कपिलवस्तुमा १२.५ प्रतिशतमा हात्तीपाइलेको जीवाणु, कसरी बच्ने ?

हेल्थपोस्ट नेपाल

परजीवीबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग उन्मूलनका लागि कपिलवस्तुमा औषधि खुवाउने अभियान सुरु गरिएको छ । २९ फागुनसम्म अभियान सञ्चालन गरिने जनाइएको छ । अभियानका लागि जिल्लामा ५ सय ५० स्वास्थ्यकर्मी र १ हजार १ सय ५ स्वयंसेविका परिचालित भएका छन् ।

कपिलवस्तुमा रगत परीक्षणका क्रममा १२ दशमलव ५ प्रतिशतमा हात्तीपाइलेका जीवाणु भेटिएको स्वास्थ्य कार्यालय, कपिलवस्तुका जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले बताए । उनका अनुसार अभियानका क्रममा कपिलवस्तु जिल्लामा ५ लाख ८१ हजारजनालाई औषधि खुवाइँदै छ । विश्वमा अपांग बनाउने कुष्ठरोगपछि सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगविरुद्ध गत वर्षसमेत औषधि खुवाइएको थियो ।

गत वर्ष कपिलवस्तुमा खुट्टा सुन्निएका २ सय ३९ जनासहित कुल ८ सय ८९ जनामा हात्तीपाइले रोग फेला परेको थियो । कार्यक्रम कार्यान्वयनमा चुनौती भएका कारण अहिलेसम्म पनि नेपालका केही जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्न सकिएको छैन । कपिलवस्तुका साबिक महाराजगन्ज, बहादुर गन्ज र वाणगंगामा हात्तीपाइले प्रभावितको संख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसियाले बताए ।

विशेषगरी, ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा बसोवास गर्ने मानिसमा हात्तीपाइलेविरुद्धको औषधिलाई लिएर परेको भ्रमका कारण पनि ती क्षेत्रमा औषधि सेवन गर्नेको संख्या न्यून छ ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै यसलाई निको पार्न सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । हात्तीपाइले रोग बाहिर नदेखिँदै सर्ने प्रक्रियालाई पूर्णतया रोक्न सकिन्छ । साथै, रोगीलाई अंगभंग हुनबाट जोगाउन औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डा. गंगाराम यादवको भनाइ छ ।

हात्तीपाइले रोगको औषधि २ वर्ष नपुगेका बालबालिका, गर्भवती तथा ७ दिनसम्मका सुत्केरी, छारेरोगी, सिकिस्त बिरामीले खान नहुने जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले बताए ।

के हो हात्तीपाइले ?
हात्तीपाइले (फाइलेरिया) सरुवारोग हो । मसिनो धागो आकारको एकप्रकारको परजीवीबाट यो रोग लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीनप्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने एउटा प्रकारको परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ ।

जोखिममा को–को ?
यो रोग जुनसुकै उमेरका जोसुकैलाई पनि लाग्न सक्छ । लामखुट्टेको टोकाइबाट रोग सर्ने भएकाले केटाकेटी नै बढी जोखिममा हुन्छन् । तर, केटाकेटी अवस्थामा संक्रमण भएको रोगको लक्षण भने जवान (वयष्क) भएपछि मात्र देखिन सक्छ ।

लक्षण
– जाडो महसुस हुनु, ज्वरो आउनु र शरीर कम्पन हुनु ।
– लिम्फनली सुन्निनु, रातो भएर दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, दुख्नु ।
– पुरुषको अण्डकोषवरपरका नसा फुल्नु, दुख्नु ।
– संक्रमणबारे थाहा नभएर समयमा उपचार नहुँदा अण्डकोष ठूलो हुन्छ, दुख्न थाल्छ, गिर्खा भेटिन्छ र अण्डकोषवरिपरि पानी भरिन्छ ।
– महिलामा यौनांग अथवा स्तन सुन्निने, दुख्ने गर्छ ।
– गोडा सुन्निएर हात्तीको पाइलाजस्तो हुन्छ ।
– हात सुन्निन थाल्छ, पिसाब सेतो वा रातो आउँछ ।
– सुक्खा खोकी लागिरहन्छ, दम बढ्छ र रगतमा इयोसिनोफिलको मात्रा बढ्छ ।
– रोगी अशक्त हुँदै जान्छ र दीर्घकालमा अपांगसमेत हुने खतरा रहन्छ ।

कस्तो हुन्छ औषधि ?
हात्तीपाइलेविरुद्ध दुई प्रकारका औषधि खुवाइन्छन् ।
डिइसी चक्की
डिइसी (डाई–इथाइल–कार्बामाजिन) चक्की विश्वमा ६० वर्षअघिदेखि हात्तीपाइले रोगको उपचारार्थ प्रयोगमा आइरहेको औषधि हो ।

अलबेन्डाजोल चक्की
यो पनि २५ वर्षअघिदेखि पेट र आन्द्रामा हुने विभिन्नखालका जुकाका लागि प्रयोगमा आइरहेको औषधि हो ।

कसले नखाने ?
– २ वर्ष नपुगेका केटाकेटी ।
– गर्भवती र ७ दिनसम्मका सुत्केरी ।
– ओछ्यानमा थला परेका अशक्त ।
– क्यान्सर, मुटु, कलेजो, मिर्गाैला, फोक्सोलगायतका दीर्घरोगी ।
– कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिका ।
– छारेरोगका बिरामी ।

अन्य लक्षण/यस्तो पनि
– हात्तीपाइलेको औषधि सेवनपछि कसैलाई सामान्य टाउको दुख्न सक्छ ।
– पेट दुख्ने वा पखाला लाग्ने पनि हुन सक्छ ।
– शरीरमा फाइलेरिया परजीवी भएकालाई औषधिले त्यस्ता परजीवी मार्न थालेपछि ज्वरो आउन सक्छ ।
– टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट फुल्नेजस्ता लक्षण देखिन सक्छन् ।
– यस्ता असर एक–दुई दिनमा स्वतः ठिक हुन्छन् ।
– यी असर देखिनुको अर्थ हुन्छ– शरीरमा परजीवी नष्ट हँुदै छन् ।
– धेरै नै असर निम्तिए चिकित्सकको सल्लाह लिनुपर्छ ।
– खालीपेटमा औषधि खानुहुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *