको संकटपूर्ण अवस्थामा भावी कार्यदिशा तय गर्न आयोजित राष्ट्रिय परिवार योजना सम्मेलनमा सम्बन्धित मन्त्रालयका प्रशासनिक नेतृत्व हाँक्ने सचिवहरू नै उपस्थित भएनन् ।

स्वास्थ्यसेवा विभागको परिवारनियोजन कार्यक्रम हेर्ने परिवारकल्याण महाशाखाको समन्वयमा २० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा देशभरका करिब ४ सय प्रतिनिधिको सहभागितामा आयोजित सम्मेलनप्रति असन्तुष्टि जनाउँदै सचिवहरू उद्घाटनसत्रमा नआएको विषयले निकै चर्चा पाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. पुष्पा चौधरी र चन्द्रकुमार घिमिरेले सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको र सरकार नै प्रमुख आयोजक भएको कार्यक्रममा दुवै सचिव अनुपस्थित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भने मञ्चमा देखिन्थे ।

कार्यक्रम–तालिकाअनुसार मञ्चमा आसन–ग्रहणका लागि दुई सचिवमध्ये घिमिरेको मात्र नाम बोलाइएको थियो । उद्घाटन कार्यक्रममा चौधरीको नामै उच्चारण नहुनुले उनी नआउनेबारे आयोजकलाई पहिल्यै जानकारी भएको स्पष्ट हुन्छ ।

चौधरी कार्यक्रम छल्नकै लागि आइतबार साँझ आकस्मिक कार्यक्रम बनाएर विराटनगर उडेको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए । यद्यपि, स्वास्थ्यमन्त्री यादव र सचिव चन्द्र घिमिरे पनि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको अवस्था बुझ्न आइतबारै धरान गएका थिए । धरानबाट सँगै फर्केर मन्त्री कार्यक्रममा गए पनि सचिव घिमिरे भने कार्यक्रममा उपस्थित भएनन् ।

सोमबार दुवै सचिवका सचिवालयमा बुझ्दा कर्मचारीहरूले ‘सोमबार बिदामा बस्छु भनेको तर कहाँ गएको भन्ने जानकारी नभएको’ जानकारी दिए । मन्त्रालयमा दुवै सचिव नभए पनि लिखित रूपमा कसैलाई पनि निमित्त दिइएको छैन ।

कार्यक्रमका कुनै वक्ताले पनि सचिवहरू नआएको विषय कोट्याएनन् । परिवारकल्याण महाशाखाका प्रमुख डा. आरपी बिच्छाले मन्त्रीको आगमन निश्चित गर्न आइतबार धरान हुँदा फोन गरेको र मन्त्रीले जसरी पनि आउँछु भनेर वचन दिएको स्मरण गर्दै मन्त्रीलाई धन्यवाद दिए । मन्त्री पनि नेपाली भाषामा लिखित भाषण खरर पढेर एक शब्द पनि थप नबोली हिँडे ।

कार्यक्रमस्थमा दुवै सचिवको अनुपस्थितिको विषय अनौपचारिक रूपमा प्रमुख चर्चाको विषय बनेपछि हामी सचिवबारे बुझन् स्वास्थ्य मन्त्रालय गयौँ ।

सोमबार दुवै सचिवका सचिवालयमा बुझ्दा कर्मचारीहरूले ‘सोमबार बिदामा बस्छु भनेको तर कहाँ गएको भन्ने जानकारी नभएको’ जानकारी दिए । मन्त्रालयमा दुवै सचिव नभए पनि लिखित रूपमा कसैलाई पनि निमित्त दिइएको छैन । प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले दुवै सचिव बिदामा बसेकोबारे आफूलाई जानकारी नभएको र निमित्तसमेत नदिएको बताए । ‘बीचमा एकपकट डा. चौधरीले निमित्त दिनुभएको हो, अहिले त उहाँहरू नभएपछि स्वतः निमित्त हुन्छ भनेर हो कि !’ उनले भने ।

स्रोतका अनुसार महाशाखाको वार्षिक कार्यक्रममै नपरेको लाखौँ खर्च लाग्ने सम्मेलन गर्न महाशाखाले दातृनिकायलाई दबाब दिएको भन्दै सचिवहरूले असन्तुष्टि जनाएका थिए । दातृनिकाय हाबी भएर यति ठूलो कार्यक्रम गर्न लागेको भन्दै सचिव चौधरीले पछि फाइल अड्काइदिएकी थिइन् । उनी बिदामा हरेको अवस्थामा मन्त्रालयबाट फाइल सदर गरिएपछि उनी असन्तुष्ट थिइन् । सुरुमा डा. चौधरीलाई प्राथमिकता दिएको र उनी नआउने भएपछि बल्ल आफूलाई खोजेकोमा अर्का सचिव घिमिरेको असन्तुष्टि थियो । अहिले दुई सचिव हुँदाको प्रतिस्पर्धा, विवाद र असन्तुष्टि मन्त्रालयमा भुसको आगोझैँ फैलिएको र त्यसले कार्यक्रमै असर गर्न थालेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

परिवारनियोजनका सबै सूचक नकारात्मक

व्यवस्थित रूपमा परिवारनियोजन कार्यक्रम सुरु भएको ६ दशक बितिसक्दा पनि अधिकांश प्रमुख सूचकहरू वर्षौंदेखि स्थिर हुनुले परिवारनियोजन कार्यक्रम संकटपूर्ण अवस्थामा देखिएको छ ।

परिवारनियोजनका आधुनिक साधनको प्रयोगदर बढ्न नसक्नु (स्थित रहनु), परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्य रूपमा बढ्नु, अन्य सूचकको तुलनामा असन्तुलित रूपमा कुल प्रजननदर मात्र घट्नु र परिवारनियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्न नसक्नुले कार्यक्रममा संकट दर्साइरहेका छन् ।

सरकारी तथ्यांकअनुसार परिवारनियोजनका आधुनिक साधनको प्रयोगदर ४३ प्रतिशत, परम्परागत विधिको प्रयोग ९.८ प्रतिशत, कुल प्रजननदर २.३ प्रतिशत, अपरिपूर्त माग २३.७ छ । अधिकांश सूचक दशकभन्दा लामो समयदेखि स्थिर छन् । सरकारले परिवारनियोजनको क्षेत्रमा आधा अर्ब र गैरसरकारी क्षेत्रबाट झन्डै ५ अर्ब वार्षिक खर्च गरिरहँदा पनि अधिकांश सूचकमा सुधार नदेखिएपछि समस्या पहिचान र भावी रणनीति तय गर्न सम्मेलन गरिएको महाशाखाका प्रमुख डा. बिच्छाले बताए ।

‘स्वास्थ्यसंस्थामा सबैखालका साधन बाह्रै महिना उपलब्ध गराउन सके पनि सिपिआर बढाउन सकिन्छ,’ उनले भने । उनले यस्तो अवस्था सुधारका लागि लगानी, भौतिक पूर्वाधार, समाजिक र सांस्कृतिक रूपमा पहुँच बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री यादवले सरकारले परिवारनियोजनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न प्रयत्न गर्ने बताए पनि अहिले कुन कार्यक्रम र योजनाबाट त्यस्तो लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने बताएनन् । लिखित मन्तव्यका क्रममा यादवले अन्तर्राष्ट्रिय रूपमा व्यक्त प्रतिबद्धताअनुसार बजेट बढाउने प्रतिबद्धता भने व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले पछिल्ला दिनमा प्रजनन उमेरका पुरुषहरू नेपालबाहिर हुँदा दम्पती छुट्टिएका कारण परिवारनियोजन कार्यक्रममा बढी समस्या देखिएको बताए । ‘स्वास्थ्यसंस्थामा सबैखालका साधन बाह्रै महिना उपलब्ध गराउन सके पनि सिपिआर बढाउन सकिन्छ,’ उनले भने । उनले यस्तो अवस्था सुधारका लागि लगानी, भौतिक पूर्वाधार, समाजिक र सांस्कृतिक रूपमा पहुँच बढाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले व्यवस्थित परिवार योजनासँगै बालविवाह घटाउन, बहुविवाह रोक्न पनि ठोस काम गर्नुपर्ने बताए । संविधानले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार स्थापित गरेको भन्दै उनले स्वस्थ नागरिकविना समृद्ध नेपाल सम्भव नहुने बताए ।

एसोसिएसन अफ इन्टरनेसनल एनजिओज (एआइएन)का अध्यक्ष डा. शिवेशचन्द्र रेग्मीले नेपालमा कार्यरत १ सय ३६ अन्तर्राष्ट्रिय एनजिओमध्ये ६० वटाले स्वास्थ्य क्षेत्रमा र तीमध्ये २० वटाले परिवारनियोजन क्षेत्रमा काम गरिरहेको जानकारी दिए । ती एनजिओले वार्षिक ५ अर्बभन्दा बढी परिवारनियोजनको क्षेत्रमा खर्चिरहेको उनले जानकारी दिए । उनले पछिल्लो राजनीतिक व्यवस्थामा विभिन्न तहका सरकारसँग अनुमति लिनुपर्ने व्यवस्थाका कारण एनजिओको प्रशासनिक खर्च बढेको र एनजिओले लगानी अन्यत्र सिफ्ट गरिरहेको बताए ।

बाह्य विकास साझेदार (इडिपी)का अध्यक्ष विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डलरले परिवारनियोजनका अधिकांश सूचक स्थित भइरहेकाले समीक्षासहित काम गर्ने तरिका परिमार्जन गर्नुपर्ने र लगानी बढाउनुपर्नेमा जोड दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा ४ सयको हाराहारीमा प्रतिनिधि एवम् परिवारनियोजन कार्यकर्ता सहभागी छन् । सम्मेलनमा परिवारनियोजनका क्षेत्रमा विभिन्न संस्थाले अपनाएका कार्यक्रम मोडल, अनुसन्धान नतिजा र भावी योजनाबारे छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय