आयुर्वेद विभागको प्रस्तावित संरचनामा वैकल्पिक चिकित्सा क्षेत्रको असहमति

हेल्थपोस्ट नेपाल

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको संरचना बनाउँदा आयुर्वेदलाई मात्रै प्राथमकिता दिएर वैकल्पिक चिकित्सा क्षेत्रलाई ओझेल पारिएको भन्दै सम्बन्धित क्षेत्रका जनशक्तिले आपत्ति जनाएका छन् ।

अखिल नेपाल होमियोप्याथिक एशाेसिएसन, अकुपञ्चर एशोसियसन र योग तथा प्राकृतिक चिकित्सक संघले आइतबार संयुक्त रुपमा स्वास्थ्य मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका छन् । उनीहरुले अब बन्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको १२औँ तहमा आर्युर्वेद वा वैकल्पिक चिकित्सा जुनसुकै क्षेत्रबाट पनि महानिर्देशक हुने बाटो खुल्ला राख्नुपर्ने, प्रस्तावित औषधि तथा वैकल्पिक चिकित्सा महाशाखाबाट औषधि हटाएर छुट्टै महाशाखा बनाउँनुपर्ने माग अगाडि सारेका छन् ।

सो महाशाखामा वैकल्पिक चिकित्सा क्षेत्रकै जनशक्ति उपमहानिर्देशक हुनुपर्ने माग उनीहरुको छ । त्यसैगरी तीबाहेक होमियोप्याथिक, युनानी, अकुपञ्चर र आम्चीमध्ये होमियोप्याथिक र अकुपञ्चरका छुट्टै शाखा बनाएर आठौं तहको प्रमुख र यूनानी र आम्चीको जनशक्ति नभएकोले संयुक्त शाखा बनाएर वैकल्पिक चिकित्सा क्षेत्रकै जनिशक्ती प्रमुख हुनुपर्ने माग उनीहरुको छ । तीनवटै संगठनका सरोकारवालाहरुले प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई भेटेर विकल्प दिएका छन् ।

ती मध्ये होमियोप्याथिक चिकित्सक संघले भने लिखित रुपमै नयाँ संरचनाप्रति असहमति जनाउँदै सम्मानजनक संगठन संरचनाको माग गरेको छ ।
अखिल नेपाल होमियोप्याथिक एशोसिएसनले आइतबार स्वास्थ्य सचिवलाई एक पत्रमार्फत् वैकल्पिक चिकित्सालाई संघ प्रदेश र स्थानीय तहमा दरबन्दको सृजना गर्न माग गरेकाे छ । उनीहरुले पशपति होमियोप्याथिक चिकित्सालयलाई राष्ट्रिय रिसर्च सेन्टरसहितको केन्द्रीय अस्पतालको रुपमा गर्न समेत माग गरेका छन् ।

एशोसिएसनले प्रत्येक प्रदेशमा रिसर्च सेन्टरसहितको प्रदेशिक अस्पतालको स्थापना तथा छुट्टै पहिचान कायम हुनेगरी काउन्सिलको निर्माणगरी स्वास्थ्य संरचनामा समावेश गर्न माग गरेका छन् ।
अध्यक्ष डा. कमल सुवेदी र महासचिव संजय कर्णले संयुक्त रुपमा हस्ताक्षरित पत्र प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई बुझाएका छन् । डा. प्याकुरेलले आयुर्वेद तथा वैकल्पिकि चिकित्सा विभागको संरचना बनाउँदा वैकल्पिक चिकित्सा क्षेत्रबाट समेत एघारौं तहको उपमहानिर्देशकको दरबन्दी राखिने बताए । ‘बैकल्पिक चिकित्साले उपयुक्त प्राथमिकता पाएन भन्ने गुनासो आएको छ, त्यो जायजै पनि देखिएको छ,’ डा. प्याकुरेलले भने, ‘त्यसको संवोधन हुन्छ’ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *