उच्च रक्तचापको कारण र उपचार

आजकल उच्च रक्तचाप सहरिया जीवनमा देखिने एउटा साझा समस्या बनिसकेको छ । १० वर्षयता नेपालमा उच्च रक्तचापको समस्या एकदमै बढिरहेको छ । उच्च रक्तचापको समस्या सहरिया जीवनमा धेरै देखिए पनि गाउँले जीवनमा पनि यो समस्याकै रूपमा देखिएको छ ।

मिर्गौलामाथिको रक्तनलीको समस्या, अति तनावपूर्ण जीवनशैलीलगायत कारण उच्च उक्तचापको समस्या दिनप्रतिदिन बढ्दै गएको हो । मुटुको धमनीको समस्याका कारण पनि उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, धेरै प्रकारका केसमा भने यसको कारण थाहा पाउन सकिएको छैन । सामान्यतया १४०/९० भन्दा बढी रक्तचाप भएको अवस्थालाई उच्च रक्तचापको समस्याका रूपमा लिन सकिन्छ ।

यसलाई पहिलो स्टेजको उच्च रक्तचाप भन्ने गरिन्छ । यस अवस्थामा औषधि सेवनको अवस्था भने हुँदैन । त्यसैगरी, रक्तचाप १६०÷१०० सम्म पुगेको अवस्थामा औषधिको सेवन गर्नुपर्ने हुन्छ । यो भने उच्च रक्तचापको समस्याकै अवस्था हो ।

पाटन अस्पतालमा आएका बिरामीमा पनि उच्च रक्तचापको समस्या अत्यधिक पाइने गरेको मेरो अनुभव छ । छिनछिनमा टाउको दुखेको अनुभव हुने, रिँगटा लाग्ने, वाकवाकी हुने, हिँडडुल गर्न असहज हुनेजस्ता समस्या उच्च रक्तचापका कारण आउने गर्छन् । उच्च रक्तचापको प्रत्यक्ष असर आँखाको धमनीहरूमा पर्ने गर्छ । आँखामा आउने समस्या तथा दृष्टिविहीन हुनुका विभिन्न कारणमध्ये उच्च रक्तचाप पनि एक हो ।

उच्च रक्तचाप सुरुकै अवस्थामा छ भने कतिपय घरायसी उपचार विधिबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । जस्तै, शरीरमा तौलको मात्रालाई सन्तुलनमा राख्ने, शारीरिक व्यायाममा विशेष ध्यान दिने, खानपानमा ध्यान दिनेजस्ता उपायबाट सुरुको अवस्थामा रहेको उच्च रक्तचापको समस्यालाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

उच्च रक्तचापको समस्या जुनसुकै उमेर समूहका मानिसमा देखापर्न सक्छ । सुरुवातकै चरणमा उच्च रक्तचाप भएको थाहा पाउन सकेमा यसको उपचार गर्न सकिन्छ । तर, मुख्य कुरा के थाहा पाउनुपर्छ भने बच्चालाई बढी मात्रामा जंकफुड खुवाउनाले पनि उच्च रक्तचापको समस्या देखापर्ने गर्छ ।
अत्यधिक धूमपान तथा मद्यपान गर्नु, शारीरिक मिहिनेतको अभावजस्ता कारणले उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । उच्च रक्तचापको स्टेज २ मा पुगिसकेको भए औषधिसमेत सेवन गर्नुपर्ने हुन्छ । औषधि सेवन गर्नुपर्ने अवस्थामा समेत औषधि नखाएमा उच्च रक्तचापका कारण मस्तिष्काघात तथा हृदयाघात हुन सक्छ ।

उच्च रक्तचापका कारण
उच्च रक्तचापको ९० प्रतिशत समस्यामा कारण थाहा पाउन गाह्रो छ । केही साझा कारण यस्ता छन्–
– वंशानुगत
– वातारणीय
– अत्यधिक तनावपूर्ण जीवनशैली
– बढी मात्रामा प्रतिस्पर्धा
– अत्यधिक मात्रामा जंकफुडको प्रयोग
– धूमपान तथा मद्यपान
– शारीरिक मिहिनेतको कमी

उच्च रक्तचापका लक्षण
– वेलावेलामा वाकवाकी लाग्ने
– टाउको भारी हुने तथा दुख्ने
– रिँगटा लाग्ने
– दैनिक क्रियाकलाप सञ्चालनमा एकदमै ग्राहो हुने
– स्याँ–स्याँ हुने
– अत्यधिक उच्च रक्तचाप भएमा व्यक्तिहरू वेला–वेला ढल्ने
– टाउकोभित्र रक्तस्राव हुने ।

उपचारविधि
उच्च रक्तचाप सुरुकै अवस्थामा छ भने कतिपय घरायसी उपचार विधिबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । जस्तै, शरीरमा तौलको मात्रालाई सन्तुलनमा राख्ने, शारीरिक व्यायाममा विशेष ध्यान दिने, खानपानमा ध्यान दिनेजस्ता उपायबाट सुरुको अवस्थामा रहेको उच्च रक्तचापको समस्यालाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

घरायसी उपचार विधिबाट निको नभएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ । यदि उच्च रक्तचापका कारण टाउकोबाट रक्तस्राव हुने, हृदयाघात हुनेजस्ता समस्या देखापरेमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

टाउकोमा भएको रक्तस्रावको उपचार न्युरो सर्जनले गर्छन् । शल्यक्रिया गराएपश्चात् पनि उच्च रक्तचापको औषधि सेवन निरन्तर गरिरहनुपर्छ ।

रोकथामका उपाय
– शरीरको तौल सन्तुलनमा राख्ने
– शारीरिक व्यायाममा ध्यान दिने
– मद्यपान तथा धूमपान नगर्ने
– सकेसम्म चिल्लो तथा भुटेको खानेकुराको सेवन कम गर्ने ।

(डा. श्रेष्ठसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय