‘सी डिसाइडस’ दिवस मनाउन २५ देशका २५ वर्षे २५ युवा काठमाडौंमा, यौन तथा प्रजनन स्वास्थ्य प्रमुख एजेन्डा

हेल्थपोस्ट नेपाल

यौन तथा प्रजनन स्वास्थ्यलगायतमा महिला र किशोरी स्वयम्को निर्णय हुनुपर्ने अवधारणामा आधारित महिलाअधिकारसम्बन्धी विश्वव्यापी ‘सी डिसाइडस’ अभियान नेपालमा समेत सुरु हुने भएको छ । विश्वव्यापी अभियान प्रारम्भ भएको दोस्रो वर्ष पूरा भएको अवसर पारेर नेपालमा दिवस मनाउन लागिएको हो ।

अभियानको दोस्रो दिवसका दिन शुक्रबार नेपालमा पनि अभियान सुरु भएको घोषणा गर्न तथा अभियानका पछिल्ला योजना तथा रणनीति तर्जुमा गर्न २५ देशका २५ वर्ष उमेरका २५ किशोरी (च्याम्पियन) काठमाडौंमा भेला भएका छन् । दिवसको दिन शुक्रबार र शनिबार च्याम्पियनहरूले महिला तथा किशोरीको आत्मनिर्णयको अधिकारमाथि छलफलसहित आवश्यक स्रोतको खोजी र नीति–रणनीति परिवर्तनका उपायको खोजी गर्ने अध्यक्ष टिकला इथायले बताइन् । सन् १९९४ मा इजिप्टको कायरोमा सम्पन्न जनसंख्या तथा विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी)को २५ वर्ष पुगेको अवसरमा सबै संयोग २५ पारिएको सी डिसाइडस अभियानले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति ट्रम्प आएसँगै परिवारनियोजन र प्रजनन क्षेत्रमा गर्ने सहयोग बजेट कटौती गरेपछि ‘ग्लोबल ग्याप रुल’को प्रत्युत्तरमा युरोपियन देशहरूको सहयोगमा सन् २०१७ मा सी डिसाइडसको स्थापना गरिएको हो ।

अमेरिकामा राष्ट्रपति ट्रम्प आएसँगै परिवारनियोजन र प्रजनन क्षेत्रमा गर्ने सहयोग बजेट कटौती गरेपछि ‘ग्लोबल ग्याप रुल’को प्रत्युत्तरमा युरोपियन देशहरूको सहयोगमा सन् २०१७ मा सी डिसाइडसको स्थापना गरिएको हो ।

अभियानले खासगरी विनाप्रश्न एउटी महिला वा किशोरीले उनको शरीर, जीवन र भविष्यबारे आफैँ निर्णय गर्न पाउनुपर्छ र गर्न सक्छिन् भन्ने सोचको वकालत गर्छ । बिहीबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा अभियानकी रणनीतिक सल्लाहकार रबिन्सन गोर्नाले संसारमा महिला स्वास्थ्य र प्रजनन अधिकारसँग जोडिएका विषयमा जारी फन्ड ग्यापलाई चिर्नकै लागि अभियान सुरु गरिएको बताइन् ।

सी डिसाइडस अभियानकी अध्यक्ष टिखाला इट्ये स्थापनाको दुई वर्षमै अभियानले विश्वभरका धेरै किशोरी र महिलालाई समेटिसकेको भन्दै विश्वभर छरिएका संघ संस्थालाई एक ठाउँमा ल्याएर विश्वलाई सबैकाका लागि सुरक्षित बनाउने बताइन् ।

सी डिसाइडसकी कार्यकारी प्रमुख सिवाले नेपालले महिला अधिकार, प्रजननस्वास्थ्यलगायत विषयमा गरेको कानुनी तथा नीतिगत व्यवस्थाको प्रशंसा गरिन् । गर्भपतनलाई कानुनी मान्यता, संविधानमै प्रजनन हकको व्यवस्था, यौन अल्पसंख्यक तथा तेस्रोलिंगीका अधिकारका विषयमा महत्वपूर्ण कानुन पास गरेको भन्दै उनले त्यसैकारण अभियानले दिवस मनाउन नेपाल रोजेको बताइन् ।

कार्यक्रममा आइपिपिएफकी प्राविधिक विशेषज्ञ नेहाले महिलाका हरेक विषयमा पुरुषले निर्णय गरिरहेको भन्दै अभियान महिलालाई आफ्नाबारे निर्णय गर्न अवरोध गर्ने सोच, व्यवहार र संस्कार परिवर्तन आवश्यक भएको बताइन् ।

कार्यक्रमको नेपाल आयोजक विवान्ड बेइजिङ कमिटीकी शान्ता श्रेष्ठले यौन तथा प्रजनन अधिकार अन्य अधिकारभन्दा महत्वपूर्ण हुने भन्दै सोसम्बन्धी निर्णय गर्ने अधिकार पूर्ण रूपमा महिलामा हुनुपर्ने बताइन् । उनले यति महत्वपूर्ण अभियानका लागि संसारभरका युवालाई नेपालमा भेला गराएर नेपालले गरेको सुधार प्रयासबारे जानकारी लिन अवसर जुटाइदिएकोमा सी डिसाइडसलाई धन्यवाद दिइन् ।

सी डिसाइडस अभियानलाई हालसम्म १ सय ८३ देशका १ करोड २० लाखभन्दा बढी व्यक्ति तथा संस्थाले सहयोग र स्वीकार गरिसकेको जनाइएको छ ।

काठमाडौं सम्मेलनका सहभागी २५ युवा अभियन्ता आइसिपिडीको कायरो सम्मेलनमा सहभागी प्रतिनिधिमध्ये एकजनाकी नातिनी, आयरल्यान्डको आठौँ गर्भपतन अभियानमा मुख्य भूमिका खेल्ने अभियन्ताहरू, एड्सको अन्त्य तथा परिवारनियोजनका साधनमा सहज पहुँच बनाउन प्रयासरत अभियन्ताबाट खुला प्रतिस्पर्धाका आधार छानिएका हुन् ।

दुई वर्षको अवधिमा सी डिसाइडसले विश्वभरका ३३ घटना अवलोकन गरेको र दक्षिण अफ्रिकाको पेट्रोरिआको महत्वपूर्ण घटनाले सी डिसाइडसका कदमलाई सबै क्षेत्रमा चिनाएको दाबी अभियानको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *