स्थापनाको उद्देश्यबाट टाढिँदै ट्रमा सेन्टर

विभिन्नप्रकारका दुर्घटनामा परेका तथा चोटपटकका बिरामीका लागि उपचारसेवा पुर्याउने मूल उद्देश्यले स्थापित देशको एक मात्र ट्रमा सेन्टर स्थापनाको उद्देश्यबाट टाढिँदै गएको छ ।

विशेषगरी दुर्घटनामा परेका, गम्भीरखाले इन्जुरी तथा सबैखाले चोटपटकपीडित बिरामीलाई आकस्मिकलगायत सेवा उपलब्ध गराउन विभिन्न लेबलमा ट्रमा सेन्टर स्थापना गर्ने गरिन्छ । यस प्रकृतिको नेपालको एक मात्र अस्पताल राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो मूललक्ष्यअनुसार काम गर्न नसकेको विश्लेषण गर्न थालिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पाँच वर्षपछि ०७१ मंशिर मुलुकको एक मात्र ट्रमा सेन्टरको नेपालका तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

आकस्मिकसहित बहिरंग र अन्तरंग सेवामार्फत बिरामीलाई सेवा दिँदै आएको राष्ट्रिय ट्रमा सेन्टरबाट दैनिक २ सयदेखि ३ सय बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । ओपिडीमा प्रायः हाड दुख्ने, हड्डी खिइने, अन्य साधारणखालका चोटपटकदेखि लिएर सबै प्रकारका बिरामी आउने गरेको अस्पतालका डा. बद्री रिजाल बताउँछन् । ‘ट्रमा (चोटपटक)सहित अर्थाेपेडिकका सेवासमेत प्रदान गर्दै आएकाले ट्रमाका बिरामीलाई उपचारसेवा दिने मूल लक्ष्यसाथ स्थापना भएको सेन्टरले आफ्नो लक्ष्यअनुसारको काम गर्न नसकेको हो कि भन्ने भान जनमानसमा पर्न गएको हुन सक्छ,’ डा. रिजाल स्विकार्छन् ।

संस्थाको प्रकृतिभन्दा इतरका सेवाहरू विस्तार गर्दै लगेको सेन्टरले आफ्ना मूल आवश्यक सेवालाई भने पूर्णता दिन सकेको छैन । ‘ट्रमा सेन्टर भन्नासाथ विभिन्न प्रकारका दुर्घटनाजन्य इन्जुरीका केसहरू तथा चोटपटकका केसहरू हेरिनुपर्ने हो,’ डा. रिजाल भन्छन्, ‘तर, पेट तथा अन्य अंगका इन्जुरीका केसहरूको उपचारसुविधा अझै पनि ट्रमा सेन्टरमा विस्तार हुन सकेको छैन ।’ उनका अनुसार कम्प्रिहेन्सिभ ट्रमा सेन्टरका रूपमा सेन्टरलाई विस्तार गर्न नसकेका कारण पनि स्थापनाको लक्ष्यअनुरूप सेवा दिन नसकिएको हो । त्यसका साथै पर्याप्त स्थानको अभाव, जनशक्ति अभाव, उपकरण अभावलगायत अनेकौँ समस्याका कारण पनि ट्रमा सेन्टरले स्थापनाको लक्ष्यअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

ट्रमा सेन्टरका लागि सरकारले २ सय ४७ को संख्यामा जनशक्ति छुट्याएको छ । त्यसमध्ये २७ जनाको विशेषज्ञ चिकित्सक दरबन्दी रहेकोमा २१ जना मात्र कार्यरत छन् । त्यसैगरी, मेडिकल अधिकृत ३१ जना कार्यरत छन् । नर्सिङ जनशक्तितर्फ १ सय ४७ जनाको दरबन्दी रहेकोमा १ सय ७ दरबन्दी मात्र परिपूर्ति भएको अवस्था छ । त्यसमध्ये पनि १७–१८ जना नर्स अध्ययन बिदामा रहेको डा. शेरचन बताउँछन् ।

ओपिडी बिरामीको चाप यसैगरी बढ्दै जाने हो भने थप सेवाप्रवाह गर्न सक्ने अवस्था नरहेको ट्रमा सेन्टरका निमित्तनिर्देशक डा. विनोद शेरचन बताउँछन् । डा. शेरचनका अनुसार जनशक्ति अभाव पहिलो समस्या नभए पनि ओपिडी परीक्षणका लागि उपलब्ध स्थानको सीमितताका कारण हाल आइरहेका बिरामीहरूको संख्यामा वृद्धि हुने हो भने ट्रमा सेन्टरले सेवाप्रवाह गर्न सक्ने स्थिति छैन ।

सेन्टरले चिसोको समयमा ओपिडीमा दैनिक २ सय ५० तथा गर्मीयाममा ३ सय बिरामीको परीक्षण गराउँदै आएको शेरचन बताउँछन् । यसमा नयाँ तथा पुराना दुवै बिरामी समावेश छन् । तर, फलोअपका बिरामीलाई भने ३ सयभन्दा बढी भए पनि परीक्षण गराउँदै आएको उनको भनाइ छ । त्यसैगरी, सेन्टरमा आकस्मिकतर्फ भने दैनिक ५० देखि सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

ट्रमा सेन्टरका लागि सरकारले २ सय ४७ को संख्यामा जनशक्ति छुट्याएको छ । त्यसमध्ये २७ जनाको विशेषज्ञ चिकित्सक दरबन्दी रहेकोमा २१ जना मात्र कार्यरत छन् । त्यसैगरी, मेडिकल अधिकृत ३१ जना कार्यरत छन् । नर्सिङ जनशक्तितर्फ १ सय ४७ जनाको दरबन्दी रहेकोमा १ सय ७ दरबन्दी मात्र परिपूर्ति भएको अवस्था छ । त्यसमध्ये पनि १७–१८ जना नर्स अध्ययन बिदामा रहेको डा. शेरचन बताउँछन् ।

ट्रमा सेन्टर २ सय बेडको अस्पताल हो । यसका लागि उपलब्ध गराइएको १ सय ४७ नर्सिङ दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डअनुसार ज्यादै न्यून हो । सरकारी दरबन्दीले धान्न नसकेपछि अस्पतालले करिब २८ जना नर्स करारमा राखेको छ । यद्यपि, मापदण्डअनुसार नर्स–बिरामी अनुपात मिलाउन भने ठूलो संख्यामा नर्सिङ जनशक्ति थप्नुपर्ने अवस्था छ । अस्पतालले रिक्त दरबन्दी परिपूर्तिका लागि मन्त्रालयमा विभिन्न समयमा पत्र पठाइरहेको डा. शेरचन बताउँछन् । समयमा रिक्त दरबन्दीमा पदपूर्ति हुन नसक्दा गुणस्तरीय सेवाप्रवाहमा असर परिरहेको उनको भनाइ छ ।

ट्रमामै २४सै घण्टा कार्यरत रहने विशेषज्ञ चिकित्सकहरू नहुनुले पनि ट्रमा सेन्टरले स्थापनाको लक्ष्यअनुसारको सेवाप्रवाह गर्न नसकेको हो । यद्यपि, अस्पतालले भरसक गुणस्तरीय सेवाप्रवाह गरिरहेको डा. शेरचनको दाबी छ । ट्रमा सेन्टरका अतिरिक्त अर्थाेपेडिक विभाग, न्युरोसर्जरी विभाग, प्लास्टिक सर्जरी विभागलगायत सेवाहरूसमेत समाहित भएका कारण पनि ट्रमा सेन्टरको फोकस मूल उद्देश्यमा केन्द्रित नभई अन्यत्र बरालिएको डा. शेरचनको तर्क छ ।

स्तरीय सेवाप्रवाहमा अस्पताल निरन्तर लागिपरे पनि स्तर १ को ट्रमा सेन्टरले दिनुपर्ने सेवा अस्पतालले दिन नसकेको डा. शेरचन स्विकार्छन् । उनका अनुसार अस्पतालमा इमर्जेन्सीकक्ष भए पनि ट्रमा सेन्टरमा हुनुपर्ने रिस्टिसिटिसन रुम छैन । त्यसैगरी, ट्रमामै २४सै घण्टा कार्यरत रहने विशेषज्ञ चिकित्सकहरू नहुनुले पनि ट्रमा सेन्टरले स्थापनाको लक्ष्यअनुसारको सेवाप्रवाह गर्न नसकेको हो । यद्यपि, अस्पतालले भरसक गुणस्तरीय सेवाप्रवाह गरिरहेको डा. शेरचनको दाबी छ । ट्रमा सेन्टरका अतिरिक्त अर्थाेपेडिक विभाग, न्युरोसर्जरी विभाग, प्लास्टिक सर्जरी विभागलगायत सेवाहरूसमेत समाहित भएका कारण पनि ट्रमा सेन्टरको फोकस मूल उद्देश्यमा केन्द्रित नभई अन्यत्र बरालिएको डा. शेरचनको तर्क छ ।

०७२ को भूकम्पपश्चात् वीर अस्पतालको भवनमा क्षति पुगेपछि वीरको अर्थाेपेडिक विभाग ट्रमा सेन्टरमा सारिएको छ । ट्रमाको मात्र नभई जनरल अर्थाेपेडिकका केसहरूसमेत ट्रमामा हेर्दै आइएको छ । ‘वीरको नयाँ भवन निर्माण सम्पन्न भएपश्चात् अर्थाेपेडिक विभाग सारिनेछ, त्यसपछि चोटपटकका विशेष सेवा मात्रै ट्रमा सेन्टरले प्रवाह गरेपश्चात् यसको प्रभावकारिता बढ्नेछ,’ डा.शेरचनको दाबी छ ।

ट्रमा सेन्टरको सेवाप्रवाहलाई प्रभावकारी बनाउन सेन्टरलाई स्तरीकरण गरी सञ्चालन गर्नु आवश्यक रहेको निर्देशक डा. शेरचन बताउँछन् । गम्भीरदेखि सामान्य अवस्थाको ट्रमालाई कसरी सेवा प्रदान गर्न सकिन्छ भनी वर्गीकरण गरी सञ्चालन गर्न सकेको अवस्थामा मात्र ट्रमा सेन्टरको कार्यलाई प्रभावकारी बनाउन सकिने उनको धारणा छ । ‘राष्ट्रिय ट्रमा सेन्टरलाई लेभल १ ट्रमा सेन्टरका रूपमा विस्तार गरी सेवाप्रवाह गरेमा यसको प्रभावकारिता बढ्नेछ,’ निर्देशक शेरचन भन्छन्, ‘अहिले पनि काम नभएका होइनन्, तर लेभल १ ट्रमा सेन्टरले दिनुपर्ने सेवाको स्तरमा काम हुन सकेका छैनन् ।’

नेपाल सरकारले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भनिरहँदा भइरहेका अस्पतालमै ट्रमा सेन्टर स्थापना गर्दा थप प्रभावकारी हुने डा. शेरचनको सुझाब छ । ‘ट्रमाका बिरामीमा अन्य समस्यासमेत रहने हुँदा भइरहेका अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्दा बढी प्रभावकारी हुन्छ,’ उनी भन्छन्, ‘यसरी ट्रमा सेन्टर स्थापना गर्दा लागत कम हुनुका साथै बिरामीले अधिकतम सेवासमेत पाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय