उपकुलपति डा. रौनियार पदमुक्त, नेकपाका एक अध्यक्षले बनाए, अर्काले हटाए


बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदमुक्त गरिएको छ । बिहीबार प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डा. रौनियारलाई प्रतिष्ठानको सिनेट बैठकले १७ फागुनमा गरेको सिफारिसका आधारमा उपकुलपति पदबाट मुक्त गरेका हुन् ।

प्रतिष्ठानका सहकुलपति तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा १६ र १७ फागुनमा बसेको प्रतिष्ठानको सिनेट बैठकले डा. रौनियारलाई उपकुलपतिबाट पदमुक्त गर्न प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको थियो । न्याम्सको उपकुलपति नियुक्ति सिफारिसलाई ६ महिनादेखि अड्काइराखेका प्रधानमन्त्रीले धरानका उपकुलपतिलाई पदमुक्त गर्ने सिफारिस भने कार्यान्वयन गरेका हुन् ।

डा. रौनियारलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी पार्टीबाट आफू प्रधानमन्त्री हुँदा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए । संयोग कस्तो पर्न गएको छ भने नेकपाकै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबाट उनी बर्खास्तीमा परेका छन् ।

स्वास्थ्यमन्त्री यादवले केही समयदेखि डा. रौनियारलाई पदमुक्त गर्न कसरत गरिरहेका थिए । यसैक्रममा मन्त्री यादवले बोलाएको सिनेट बैठक आदेश दिने मन्त्री र बैठक बोलाउने उपकुलपतिबीचको बेमेलका कारण तीनपटकसम्म बस्न सकेकेपछि मन्त्री यादवले विशेष अधिकारको प्रयोग गर्दै १६ फागुनमा आफैँले सिनेट बोलाएका थिए ।

सिनेटको सिफारिससँगै डा. रौनियारको उपकुलपति पद प्रधानमन्त्री ओलीको हातमा गएको थियो । प्रतिष्ठानको कुलपतिको रूपमा प्रधानमन्त्रीले सिनेटको सिफारिसका अधारमा उपकुलपतिलाई पदमुक्त गर्न सक्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय