सुत्केरीपछिको स्याहार के हो ? कसरी गर्ने ?

सुत्केरी स्याहार भन्नाले विशेषगरी बच्चा जन्मेको ६ हप्तासम्मलाई बुझिन्छ । यो एक परिवारका लागि र एउटी आमाका लागि खुसीको क्षण त हुँदै हो, ९ महिनासम्म आफ्नो गर्भमा बच्चा हुर्काएर जन्म दिने आमाले समायोजन हुनुपर्ने र उपचारका साथै स्याहार पाउनुपर्ने समय पनि हो । यो समयमा महिला पूरै बच्चासँग लीन हुन्छन् । यस अवस्थामा पूर्ण रूपमा आराम गर्नुपर्छ, साथै सुत्केरीपछिको चेकअपका लागि अस्पताल गइरहनुपर्छ ।

मातृत्वको समायोजन
महिलालाई विशेषगरी पहिलो बच्चा प्राप्तिपछि सुरुवाती क्षणमा प्रत्येक दिनको व्यस्थापन निकै चुनौतीपूर्ण हुन्छ । बच्चाको स्याहारमा सम्पूर्ण ध्यान दिनुपर्ने हुन्छ भने आमाले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने हुन्छ ।
प्रायः नयाँ आमाहरू कम्तीमा ६ हप्तासम्म काममा फर्किन सक्दैनन् । कामकाजी महिला छन् भने एकातिर कामको पनि मानसिक चाप हुन्छ भने अर्कोतर्फ शरीर सामान्य अवस्थामा फर्किन समय लाग्छ । नयाँ बच्चालाई पटक–पटक आमाको दूध चुसाउनुपर्छ । बच्चामा पनि हरेक दिन परिवर्तन देखापर्छ । आमाले निदाउन पनि राम्रोसँग नपाउने हुनाले थकानका साथै मानसिक असन्तुलन पनि देखिन सक्छ । तर, खुसीको कुरा, यी सब कुरा बिस्तारै नियमित बन्दै जान्छन्, अर्थात् बच्चाको र आमाको परिवारमा समायोजन हुँदै जान्छ ।

घरमा नयाँ बच्चा आएपछि पूरै परिवारको संरचनामा बदलाव आएको अनुभूति हुन्छ । यो समयमा श्रीमान्–श्रीमतीले एक–अर्कालाई राम्रोसँग समय दिन पनि भ्याउँदैनन् । यसबाट उत्पन्न हुने कठिनाइले केही असमझदारी पनि सिर्जना हुन सक्छ । तर, धैर्य र समझदारीले बिस्तारै समाधान पनि दिँदै जान्छ । हरेक परिवारमा परिवर्तन आउँछन् भन्ने बुझ्नुपर्छ । बच्चा हुर्कंदै गर्दा सबै असहजता भुल्दै गइन्छ ।

प्रसूतिपश्चात् ध्यान दिनुपर्ने कुरा
१. प्रशस्त आराम गर्नुहोस्
सुत्केरी अवस्थामा मुख्य ध्यान पु-याउनुपर्ने कुरा प्रशस्त आराम हो । बच्चा सुतेको समयमा आमा पनि सुतिहाल्नुपर्छ ।
२. सरसफाइमा ध्यान दिनुहोस्
सुत्केरी समयमा ध्यान नदिएर जोखिम निम्त्याउन सक्ने अर्को महत्वपूर्ण कारण सरसफाइको कमी हो । आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सरसफाइ महत्वपूर्ण कुरा हो । सानो लापरबाहीले पनि बच्चामा इन्फेक्सनको जोखिम हुने हुँदा निकै सचेत हुनुपर्छ ।

धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ । बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ ।

३. सहयोग लिनुहोस्
परिवार तथा साथीभाइसँग सहयोग लिन नहिच्किचाउनुहोस् । बच्चालाई खाना तयार गर्ने, लुगाफाटोको व्यवस्थापन गर्नेलगायत कुरामा आफैँ नखटुनुहोस् ।
४. स्वस्थ खाना खानुहोस्
सुत्केरी अवस्थाबाट छिटो रिकभर हुने एउटा मात्र उपाय भनेको स्वस्थ र पोसिलो खाना हो । यो समयमा महिलाको टिस्यु ड्यामेज हुने भएकाले टिस्यु रिकभरीका लागि पनि पौष्टिक आहार जरुरी हुन्छ । आमाको दूध बच्चाले खाइरहने हुनाले झोलिलो खानेकुरा पनि खानुपर्छ । तर, धेरै घिउ भने खानुहुँदैन । प्रोटिनयुक्त खाना प्रशस्त खानुपर्छ ।

५. सन्तुलित व्यायाम गर्नुहोस्
धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ । बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ । व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सघाउँछ ।

प्रसूतिपछिको डिप्रेसन
प्रसूतिपछिको डिप्रेसन सामान्य नै मानिन्छ । यो प्रायः बच्चा जन्मेको केही दिनपछि देखिन थाल्छ र दुई हप्तासम्म रहन्छ । अधिकांश महिलामा यसको लक्षण नदेखिन सक्छ । करिब ७० देखि ८० प्रतिशत महिलामा भने टोलाउने तथा नकारात्मक भावना आउने हुन्छ । प्रसूतिपछि एकैपटक हर्मोनल परिवर्तन आउनुका साथै बाहिरी वातावरणमा पनि परिवर्तन आउने हुनाले यस्तो हुन्छ ।

सामान्य लक्षण
नबोल्ने, कराउने ।
झन्झट लाग्ने ।
अनिद्रा ।
दुःखी हुने ।
मुड चेन्ज हुने ।
कता–कता हराउने ।
यदि यस्ता खालका समस्या दुई साताभन्दा बढी रहेमा वैराग्य लाग्ने तथा गिल्टी फिल हुने हुन्छ । कहिलेकाहीँ यस्तो समस्या भएका वेला पारिवारिक सपोर्ट भएन भने आमाले परिवारसँग बस्न मन नपराउने, बच्चालाई पनि माया नगर्नेजस्ता लक्षण देखाउँछन् । यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्ने हुन्छ ।

शारीरिक परिवर्तनविरुद्ध संघर्ष
संवेगात्मक परिवर्तन सँगसँगै यो समयमा महिलाले शारीरिक परिवर्तन पनि झेल्नुपर्ने हुन्छ । मोटोपन, छाला तन्कने, नङ, छाला, कपाल संवेदनशील हुने, ढाड दुख्ने, स्तन ठूलो हुनेजस्ता समस्या प्रसूतिपछि देखिने साझा समस्या हुन् । धेरै महिला यी समस्याका कारण चिन्तित भएको पाइन्छ । यी सबै समस्याको समाधान रातारात हुने होइन । चिकित्सकले व्यायाम गर्नका लागि अनुमति दिएपछि मध्यमखालको व्यायाम सुरु गरिहाल्ने, खानपानमा नियमित ध्यान दिने, स्तनपान गराउने र सकारात्मक सोच्ने गर्नाले बिस्तारै ठिक हुँदै जान्छ । साथै, अन्य शारीरिक परिवर्तन पनि देखापर्न सक्छन् ।

यस्ता शारीरिक परिवर्तन देखिए के गर्ने ?

स्तन सुन्निने
दूध भरिने हुनाले सुत्केरीपछि स्तन ठूलो हुनु सामान्य हो, तर सुन्निँदा पक्कै पनि असहज हुन्छ । यस्तो वेला तातोपानी या आइसले सेक्न सकिन्छ । साथै, निप्पलमा दुखाइ कम हुने मलम लगाउन सकिन्छ ।

कब्जियत
प्रसूतिपछि देखिने प्रमुख समस्या कब्जियत पनि हो । हाम्रो परम्परागत मान्यताअनुसार त झन् यो वेलामा हरियो तरकारी, फलफूल तथा पानी कम खाने प्रचलन छ, जसले कब्जियत झन् जटिल बनाउँछ । प्रशस्त मात्रामा फाइबरयुक्त फलफूल तथा तरकारीका साथै झोलिलो खाना खानुपर्छ । सामान्य व्यायाम पनि कब्जियतसँग छुटकारा पाउन सहयोगी हुन्छ ।

पेल्भिक फलोर परिवर्तन
रेक्टम र भेजिनाको बीचको भागलाई पेरिनम भनिन्छ । बच्चा जन्मिने समयमा यो तन्किन्छ र स–सान छिद्रहरू बन्छन् । शल्यक्रिया गर्नुपर्यो भने त्यहाँ चिर्नुपर्छ । चिरेको ठाउँमा आइस प्याक लगाउने, पिलोमा बस्ने र किगल एक्सरसाइज गर्दा फाइदा पुग्छ ।
चिटचिट पसिना आउने
हर्मोनल परिवर्तनले गर्दा बेलुकीपख पसिना आउने हुन सक्छ । कोठाको वातावरण कुल बनाउनुपर्छ तर बच्चालाई चिसो लाग्ने कुरामा भने सचेत हुनुपर्छ ।
पिसाबमा कठिनाइ
बच्चा जन्मिएपछि आमालाई पिसाबमा कठिनाइ हुनु सामान्य हो । नर्मल डेलिभरीमा त झन् यो समस्या बढी नै हुन्छ । पिसाबमा संक्रमण फैलिएर थप समस्या ननिम्त्याउनका लागि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

योनिस्राव
बच्चा जन्मेको दुईदेखि चार हप्तासम्म आमामा योनिस्राव हुनु सामान्य नै मानिन्छ । यस्तो समयमा सफा सेनिटरी नेप्किन प्रयोग गर्नुपर्छ । तर, कपडाको प्याड, पानीको फोहोरा प्रयोग गर्नुहुँदैन । योनि संवेदनशील हुने हुनाले संक्रमण हुनुका साथै घाउ हुने कुरामा सचेत हुनुपर्छ । यदि दुर्गन्ध आइरहेको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय