डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला, पठनपाठन अझै अनिश्चित

हेल्थपोस्ट नेपाल

माघ २१ गतेदेखि लगाइएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खुलेको छ । लामो समयको बन्द र परीक्षासमेत छाडेका विद्यार्थी पछिल्लो समय एमबिबिएस दोस्रो वर्षको परीक्षा नजिकिएपछि भने ताला खोलिदिएका हुन् । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको पहल र प्रहरीको रोहवरमा विद्यार्थीले ताला खोलिदिएका हुन् । एमबिबिएस दोश्रो बर्षको परीक्षा चैत २१ देखि हुनेछ । परीक्षामा सहभागी हुन ७ दिनसम्म फाराम भर्ने म्याद छ ।कलेजको ताला खुलेपनि संचालक, प्रिन्सिपललगायत, विभिन्न विभागका प्रमुखहरु फरार रहेकाले कलेजको पठनपाठन सहज हुन सहज देखिन्न ।

अहिलेको परीक्षा दिन नपाए उनीहरुको ‘इयर लस’ हुनेछ । सो ब्याचमा ५३ जना विद्यार्थीहरु अध्ययनरत छन् । अबैध रुपमा बढी शुल्क असुलेको भन्दै डेढ महिनाअघि विद्यार्थीले नै कलेज र अस्पतालको आकस्मिकबाहेकका सबै सेवासमेत बन्द गरिदिएका छन् ।

पछिल्लो समय संचालकविरुद्ध मुद्दामा गएका विद्यार्थी उच्च अदालत पोखराले सञ्चालकहरुलाई पक्राउ गर्न र अनुसन्धानमा बाटो खुला गरिदिएपछि कलेज खोल्न लचक भएका हुन् । तर, अधिकांश पदाधिकारी र संचालक फरार भएपछि कलेज संचालनमा समेत कठिनाई उत्पन्न हुने निश्चित छ ।
शुक्रबार दिउँसो नै ताला खोल्ने तयारी भएपनि कलेजको तर्फबाट जिम्मेवार ब्यक्ति उपस्थित नभएको भन्दै खोलिएको थिएन । विद्यार्थीको पूर्ण समर्थन पाएकोले कलेज ब्यवस्थापक उपस्थित नभएपनि ताला खोलेको विद्यार्थीहरुको भनाई छ ।

ताला खुलेपछि अस्पतालको नियमित काम सुरु भैसकेको छ भने कलेज पनि आइतबारदेखि नियमित पठनपाठन हुने विद्यार्थीहरुले बताए । तर कलेजका सञ्चालकहरु चाहीँ सम्पर्कमा छैनन् । ५३ करोड रुपैयाँ ठगी गरेको आरोपमा विद्यार्थीले ११ जना सञ्चालक विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागमा फागुन २१ गते उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा कास्की प्रहरीले अदालतसँगको अनुमतिमा अध्यक्ष खुमा अर्याल सहित ११ सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिन कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् । एमविविएस दोश्रो बर्षको परीक्षालाई मध्यनजरमा राखेर ताला खोल्ने निर्णय गरेको विद्यार्थी रवीना मिश्रले जानकारी  दिइन् । गत बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालया आदेश पठाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *