ग्यास्ट्राइटिस अन्य कुनै रोगका कारण पो भएको हो कि ! 

पेटसम्बन्धी कुनै पनि खालको दुखाइ, जस्तै, पेट पोल्ने, दुख्ने, अटेसमटेस हुने, डकार आउने, अमिलो पानी आउने, ढ्याउ आउनेलगायत पेटसम्बन्धी समस्याको समष्टिगत रूपलाई सामान्यतया ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक अंग्रेजी शब्द भए पनि नेपालीमा समेत यसलाई उही रूपमा प्रयोग गरेको पाइन्छ । नेपाली समाजमा पेटसँग सम्बन्धित कुनै पनि रोगका लक्षण तथा असुविधालाई ग्यास्ट्रिकको समस्याका रूपमा बुझ्ने प्रचलन छ । वास्तवमा आमाशयसँग सम्बन्धित कुनै पनि रोग, जस्तै, भित्री भागमा रातो भएर आउनु, सुन्निनु, अल्सर हुनु, रक्तस्राव हुनुलगायत समस्या भएमा त्यसलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भन्ने गरिन्छ । उक्त शब्दलाई नेपालीमा प्रयोग गर्दा अपभ्रंस हुँदै ग्यास्ट्रिक भनिएको हो ।

पेटसम्बन्धी रोगलाई ग्यास्ट्रिक भन्ने गरिए पनि त्यो कुन प्रकारको रोग हो, के कारणले हुन्छ, कस्ता लक्षण देखिएका छन्, खानपानको समस्या, कीटाणु जे कारणले भएको भएपनि चिकित्सकले भने पत्ता लगाउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा कुनै औषधिको प्रयोगका कारण यस्तो प्रकारको समस्या देखापर्न सक्छ । शरीरमा अन्य रोग लागेका कारण पनि यस्ता समस्या देखापर्न सक्छन् ।

कतिपय अवस्थामा मानिसले खाएको खानेकुराले शरीरका विभिन्न भागमा एलर्जीसमेत हुने गर्छ । केही खानेकुरा, जस्तै, प्रोटिनयुक्त खानेकुरामा भटमास, सामुद्रिक खानेकुराहरूले कतिपय मानिसलाई पेटमा एलर्जी हुने गर्छ । यसका कारण पनि ग्यास्ट्रिकको लक्षण देखापर्ने गर्छन् ।

किन हुन्छ ग्यास्ट्रिक ?
पेटमा अनुभूत हुने उल्लेखित समस्याहरूको सबैभन्दा बलियो कारण खानपान नमिल्नु नै हो । शरीरको पाचनक्षमताभन्दा बढी खाना खाँदा, शरीरलाई पचाउन गाह्रो हुनेखालका, जस्तै, माछा, मासु, चिल्लोपदार्थ, भुटेका खानेकुराजस्ता पदार्थ शरीरको क्षमताभन्दा बढी मात्रामा खाएमा ग्यास्ट्रिकका लक्षण, जस्तै, वाकवाकी लाग्ने, पेट असहज हुनेजस्ता समस्या मानव शरीरमा देखापर्ने गर्छन् ।

कतिपय अवस्थामा मानिसले खाएको खानेकुराले शरीरका विभिन्न भागमा एलर्जीसमेत हुने गर्छ । केही खानेकुरा, जस्तै, प्रोटिनयुक्त खानेकुरामा भटमास, सामुद्रिक खानेकुराहरूले कतिपय मानिसलाई पेटमा एलर्जी हुने गर्छ । यसका कारण पनि ग्यास्ट्रिकको लक्षण देखापर्ने गर्छन् ।
शरीरलाई आवश्यकभन्दा बढी मात्रामा खाना खानु, पचाउन असहज हुने खानेकुरा, जस्तै, माछा, मासु, दुग्धजन्य पदार्थ अत्यधिक मात्रामा खानु, मैदाबाट बनेका खानेकुराहरू धेरै खानाले समेत ग्यास्ट्रिकका लक्षणहरू देखापर्ने गर्छन् ।

खानपानका कारण विशेषगरी ३ कारणले ग्यास्ट्रिक हुने गर्छ– अत्यधिक मात्रामा खानु, खानाको एलर्जीका कारण र खानेकुरालाई मानव शरीरले राम्रोसँग पाचन गर्न नसक्नुका कारण । खानासँग सम्बन्धित अर्काे प्रकारको ग्यास्ट्रिकमा दूषित अथवा बासी खानेकुराको सेवनका कारण पनि ग्यास्ट्रिकको समस्या देखापर्ने गर्छ । राम्रोसँग तयार नगरिएको खानेकुरा, झिँगा भन्किएको खानेकुराका कारण पनि ग्यास्ट्रिकको समस्या देखापर्न सक्छ ।

आजकाल ब्याक्टेरियाजस्ता एकप्रकारका सूक्ष्म जीवाणुको संक्रमणका कारण सबैभन्दा बढी मात्रामा ग्यास्ट्रिक, अल्सर तथा अन्तिम अवस्थामा पेटको क्यान्सरसमेत हुने गरेको पाइन्छ । ६५–७० प्रतिशत मानिसको पेटमा यस्ता प्रकारका ब्याक्टेरिया पाइएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । यसप्रकारका कीटाणु मार्नका लागि कम्तीमा २ हप्तासम्म डबल एन्टिबायोटिक तथा एकप्रकारको एसिड कम गर्ने औषधि खानुपर्ने हुन्छ । कुनै पनि प्रकारका औषधि, जस्तै, पेन किलर, एन्टिबायोटिक तथा कुनै पनि औषधि प्रयोग गरिरहेका व्यक्तिमा ग्यास्ट्रिकको समस्या देखापर्ने गर्छ । यदि त्यस्ता प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्था रहेमा ग्यास्ट्रिकलाई कम गर्ने, रोक्ने अथवा कुन विकल्प अपनाउन सकिन्छ, त्यो गर्नुपर्ने हुन्छ । अत्यधिक मानसिक तनाव, विभिन्न प्रकारका एन्जाइटी तथा डिप्रेसनका कारण पनि ग्यास्ट्रिकको समस्या देखापर्ने गर्छ ।

ग्यास्ट्रिक नसा तथा स्नायुप्रणालीसँग पनि सम्बन्धित समस्या हो । स्नायु तथा नसाका कारण हुने समस्या लिएर विशेषज्ञ चिकित्सकहरूकहाँ आउने बिरामीको संख्या अत्यधिक छ । कहिलेकाहीँ मिर्गौला सम्बन्धी रोग, जन्डिस, कलेजो सुन्निनु, विभिन्नप्रकारका संक्रमण, पाचनप्रणालीका विभिन्न समस्या, प्याङक्रियाज, पित्तथैली र पित्तनलीमा हुने विभिन्नप्रकारका समस्या भएमा समेत ग्यास्ट्रिकको समस्या आउने गर्छ । पेटमा क्षयरोग भएको अवस्थामा पनि ग्यास्ट्रिकको समस्या निम्तिने गर्छ ।

कतिपय अवस्थामा सामान्य कारणले ग्यास्ट्रिक हुने गर्छ, जसलाई उपचारको खासै आवश्यकता पर्दैन । कतिपय अवस्थामा भने ग्यास्ट्रिकका लागि जटिल प्रकारका उपचारका समेत आवश्यकता पर्न सक्छ ।

नेपालमा २०–२५ वर्षपहिले ग्यास्ट्रिकका विभिन्न जटिलता थिए । पहिले–पहिले अस्पतालहरूमा धेरै शल्यक्रिया ग्यास्ट्रिकका कारण हुने गर्थे । हाल ग्यास्ट्रिकको उपचार विधिमा विगतको तुलनामा धेरै नै प्रगति भएको पाइन्छ । वर्तमान समयमा ग्यास्ट्रिकका कारण शल्यक्रिया बिरलै हुने गरेको छ । हाल औषधिको सेवनबाटै ग्यास्ट्रिक निको हुन्छ ।

उपचार विधि
ग्यास्ट्रिकका बिरामीको उपचारमा चिकित्सकले यसको कारणअनुसार उपचार विधि अपनाउने गर्छन् । कारण पत्ता लगाउनेक्रममा बिरामीले दैनिक रूपमा खाने गरेका खानेकुराबारे चिकित्सकले सोध्ने गर्छन् । बिरामीलाई कति समयदेखि समस्या भएको हो, त्यसबारे पनि सोध्ने गरिन्छ । त्यसमा बिरामीको उमेरसमेत महत्वपूर्ण हुन्छ । यसका साथै, रगतबाट गरिने विभिन्न परीक्षण, कलेजो परीक्षण, दिसा–पिसाबका परीक्षणहरू, इन्डोस्कोपी तथा अल्ट्रासाउन्डलगायत परीक्षणले ग्यास्ट्रिक भए वा नभएको चिकित्सकले पत्ता लगाउने गर्छन् ।

नेपालमा २०–२५ वर्षपहिले ग्यास्ट्रिकका विभिन्न जटिलता थिए । पहिले–पहिले अस्पतालहरूमा धेरै शल्यक्रिया ग्यास्ट्रिकका कारण हुने गर्थे । हाल ग्यास्ट्रिकको उपचार विधिमा विगतको तुलनामा धेरै नै प्रगति भएको पाइन्छ । वर्तमान समयमा ग्यास्ट्रिकका कारण शल्यक्रिया बिरलै हुने गरेको छ । हाल औषधिको सेवनबाटै ग्यास्ट्रिक निको हुन्छ । यदि कीटाणुहरूका कारण ग्यास्ट्रिक भएको छ भने सामान्यतया दुई हप्ताको विशेषप्रकारको एन्टिबायोटिक खाएरै ग्यास्ट्रिक निको हुन्छ । सामान्य रूपमा मुखबाट खाने औषधिबाटै अल्सरसमेत ठिक हुन सक्छ ।

कतिपयमा घाँटीबाट एसिड फर्किने समस्यासमेत हुन्छ । त्यसका लागि एसिड कम गर्ने औषधि खानुपर्ने हुन्छ, जुन केही लामो समय अर्थात् आवश्यकताअनुसार महिनौँ वा वर्षौंसमेत खानुपर्ने हुन सक्छ ।
यदि कसैमा ग्यास्ट्रिकका कारण रगत बग्ने समस्या देखापरेमा धेरैजसो अवस्थामा औषधिबाटै ठिक हुने अवस्था भए पनि कोही–कोहीमा भएको रक्तस्राव अनियन्त्रित भई आन्द्रा नै छेडियो तथा रक्तस्राव रोक्न सकिएन, आन्द्रा नै जाम भयो भने त्यस्तो अवस्थामा केही प्रतिशत ग्यास्ट्रिकका रोगीमा मात्रै शल्यक्रियाको आवश्यकता पर्ने गर्छ ।

रोकथामका उपाय
– खानपानका विशेष ध्यान दिने ।
– स्वच्छ तथा स्वस्थ खानेकुरा नियन्त्रित रूपमा खाने ।
– सामान्यतया दिनको चारपटकसम्म खाना खाने ।
– अत्यधिक मात्रामा चिल्लो भएको तथा बाहिरको तयारी खानेकुरा नखाने ।
– भान्छामा उपलब्ध खानेकुरालाई नै व्यवस्थित रूपमा खाने ।
– पेटसम्बन्धी समस्या देखिएमा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट परीक्षण गराउने ।
– विशेषज्ञले दिएको सल्लाहअनुसारका परीक्षण गराउने ।
– अन्य कुनै रोगका कारण ग्यास्ट्रिकको समस्या देखापरेको हो भने सबैभन्दा पहिले त्यस्ता प्रकारका रोगको उपचार गराउने ।

उपचारपश्चात् बिरामी पूर्ण रूपमै पहिलेको अवस्थामा आउन सक्छ । ग्यास्ट्रिकको उपचारका क्रममा आएका बिरामीलाई अन्य रोगहरू भएको पत्ता लागेमा सबैभन्दा पहिले उक्त रोगको उपचार गराउनु आवश्यक हुन्छ ।

डा. शर्मा पाटन अस्पताल र सुमेरु अस्पतालमा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय