रक्तदानको रगतमा भेटियो एचआइभी र भिरिंगी, अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण

रक्तदान कार्यक्रममार्फत संकलित रगतमा एचआइभी तथा भिरिंगीका जीवाणु भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणका क्रममा बिरामीका लागि संकलन गरिएको रगतमा एचआइभी र भिरिंगीको संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले बुधबार प्रतिवेदन प्रस्तुत गर्दै रगतमा प्राणघातक जीवाणु भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

प्रयोगशालाको रक्तसञ्चार शाखाले २०१७ नोभेम्बरदेखि रक्तदाताले दान गरेदेखि बिरामीमा चढाउनेवेलासम्म रगतको सम्पूर्ण अध्ययनका लागि राष्ट्रिय ‘हमोभिजिलेन्स’ कार्यक्रम सुरु गरेको थियो । प्रयोशालाका अनुसार सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र र निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल गरी जम्मा चार अस्पताललाई प्रतिवेदनका लागि छनोट गरिएको थियो । तर, गंगालाल र ओमले प्रतिवेदनका लागि तथ्यांक उपलब्ध गराएका थिएनन् ।

प्रसूतिगृह र क्यान्सर अस्पतालले भने रक्तसञ्चारबारे सम्पूर्ण रिपोर्ट पठाउने गरेको प्रयोगशालाले जनाएको छ । ती अस्पतालले एक वर्षको अवधिमा पठाएका १ हजार १२ वटा केसमध्ये १२ वटा शंकास्पद भेटिएको प्रयोगशालाका रक्तसञ्चार ब्युरो प्रमुख डा. रेखा मानन्धरले जानकारी दिइन् । ‘तीमध्ये १० वटाको रिपोर्टमा कुनै खराबी पाइएन भने २ वटामा एचआइभी र भिरिंगीको संक्रमण पाइयो,’ उनले भनिन् ।

प्रयोशालाका अनुसार सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र र निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल गरी जम्मा चार अस्पताललाई प्रतिवेदनका लागि छनोट गरिएको थियो । तर, गंगालाल र ओमले प्रतिवेदनका लागि तथ्यांक उपलब्ध गराएका थिएनन् ।

प्रयोगशालाका निर्देशक प्रा.डा. हरिचन्द्र उप्रेतीले रगत लिँदा–दिँदा हुने साइडइफेक्टबाट जोगिनुपर्ने बताए । ‘रगतले जीवन बचाउने काम गर्छ, त्यसैले यसमा कसैले पनि लापरबाही गर्नुहुँदैन,’ उनले भने, ‘रगत लिँदा र दिँदा रगतको गुणस्तर कस्तो छ भन्ने कुरा सबैलाई थाहा हुनु आवश्यक छ ।’ प्रयोगाशालाकी पूर्वनिर्देशक गीता शाक्यले वीर अस्पतालमा सबैभन्दा बढी रगत खपत हुने तर कति हुन्छ भन्ने तथ्यांक नभएको बताइन् । अस्पतालले लगेको रगतमध्ये २० प्रतिशत रगत प्रयोग नभई ब्लड बैंकमा फिर्ता हुने गरेको उनको भनाइ छ ।

‘पहिला–पहिला प्लास्टिकको ब्यागमा राखेर लगिन्थो, तर अहिले कोल्डब्यागको प्रयोग गर्दा गुणस्तर जोगाउन केही सहयोग पुगेको छ,’ उनले भनिन्, ‘कहाँ–कति प्रयोग हुन्छ भन्ने तथ्यांक कुनै अस्पतालमा पनि राख्ने चलन छैन ।’ गुणस्तर मापन नियन्त्रण महाशाखाका डा. दीपेन्द्ररमण सिंहले कस्तो किसिमको गुणस्तरको रगतको आपूर्ति भइरहेको छ भन्नेबारे सबैलाई जानकरी हुनुपर्ने बताए । उनले भने, ‘त्यसका लागि मन्त्रालयले अहिले भएको मापदण्डलाई परिवर्तन गर्न लागेको छ ।’

अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण

विशेषगरी मिर्गौला प्रत्यारोपण र क्यान्सरको उपचारका लागि रगतको प्रयोग हुने गर्छ । तर, सरकारी तथा निजी क्षेत्रका धेरैजसो अस्पतालले हमोभिलिजेन्स गरेका छैनन् ।  सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण रगतको तत्वको निर्माणलगायतदेखि बिरामीले रगत प्राप्त गर्नेसम्मको अवस्थालाई ‘हमोभिलिजेन्स’ भन्ने गरिन्छ ।

‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ,’ उनले भने, ‘रगत लिँदा र दिँदाको साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूतिगृह र ग्रान्डीलगायत केही अस्पतालले मात्र हमोभिजिलेन्स गर्ने गरेका छन् । तर, अधिकांश ठूला अस्पतालले हमोभिजिलेन्स गरेको पाइएको छैन । सबै अस्पतालमा ब्लडबैंक हुनुपर्ने रक्तसञ्चार निर्देशिकामा उल्लेख छ । जनशक्ति अभाव, गुणस्तर कायम गर्न नसकेका कारण अन्य अस्पतालले हमोभिजिलेन्स नगरेको रक्तसञ्चार विशेषज्ञले बताउँदै आएका छन् ।

अस्पतालले रगत संकलनदेखि लिएर ट्रान्सप्लाल्ट गर्दा रियाक्सन आउने वेलासम्मका सबै चरणमा रक्तसुपरिवेक्षण गर्नुपर्ने रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल बताउँछन् । उनका अनुसार रगतको गुणस्तर कायम राख्ने दायित्व डाक्टर, अस्पताल, ब्लडबैंकलगायतको हुन्छ ।

रक्तसञ्चार निर्देशिकामा रगत गुणस्तरयुक्त हुनुपर्ने प्रावधान छ । तर, रगतको गुणस्तर कायम गर्न सकिएको छैन । डाक्टरमा रक्तसुरक्षासम्बन्धी ज्ञानको कमी, जनशक्तिको कमीले गर्दा रगतको गुणस्तरमा कमी आएको उनको भनाइ छ ।
‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ,’ उनले भने, ‘रगत लिँदा र दिँदाको साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय