वार्षिक ५० करोड खर्च, मुस्किलले ५० प्रतिशतको पहुँचमा परिवारनियोजन सेवा, भोलिदेखि राष्ट्रिय सम्मेलन

सरकारले वार्षिक ५० करोड रूपैयाँ खर्च गर्दै आए पनि ५० लक्षित उमेरसमूहको प्रतिशतले मात्र परिवारनियोजनका साधनको प्रयोग गर्ने गरेको पाइएको छ । स्वास्थ्यसेवा विभागअन्तर्गतको परिवारकल्याण महाशाखाले परिवारनियोजन सेवाको पहुँजबाहिर रहेका वा प्रयोगमा अनिच्छा देखाउने झन्डै आधा जनसंख्यामा सेवाको पहुँच पुर्याउने उपायको खोजी गर्न राष्ट्रिय परिवार योजना सम्मेलन आयोजना गर्ने भएको छ ।

महाशाखाले आइतबार पत्रकारसम्मेलन गर्दै परिवारनियोजनका साधनको पहुँच बाहिर रहेका नागरिकलाई लक्ष्य गरी राष्ट्रिय परिवार योजना सम्मेलन गर्न लागेको जानकारी दिएको छ । प्रस्तावित सम्मेलनका अध्यक्ष डा. आरबी बिच्छाले नेपालका ९० प्रतिशत जनतालाई परिवारनियोजनका साधनबारे चेतना भए पनि ४८ प्रतिशतले मात्र साधनको उपयोग गर्ने गरेको जानकारी दिए । ‘महाशाखाले देशका विभिन्न ठाउँमा गोष्ठी, तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि उल्लेख्य रूपमा परिवारनियोजनका साधनको प्रयोगमा लक्ष्यअनुरूप उपलब्धि हासिल गर्न सकिएको छैन,’ डा. बिच्छाले भने, ‘तसर्थ, चौतर्फी रूपका सबै मानिस भेला भएर परिवारनियोजनका साधनको प्रयोग बढाउने उपायको खोजी गर्न राष्ट्रिय परिवार योजना सम्मेलन गर्न लागेका हौँ ।’

काठमाडौंको दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा ४ र ५ चैतमा सम्मेलन आयोजना गरिने महाशाखाले जनाएको छ । महाशाखाले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा आड्राको सहयोगमा सम्मेलनको आयोजना गर्न लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा परिवारनियोजन सेवाको माग तथा पूर्तिको अवस्था, सेवामा पहुँजबाहिर परेकालाई समेट्ने उपाय, परिवारनियोजनका साधनको माग सिर्जना र व्यवहार परिवर्तनका उपायलगायत विषयमा केन्द्रित रही विचार–विमर्श हुने महाशाखाले जनाएको छ ।

‘महाशाखाले देशका विभिन्न ठाउँमा गोष्ठी, तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि उल्लेख्य रूपमा परिवारनियोजनका साधनको प्रयोगमा लक्ष्यअनुरूप उपलब्धि हासिल गर्न सकिएको छैन,’ डा. बिच्छाले भने, ‘तसर्थ, चौतर्फी रूपका सबै मानिस भेला भएर परिवारनियोजनका साधनको प्रयोग बढाउने उपायको खोजी गर्न राष्ट्रिय परिवार योजना सम्मेलन गर्न लागेका हौँ ।’

करिब ६० लाख रूपैयाँको लागत आयोजना गरिने सम्मेलनमा परिवार योजनाको क्षेत्रमा क्रियाशील नेपाल सरकार, नागरिकसमाज, नीति–निर्माता, अन्तर्राष्ट्रिय संघ–संस्था, स्वास्थ्य सेवाप्रदायक, अनुसन्धानकर्ता, चिकित्सक, अनुसन्धानकर्मी, वैज्ञानिक, कार्यक्रम कार्यान्वयनकर्ता, सेवाग्राही, समुदाय स्वास्थ्य स्वयंसेवी, अन्य स्वास्थ्यकर्मीलगायत ४ सयको सहभागिता रहने महाशाखाले जनाएको छ । महाशाखाको वार्षिक कार्यक्रममा नरहे पनि विभिन्न दातृसंस्थाको सहयोगमा सम्मेलन गर्न लागिएको आयोजकको भनाइ छ ।

पछिल्लो समय नेपालमा वार्षिक एक लाख महिलाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ । यो वैधानिक रूपमा सुरक्षित गर्भपतन गराउनेको मात्र संख्या भएकाले गर्भपतन गराउनेको संख्या अझै ठूलो रहेको अनुमान लगाइएको छ । कतिपय महिलाले असुरक्षित गर्भपतनसमेत गराउने गरेका छन् भने निजी अस्पताल, क्लिनिक वा मेडिकलमा गर्भपतन गराउने कतिपय महिला सार्वजनिक हुन नचाहेका कारण उनीहरूको रेकर्ड सरकारी अभिलेखमा रहँदैन । परिवारनियोजनका साधनबारेको ज्ञान र त्यसको व्यावहारिक प्रयोगमा आमजनतालाई अभ्यस्त गराउन सकिएमा गर्भपतन तथा भ्रूणहत्याजस्तो अमानवीय कार्यलाई न्यूनीकरण गर्न मद्दत मिल्नेछ ।

One thought on “वार्षिक ५० करोड खर्च, मुस्किलले ५० प्रतिशतको पहुँचमा परिवारनियोजन सेवा, भोलिदेखि राष्ट्रिय सम्मेलन

  1. Perhaps the seminar will bring out a way towards reaching the un-reached . we hear that contraceptive is not available through the health facilities in the country . the contraceptive supply was very satisfactory with active follow up and good supply system . At present what is the situation , need to be explored and solution accordingly . UNFPA in 190s made efforts to support contraceptive supply system followed by support to logistics Division . What is the situation currently , ?
    Hope the seminar will bring some good solution to improve CPR nationwide.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय