उपकरण भएर पनि जनशक्ति अभावमा कान्तिको आइसियूसेवा संकुचित, निजीको महँगो शुल्क तिर्न बिरामी बाध्य

सरकारीस्तरमा सञ्चालित मुलुकको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा आइसियूका लागि ५२ बेड छुट्याइएका छन् । सबै बेड आइसियूकक्षका लागि आवश्यक यन्त्र–उपकरणले जडित पनि छन् । तर, अस्पतालले ३८ बेड मार्फत मात्र आइसियूसेवा दिइरहेको छ ।
अस्पतालले बिरामीको माग कम भएका कारण बाँकी बेड सञ्चालनमा नल्याएको होइन । कान्तिको आइसियूमा भर्ना पाउनुलाई भाग्यकै रूपमा लिने गरिएको छ ।

आइसियूमा भर्ना पाउनका लागि नाम लेखाएर हप्तौँसम्म पालो कुर्नुपर्ने बाध्यता बिरामीको छ । कान्तिमा आइसियू नपाएकै कारण दिनहुँ कयौँ अभिभावक कमजोर आर्थिक अवस्थाका बाबजुद पनि आफ्ना बालबालिकाको सघन उपचारका लागि महँगा निजी अस्पताल धाउन बाध्य छन् । आइसियू मिलाइदिनका लागि दिनहुँ अस्पताल प्रशासनले राजनीतिक दबाबसमेत झेल्ने गरेको छ । यति चर्को माग हुँदाहुँदै पनि किन अस्पतालले पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गरिरहेको छैन ?

‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

अस्पतालका निर्देशक डा. गणेश राई जनशक्ति अभावकै कारण पूर्ण क्षमतामा आइसियूसेवा सञ्चालन गर्न नसकेको बताउँछन् । आवश्यक जनशक्ति र साधनस्रोतको कमीका कारण सञ्चालनमा रहेका ३८ बेडको सेवाप्रति पनि स्वयम् निर्देशक डा. राई नै सन्तुष्ट छैनन् । ‘कान्ति बाल अस्पतालले पछिल्लो समय चरम आर्थिक संकट तथा जनशक्ति अभावको सामना गरिरहेको छ,’ निर्देशक डा. राई भन्छन्, ‘जनमानसमा कान्तिमा ५२ बेडको आइसियू छ भन्ने बुझाइ छ, तर हामीले जनशक्ति र साधनस्रोत अभावमा मुस्किलले ३८ बेडमार्फत सेवा दिइरहेका छौँ ।’

आइसियू प्रमुख विभूति कट्टेलका अनुसार सञ्चालनरत ३८ बेडमध्ये एनआइसियू १६, पिआइसियू १२, सिआइसियू ७ तथा आइसोलेसन २ बेड छन् । त्यसमध्ये एनआइसीयूमा महिनादिनभन्दा कम उमेरका बालबालिकालाई उपचारका लागि राखिन्छ । आइसोलेसन बेडमा विशेषप्रकारका बिरामी राख्ने गरिन्छ । पिआइसियूमा ३० दिनभन्दा माथि १५ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार हुन्छ । एसआइसियू १५ वर्षसम्मका सबै प्रकारका बिरामी राख्ने गरिन्छ, जहाँ मुख्यतया सर्जरी गरेका बिरामी राख्ने गरिन्छ । आइसियू आवश्यक भएका तर अन्यप्रकारका आइसियूमा राख्न नमिल्ने बिरामीलाई एनआइसियूमा राखिन्छ ।

कान्तिले पहिलेदेखि नै दिँदै आएको आइसियूसेवालाई पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा सेन्ट्रल आइसियूका रूपमा विकास गरिएको थियो । त्यतिवेलैदेखि ५२ बेडमा आइसियू सञ्चालन गरिएको भनिए पनि जनशक्ति अभावका कारण पूर्ण क्षमतामा आइसियू सञ्चालन गर्न नसकिएको निर्देशक राई बताउँछन् । आइसियू सञ्चालनका लागि उपकरणहरू उपलब्ध भए पनि प्रमुख रूपमा जनशक्ति अभावै कारण पूर्ण क्षमतामा सेवा दिन नसकिएको उनको भनाइ छ । सञ्चालनमा रहेका ३६ बेडका लागि पनि पर्याप्त जनशक्ति उपलब्ध गराउन सकिएको छैन । उपलब्ध उपकरण र जनशक्तिलाई जसोतसो व्यवस्थापन गरी सेवा दिइरहेको आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

सरकारी मापदण्डअनुसार आइसियूमा मेसिनमार्फत उपचार गराइरहेको एक बिरामीको रेखदेखका लागि एकजनै नर्स आवश्यक हुन्छ । त्यसैगरी, मेसिनमा नभएको बिरामीको हकमा २ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ । कान्तिको आइसियूमा एकजना नर्सले ५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । जब कि बालबालिकाको हकमा जनरल वार्डमा पनि १ नर्सले अधिकतम ६ जनासम्म मात्र बिरामी हेर्न मिल्ने प्रावधान छ ।

कान्तिमा सञ्चालनरत एनआइसीयूमा १६ बेडका लागि १६ जना नै नर्सिङ स्टाफ उपलब्ध छन् । उपलब्ध नर्सिङ स्टाफलाई सिफ्ट–सिफ्मा ड्युटी लगाउँदा एक नर्सले मापदण्डभन्दा निकै बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । आइसियूमा बिहानको सिफ्टमा पर्याप्त चिकित्सक उपलब्ध हुने भए पनि २४ घण्टे सेवामा भने एक–दुईजना चिकित्सक मात्र उपलब्ध हुन्छन् । कान्तिको आइसियूमा रेजिडेन्ट चिकित्सक तथा कन्सल्टेन्टहरू खटिने गरेका छन् । एनआइसियू र पिआइसियूका लागि ५–५ जना चिकित्सक खटाइएका छन् । सर्जिकल आइसियूका लागि भने यति नै जना भनेर ड्युटी तोकिएको छैन । अस्पतालमा आइसियूमा मात्र नभई सबै विभागमा जनशक्तिको अभाव रहेको निर्देशक राई बताउँछन् ।

कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ ।

मुलुकको एक मात्रै केन्द्रीय बाल अस्पताल भएकाले कान्तिमा रेफरका केसहरू बढी आउने गरेका छन् । बिरामीको अत्यधिक चापका कारण कान्तिको आइसियूले धान्न सक्ने अवस्था छैन । आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको अवस्थामा भने आइसियूसेवा अपुग भएर बिरामी फर्काउनुपर्ने समस्या न्यूनीकरण गर्न सकिने आइसियू प्रमुख कट्टेल बताउँछिन् ।

बिरामीको आर्थिक अवस्थाअनुसार शुल्क
कान्तिको आइसियूमा बिरामीको आर्थिक अवस्था हेरेर शुल्क लिने गरिएको छ । कान्तिमा भेन्टिलेटरसहितको आइसियू बेडचार्ज २ हजार ५ सय छ, जुन निजी अस्पतालहरूको तुलनामा नगण्य हो । त्यसैगरी, विनाभेन्टिलेटर आइसियूसेवा लिएबापत बिरामीले प्रतिदिन १ हजार २ सय रूपैयाँ तिर्नुपर्छ । त्यसमा पनि बिरामीको आर्थिक अवस्था हेरी छुटको व्यवस्था छ । बिरामीको आर्थिक अवस्थाअनुसार केही प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई आइसियू चाहिने अवस्था आएमा बाहिरबाट रेफर गरिएकालाई भन्दा उपचाररतलाई प्राथमिकता दिने गरिएको छ ।

कान्तिमा मात्र होइन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डअनुसारको जनशक्तिको परिपूर्ति कुनै पनि अस्पतालमा भएको छैन । देश संघीय संरचनामा गएसँगै अन्य क्षेत्रमा जस्तै स्वास्थ्यमा पनि कर्मचारी समायोजनको प्रक्रिया अघि बढेको छ । यद्यपि, समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै चिकित्सक तथा कर्मचारी आन्दोलनमै छन् । नयाँ संगठन संरचनामा पनि मापदण्डअनुसार चिकित्सक तथा कर्मचारीको व्यवस्था हुने संकेत नदेखिनुले स्वास्थ्यक्षेत्रको समस्या समस्याकै रूपमा रहने चिन्ता बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय