नेपालमा टेस्टट्युब बेबीका डेढ दशक : सेवाप्रदायक बढे, तर लिन सकेन सेवाले गति

हेल्थपोस्ट नेपाल

नेपालमा टेस्टट्युब बेबी सेवाको सुरुवात भएको करिब डेढ दशक बितिसकेको छ । प्राकृति रूपमा सन्तानोत्पादनका सबै प्रयास विफल भएपछि अन्तिम विकल्पका रूपमा अँगालिने यो कृत्रिम प्रक्रिया नेपालमा पहिलोपटक वि.सं. ०६० मा प्रयोगमा ल्याइएको हो ।

टेस्टट्युब बेबी पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गर्ने प्रविधि हो । नेपालका पहिलो टेस्टट्युब बेबी १५ वर्षमा हिँडिरहँदा यो सेवाले भने आशातीत गति लिन नसकेको जानकारहरूको विश्लेषण छ । यद्यपि, केही विज्ञ भने नयाँ–नयाँ सेवाप्रदायक थपिँदै गएकाले टेस्टट्युब बेबी सेवाले गति नलिएको भन्न नमिल्ने तर्क गर्छन् ।

विश्वमा टेस्टट्युब बेबी सेवाको सुरुवात सन् १९७८ मै भए पनि नेपालमा पहिलोपटक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. झोला रिजालले चाबहिलस्थित ओम अस्पतालबाट टेस्टट्युब बेबी सेवाको सुरुवात गरेका थिए । ३ मार्च २००५ मा ओम अस्पतालमा टेस्टट्युब प्रविधिबाट गर्भाधान गराइएकी सन्ध्यास्याङ्बो तामाङले ओममणि तामाङलाई जन्म दिएसँगै नेपालमा यो प्रविधि सफलसिद्ध भएको हो । हाल सरकारी स्वामित्वको परोपकार प्रसूतिगृहमा समेत यो सेवा उपलब्ध छ । प्रसूतिगृहले ९ पुस ०७० मा पहिलोपटक टेस्टट्युब बेबी प्रविधिमा बच्चा जन्माउनमा सफलता हासिल गरेको थियो ।

बच्चा जन्माउन अन्य सबै विकल्प प्रयोग गरिसक्दा पनि सफल नभएमा त्यस्ता दम्पतीले टेस्टट्युब बेबी प्रविधिमार्फत बच्चा जन्माउन सक्छन् । विश्वमा पहिलोपटक बेलायतका पेट्रिक स्टेपो र रबर्ट एडवड्र्सले टेस्टट्युब बेबी प्रविधिको प्रयोग गरेका थिए । २५ जुलाई १९७८ मा उनीहरूले यस प्रविधिमार्फत बच्चा जन्माउनमा सफलता हासिल गरेका थिए । पहिलोपटक टेस्टट्युब प्रविधिबाट जन्मिएका ती बालकको नाम लुइस ब्राउन हो । पछिल्लो समय यो प्रविधि विश्वभर निकै विकसित भइसकेको छ ।

नेपालमा भने डेढ दशकको अभ्यासमा बाँकी विश्वको तुलनामा टेस्टट्युब बेबी प्रविधिको प्रयोग खासै हुन नसकेको चिकित्सकहरू बताउँछन् । यद्यपि, ओम अस्पतालबाट मात्रै वार्षिक करिब ३ सयजनाले टेस्टट्युब बेबी सेवा लिने गरेकोे अस्पतालमा सम्बन्धित विभागमा कार्यरत डा. सबिना श्रेष्ठ बताउँछिन् ।

कत्तिको महँगो छ सेवा ?
नेपालको सन्दर्भमा टेस्टट्युब बेबी सबैको पहँुचमा छैन । यो सेवा लिन चाहनेले डेढ लाखदेखि करिब ३ लाख खर्च गर्नुपर्ने हुन्छ । प्रसूतिगृहमा यो सेवा लिएबापत सामान्य अवस्थामा औषधिखर्चबाहेक १ लाख ६० हजार खर्च लाग्छ । त्यसमा करिब ५० हजारहाराहारीमा औषधिखर्च जोड्दा करिब २ लाख १० हजार लाग्छ । निजी अस्पतालहरूमा औसतमा प्रसूतिगृहको भन्दा करिब ५० हजारजति बढी खर्च लाग्छ । यसरी हेर्दा नेपालमा टेस्टट्युब बेबी प्रविधिमार्फत बच्चा जन्माउन चाहने महिला वा दम्पतीले न्यूनतम २ लाखदेखि ३ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ ।

ग्रामीण क्षेत्रका मानिसको चेतनास्तर तथा आर्थिक अवस्था तुलनात्मक रूपमा कमजोर भएकाले यो प्रविधिले त्यस क्षेत्रका जनतालाई लाभ पुर्याउन सकेको छैन । पहुँच भए पनि यसबारे सही जानकारी अभावका कारण पनि ग्रामीण जनसंख्याले यसको उपयोग गर्न सकिरहेका छैनन् ।

कसले लिन सक्छन् सेवा ?
स्वाभाविक रूपमा बच्चा हुन नसकेका दम्पतीले सन्तानोत्पादनका लागि उपलब्ध सम्पूर्ण स्वास्थ्योपचारका विकल्पहरूको अभ्यास गरिसक्दा पनि गर्भ नरहेमा वा सन्तानोत्पादनको सम्भावना नरहेमा जो–कोहीले टेस्टट्युब बेबी सेवा लिन सक्छन् ।
पाठेघरको संक्रमण तथा यौनजन्य रोगका कारण कतिपय अवस्थामा बच्चा नबस्न सक्छ । यसका अतिरिक्त पुरुषमा शुक्रकीटको कमी हुनु, डिम्बाशयमा अण्डा नबन्नु तथा ३५ वर्ष नाघिसकेपछि विवाह गर्नुजस्ता कारणले पनि बाँझोपनको समस्या आउन सक्छ ।
अझै पनि निम्नवर्गीय मानिसको पहुँचमा यो सेवा हुन नसक्नुका कारण पनि नेपालमा बाँझोपनको समस्या भएका महिलाले पनि यस प्रविधिको उपयोग गर्न पाएका छैनन् । कतिपय महिला भने सन्तानोत्पादनको यो कृत्रिम प्रक्रिया अपनाउन हिच्किच्याउने गर्छन् ।

कहाँ–कहाँ उपलब्ध छ सेवा ?
चाबहिलको ओम अस्पताल, क्रेटआइब्या, ग्रान्डी, बाच्छालय, अल्का, नेपाल सरकारको स्वामित्वमा रहेको प्रसूतिगृहलगायत अस्पतालहरूबाट टेस्टट्युब बेबी सेवा लिन सकिन्छ । त्यसैगरी जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पनि टेस्टट्युब बेबी सेवा विस्तार हुनेक्रममा छ ।

प्रसूतिगृहमा ३–४ महिनादेखि टेस्टट्युब बेबी सेवा अवरुद्ध रहेको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए । महिनाको एकपटक सेवा दिँदै आएको अस्पतालले टेस्टट्युब बेबी सेवालाई कुपन्डोलस्थित अस्पतालको नवनिर्मित भवनमा सार्ने र त्यहाँबाट दैनिक सेवा दिने तयारी गरिरहेको निर्देशक गौतमको भनाइ छ । उनका अनुसार ०७२ को भूकम्पपछि प्रसूतिगृहको टेस्टट्युब बेबी सेवा प्रभावित हुँदै आएको छ । प्रसूतिगृहले टेस्टट्युब बेबी केन्द्रका लागि आवश्यक जनशक्ति परिपूर्तिका लागि छात्रवृत्तिमा एक चिकित्सकलाई विदेश पढ्न पठाएको छ । ती चिकित्सकको अध्ययन अबको करिब ३ महिनामा पूरा हुने र उनी फर्किएपश्चात् टेस्टट्युब बेबी केन्द्रमा योगदान गर्ने अस्पतालले जनाएको छ ।

सुरुमा अस्पतालमा पहिलोपटक ९ जना महिलामा टेस्ट्युब बेबी प्रविधि प्रयोग गरिएकोमा एउटा पनि सफल नभएपछि लामो समयसम्म सेवा नै रोकिएको थियो । सफलतापछि पनि समय–समयमा सेवा अवरुद्ध हुने गरेको छ ।

कसको प्रयोग गरिन्छ शुक्रकीट र डिम्ब ?
टेस्टट्युब बेबी प्रविधिमा पनि विभिन्न तरिका अपनाइन्छन् । अधिकांशमा आफ्नै बच्चा हुने गर्छ । तर, महिनावारीको उमेर कटिसकेका महिलाले भने अरुकै अण्डाबाट बच्चा जन्माउन सक्छन् । त्यसैगरी, डिम्ब नै नबन्ने समस्या भएका कतिपय महिलाले पनि अरुको अण्डा लिएर बच्चा जन्माउन सक्छन् । श्रीमान्मा शुक्रकीटको मात्रा नै छैन अथवा शुक्रकीट बन्ने प्रक्रिया नै बन्द भइसकेको भने त्यस्तो अवस्थामा दाताको शुक्रकीट लिएर टेस्टट्युब बेबी जन्माउन सकिन्छ ।

दाताको शुक्रकीट लिएर बच्चा जन्माउने प्रक्रिया कृत्रिम गर्भाधारणबाटै हुने भएकाले यसका लागि टेस्टट्युब बेबीको प्रक्रियामा जानु आवश्यक छैन । श्रीमान्मा शुक्रकीटको मात्रा एकदमैै कम रहेको अवस्थामा पनि श्रीमान्कै शुक्रकीटबाट बच्चा जन्माउन सकिन्छ । यसमा प्राकृतिक विधिको हात त्यति धेरै हुँदैन ।

प्रक्रियाका हिसाबले पनि टेस्टट्युब बेबी प्रविधिमा गर्भप्रत्यारोपणमा अनेक विधि अपनाउनुपर्ने हुन्छ । त्यसमध्ये सामान्यतया ४८ घण्टे प्रयोगशाला विधि नै बढी प्रयोग गरिने गरेको निर्देशक डा. गौतम बताउँछन् । कसैकसैमा भने एक महिनापछि मात्र गर्भाधान गराउन मिल्ने उनको भनाइ छ । यस विधिमा पुरुषको शुक्रकीट र महिलाको अण्डाबाट टेस्टट्युबको सहायताले प्रयोगशालामा भ्रूण निर्माण गरी महिलाको गर्भमा प्रत्यारोपण गरिन्छ ।

सेवाप्रदायक बढेअनुसार लिन सकेन सेवाले गति
विकसित मुलुकहरूको तुलनामा नेपालजस्ता विकासशील मुलुकमा टेस्टट्युब बेबी प्रविधिको विकास र प्रयोगको गति मन्द देखिन्छ । नेपालमा यस प्रविधि प्रारम्भ भएको डेढ दशकमा सेवाप्रदायक अस्पतालहरूको संख्या बढे पनि त्यसअनुरूप सेवाग्राहीको संख्या बढेको पाइँदैन । यस क्षेत्रमा तालिमप्राप्त जनशक्ति धेरै नहुनाले पनि यसको अभ्यास कम भएको हुन सक्ने डा. सबिनाको तर्क छ । हालसम्म कतिको संख्यामा सन्तान उत्पादन भयो भन्ने वास्तविक तथ्यांक नभए पनि यसले गति भने लिन नसकेको डा. सबिना बताउँछिन् ।

प्रसूतिगृहका निर्देशक डा. गौतम भने नेपालमा टेस्टट्युब बेबीको विकासलाई स्वाभाविक मान्छन् । ‘यदि टेस्टट्युब बेबी प्रविधिको विकास सुस्त भएको भए सेवाप्रदायकहरू थपिने थिएनन्,’ डा. गौतम भन्छन्, ‘महँगो भएकाले सबैको पहुँचमा नभएको हो, गति सुस्त भएको होइन ।’

एकतिर टेस्टट्युब बेबी प्रविधि महँगो भएकाले सामान्य नेपालीको पहुँचमा छैन भने अर्कोतर्फ अझै पनि चेतनाको स्तर र सोचाइमा परिवर्तन आउन नसकेका कारण मानिसमा टेस्टट्युब बेबी आफ्नो रगत होइन भन्ने धारणा व्याप्त छ । आर्थिक पहुँचको अभाव, सन्तानोत्पादनको कृत्रिम प्रक्रियाप्रतिको सोचाइ, कमजोर चेतनास्तर, दक्ष जनशक्तिको अभावलगायतलाई नै विश्लेषकहरू नेपालमा टेस्टट्युब बेबी प्रविधिले व्यापक रूप लिन नसक्नुका कारण मान्छन् ।
जनशक्तिको कुरा गर्दा सुरुसुरुमा टेस्टट्युब बेबी प्रविधिका लागि दक्ष जनशक्तिको निकै अभाव रहे पछिल्लो समय तालिमप्राप्त जनशक्ति बढ्दो क्रममा छ । सुरुसुरुमा जस्तो भारतबाट तालिमप्राप्त जनशक्ति झिकाएर सेवा दिनुपर्ने अवस्था भने अहिले छैन ।

कसरी निम्तिन्छ टेस्टट्युब बेबीको अवस्था ?
कुनै पनि महिलाको पाठेघरको नली बन्द भई निःसन्तान भएका दम्पतीले यस्तो सेवा लिने गर्छन् । पाठेघरको नलीले बच्चालाई धकेल्दै–धकेल्दै पाठेघरमा राख्ने गर्छ । पाठेघरका दुईवटै नली बन्द भएको अवस्थामा बच्चा बस्न सक्दैन । दुवै नली बन्द भएको अवस्थामा चिकित्सकले सानो सियोको सहायताले अण्डा सबै बाहिर निकालिदिने गर्छन् । टेस्टट्युब बेबी प्रविधिमा त्यसरी निकालिएको अण्डा र शुक्रकीट पनि लिएर प्रयोगशालामा लगेर मिसाएर नलीमा हुने काम बाहिर नै गर्ने गरिन्छ । जुन बच्चा पाठेघरमा बन्ने गथ्र्यो, उसलाई प्रयोगशालामै बनाएर सानो एउटा नलीको माध्यमबाट पाठेघरमा हालिदिने गरिन्छ ।

विगतमा नेपाललगायत अन्य अविकसित मुलुकमा क्षयरोगको जोखिम एकदमै बढी थियो । यस्तो रोगले बच्चा बस्ने नलीलाई समेत असर गरिरहेको हुन्थ्यो । करिब २ दशक यस क्षेत्रको कार्य अनुभवका आधारमा १० वर्षपहिले पाठेघरको नली बन्द भएका महिलाहरू उपचारका लागि आउने गरेको अनुभव डा. सबिनासँग छ ।

हाल मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै क्षयरोगका बिरामीको संख्या एकदमै न्यून भइसकेको छ । अहिले भने डिम्ब नै उत्पादन नहुने, हर्माेनमा हुने गडबडी, श्रीमान्मा शुक्रकीटको कमीजस्ता कारणले निःसन्तान भएको बढी पाइन्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *