बेसारका अनेक लाभ, केही हानि, कस्तोमा अपनाउने सावधानी ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ फागुन १४ गते १६:११

बेसार के हो ?
नेपाली भान्छामा सदियौँदेखि प्रयोग गरिँदै आएको बेसारलाई सुनको टुक्रा अर्थात् इन्डियन स्याफ्रोन पनि भनिन्छ । यो एसिया तथा सेन्ट्रल अमेरिकामा पाइन्छ । सुनौलो, चम्किलो, पहेँलो रङको प्रशोधित बेसार खानामा रङको रूपमा प्रयोग गरिन्छ । भारतमा यसलाई आयुर्वेदिक औषधिका रूपमा विभिन्न उपचारमा प्रयोग गरिन्छ । विशेषगरी बेसारलाई गहिरो दुखाइ तथा सुन्निएको उपचारका लागि प्रयोग गरिन्छ । पश्चिमा देशले पनि बेसारलाई दुखाइविरुद्ध अर्थात् आरामदायी पदार्थका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन गर्दै छन् ।

फाइदा
बेसारले सुन्निने रोगविरुद्ध प्रतिरोधात्मक क्षमताका रूपमा काम गर्छ । आरथ्राइटिस फाउन्डेसनले गरेको धेरै अध्ययनमा बेसारले सुन्निने रोगको औषधि हुने उल्लेख छ । यसले बाथका बिरामीमा हुने जोर्नीको दुखाइ तथा सुन्निएको घटाउँछ । फाउन्डेसनले बाथरोगीलाई ४ सयदेखि ६ सय एमजीको बेसारबाट बनेको क्याप्सुल दिनको ३ पटक खान सुझाब दिएको छ ।

दुखाइबाट मुक्ति दिन्छ
अधिकांश चिकित्सक र अध्ययनले भनेका छन्– बेसारले दुखाइबाट मुक्ति दिलाउँछ । बाथरोगीको घुँडाको दुखाइ कम गर्न यसले ब्रुफिनजस्तै काम गर्छ ।

लिभर फंक्सनमा सुधार ल्याउँछ
बेसारमा एन्टिअक्सिडेन्टको क्षमता हुन्छ, जसले टक्सिनका कारण ड्यामेज हुन लागेको लिभरलाई जोगाउँछ । मधुमेहका रोगी, जसले कडा औषधि लिइरहेका छन्, अन्य बिरामी, जसले लामो समय औषधि खाइरहेका छन्, उनीहरूका लागि बेसार उपयोगी छ ।

क्यान्सरको जोखिम घटाउँछ
अध्ययनबाट पुष्टि भइसकेको छ– बेसारले प्यांक्रियाटिक क्यान्सर, प्रोस्टेड क्यान्सर र मल्टिपल माइलोमाविरुद्ध लड्ने क्षमता प्रदान गर्छ ।

खानामा अरुचि घटाउँछ
बेसारलाई सदियौँदेखि तरकारी पाउडरका रूपमा प्रयोग गरिँदै आएको छ । यसले खानामा स्वादिलोपन थप्छ । साथै, यसले खाना पचाउन भूमिका खेल्छ ।

नकारात्मक असर (बेफाइदा)
बेसारमा पाइने पाचन शक्ति बढाउने तत्वले यदि धेरै मात्रामा यसको सेवन गरेमा पेटमा इरिटेसन पैदा गर्दछ । यसले पेटमा धेरै ग्यास पैदा गर्छ ।

रगतलाई पातलो बनाउँछ
बेसारमा फिल्टर गर्ने क्षमता हुन्छ, जसका कारण रगतलाई पातलो बनाउँछ । बेसारमा कोलेस्टेरोल कम गर्ने तथा उच्च रक्तचाप कम गर्ने गुण हुन्छ, यसले पनि रगत पातलो बनाउँछ । त्यसैले कुनै दुर्घटनामा परेमा अधिक रक्तस्राव हुने सम्भावना बढी हुन्छ ।
बेसारमा पाइने रगतलाई पातलो बनाउने तत्वका कारण गर्भवती महिलालाई ट्रमरिक सप्लिमेन्ट नखान सुझाब दिइन्छ । तर, खानामा थोरै मात्रामा प्रयोग गरिएको बेसारले केही हानि गर्दैन । गर्भवती महिलाले अधिक बेसार प्रयोग गर्नुहुँदैन ।

बच्ने उपाय
यो पुष्टि भइसकेको छ कि खानामा बेसार फाइदाजनक छ । यसले रोगप्रतिरोधी क्षमता बढाउँछ, दुखाइ घटाउँछ, पाचन शक्ति बढाउँछ र अन्य धेरै फाइदा पुर्याउँछ । तर, केही नकारात्मक असरका कारण यो केही व्यक्तिका लागि भने फाइदाजनक नहुन सक्छ । त्यसैले बालबालिका, वृद्धा, गर्भवती महिला, रक्तअल्पता भएका मानिस तथा अत्यन्तै दुब्ला मानिसमा बेसारलाई वैकल्पिक थेरापीका रूपमा प्रयोग गर्नुपूर्व सचेतना अपनाउनुका साथै डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय