भरतपुर महानगरले सञ्चालनमा ल्यायो सहरी स्वास्थ्य प्रवर्धन केन्द्र

हेल्थपोस्ट नेपाल

भरतपुर महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको वडा नम्बर ९ मा कार्यालय स्थापना गरी मंगलबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो ।

प्राथमिक उपचारका साथै सम्पूर्ण महानगरपालिकाको स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने उद्देश्यले कार्यालयको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने नीतिअनुरूप कार्यालयको स्थापना गरिएको महानगरपालिका प्रमुख रेणु दाहालले बताइन् ।

केन्द्रले बहिरंग सेवा, मातृशिशु परामर्श सेवा, नसर्ने रोगको उपचार तथा परामर्श, महामारी तथा विपद्व्यवस्थापन सेवासम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिकाले ‘एक वडा, एक स्वास्थ्यचौकी’ विकास गर्ने योजनासमेत बनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले केन्द्रबाट सम्बन्धित भेगका सबै समुदायलाई अधिकतम सेवा लिन आग्रह गरे । महानगरपालिकाले पहिलोपटक सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सुरु गरेको हो । केन्द्रले सर्ने तथा नसर्ने रोगहरूको निःशुल्क उपचार र परामर्श प्रदान गर्ने बताइएको छ ।

केन्द्रले बहिरंग सेवा, मातृशिशु परामर्श सेवा, नसर्ने रोगको उपचार तथा परामर्श, महामारी तथा विपद्व्यवस्थापन सेवासम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने महानगरले जनाएको छ । यस्तै, केन्द्रमा प्रयोगशाला सेवा, आयुर्वेदिक औषधालय र बर्थिङ सेन्टरको सेवासमेत उपलब्ध हुने बताइएको छ । महानगरले सेवाप्रवाहका लागि केन्द्रमा एक चिकित्सकसहित १० जना कर्मचारीको व्यवस्था गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *