वैद्यखानाको निर्देशकमा डा. खरेलको पुनर्बहाली गर्न सरकारलाई सर्वोच्चको आदेश

हेल्थपोस्ट नेपाल

सिंहदरबार वैद्यखानाको प्रबन्धनिर्देशकमा डा. वंशदीप खरेलको पुनर्बहाली भएको छ । सर्वोच्च अदालतले आइतबार खरेललाई प्रबन्धनिर्देशकमा पुनर्बहाली गर्न सरकारका नाममा आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. खरेलको रिटनिवेदनमाथि अन्तिम फैसला गर्दै निवेदनको मागदाबीबमोजिम पुनर्बहालीका लागि सरकारका नाममा आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार मन्त्रालयबाट पत्र प्राप्त भएपछि कार्यालयमा हाजिर हुने डा. खरेलले बताए ।

२० असारमा मन्त्रिपरिषद्ले देशभरका विकास समिति, कोष र बोर्ड खारेज गर्ने निर्णय गरेसँगै सिंहदरबार वैद्यखाना विकास समितिको निर्देशकको जिम्मेवारी सम्हालिरहेका डा. खरेल पदबाट हटाइएका थिए । पछि मन्त्रिपरिषद्ले पुनः विकास समितिहरूलाई केन्द्र सरकारअन्तर्गत सञ्चालन गर्ने निर्णय गरे पनि डा. खरेललाई निर्देशकको जिम्मेवारीमा नफर्काइएपछि उनले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिटनिवेदन दायर गराएका थिए । डा. खरेल २ वर्षअघि प्रबन्धनिर्देशकमा नियुक्त हुँदा पनि उनको नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेका कारण उनले केही समय काम गर्न पाएका थिएनन् । त्यतिवेला अदालतकै आदेशमा काम सुरु गरेका डा. खरेललाई दोस्रोपटक पनि अदालतले नै जिम्मेवारीमा पुर्याएको हो । यसबीचमा वैद्यखानाको निमित्तनिर्देशकको जिम्मेवारी छैटौँ तहका कर्मचारीले सम्हाल्दै आएका थिए ।

सरकारले विनाकुनै पूर्वतयारी एकाएक देशभरका सम्पूर्ण विकास समिति खारेज गरेपछि सिंहदरबार वैद्यखाना विकास समितिको औषधि उत्पादनमा अवरोध आएको छ । सरकारले पूर्वअध्ययनविना अत्यावश्यक सेवामा पर्ने असरको ख्यालै नगरी पहिले देशभरका सम्पूर्ण विकास समिति खारेज गर्ने निर्णय गरिसकेपछि मात्र मन्त्रालयहरूलाई आफूमातहतका निकायमा त्यस्ता समिति अत्यावश्यक भएमा त्यसको विवरण मन्त्रिपरिषद्मा पठाउन भनेको थियो ।

डा. खरेल २ वर्षअघि प्रबन्धनिर्देशकमा नियुक्त हुँदा पनि उनको नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेका कारण उनले केही समय काम गर्न पाएका थिएनन् । त्यतिवेला अदालतकै आदेशमा काम सुरु गरेका डा. खरेललाई दोस्रोपटक पनि अदालतले नै जिम्मेवारीमा पुर्याएको हो ।

खारेजीको लामो समयसम्म वैकल्पिक व्यवस्था नगरिँदा सबै काम समितिको निर्णयबाट हुने कानुनी व्यवस्थाका कारण वैद्यखानाको काम नराम्ररी प्रभावित भएको थियो । कर्मचारीको ड्युटी हाजिर गर्नमै सीमित बन्यो, तर कार्यरत कर्मचारीको सेवा–सुविधामा भने कुनै फरक आएन । पछि, निमित्तनिर्देशकलाई अधिकार दिइए पनि पूर्ववत् औषधि उत्पादनको काम हुन सकिरहेको थिएन । अहिले पनि बजारमा अत्यधिक माग भएका सिलाजितलगायत सिंहदरबारका उत्पादन सर्टेज छन् ।

वैद्यखानाले १ सय १८ भन्दा बढी आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ । सिलाजित अविपत्तिकर चूर्ण, मिनिया, चेवनप्रास, त्रिफला चूर्णलगायत वैद्यखानाका उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्न सफल गुणस्तरीय औषधि हुन् । तर, आमउपभोक्ताको विश्वास जित्न सफल सरकारीस्तरको औषधि उत्पादक कम्पनीको उत्पादन रोकिएपछि उपभोक्ता निजी कम्पनीका कम गुणस्तरका औषधिमा चित्त बुझाउन बाध्य भएको नरदेवी आयुर्वेदिक फर्माका प्रोपाइटर वासुदेव अधिकारी बताउँछन् । ‘वैद्यखानाका उत्पादन खोज्दै दैनिक ठूलो संख्यामा ग्राहक आउने गरेका छन्,’ अधिकारी भन्छन्, ‘सिलाजित, अविपत्तिकर र निमियाको खोजी अत्यधिक हुने गरेको छ । कम्पनीबाटै नआएको जानकारी गराएपछि निजी कम्पनीका औषधि लिएर जाने गरेका छन् ।’

डा. खरेलको पुनर्बहालीसँगै वैद्यखानाको उत्पादनले समेत पूर्ववत् बजारको आवश्यकता पूरा गर्ने कुराको आशा लिइएको छ । आयुर्वेद चिकित्सा क्षेत्रमा २९ वर्ष कामको अनुभव बटुलेका खरेलको छोटो कार्यकालमा अति सुस्त गतिमा रहेको वैद्यखानाको औषधि उत्पादन र विक्रीले गति लिएकाले उनीबाट थप आशा गर्न सकिने विश्लेषकहरू बताउँछन् । डा. खरेल पञ्चमर्क विशेषज्ञ चिकित्सकका रूपमा चिनिन्छन् । उनीसित नरदेवी आयुर्वेद चिकित्सालयमा ५ वर्ष, आयुर्वेद विभागमा २ वर्ष, जिल्ला आयुर्वेद औषाधलय, सिन्धुपालचोकमा ६ वर्ष तथा विभिन्न जिल्ला आयुर्वेद औषाधलय, जनस्वास्थ्य कार्यालयमा गरी १३ वर्ष सेवा गरेको अनुभव छ ।



Leave a Reply

Your email address will not be published.