स्वास्थ्यको अधिकार स्थानीय सरकारलाई दिने कुरा प्रचार मात्र

सुनील प्रजापति, मेयर, भक्तपुर नगरपालिका
प्रकाशित
२०७५ फागुन ९ गते १४:१८

भक्तपुर नगरपालिकाअन्तर्गत ३ वटा जनस्वास्थ्यकेन्द्र सञ्चालनमा छन् । यसबाट दैनिक ३ सयभन्दा बढी बिरामीले उपचार सेवा पाउने गरेका छन् । यी केन्द्रहरूमा १६ जना विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । तीनैवटा केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध छ । एमबिबिएस डाक्टरसमेत गरी नगरपालिकाभित्र ३० जना डाक्टरले सेवा दिइरहेका छन् ।

नगरपालिकाका प्रत्येक वडामा घर–घरमा नर्सिङ सेवासमेत उपलब्ध गराइरहेका छौँ । यसमा इमर्जेन्सी सेवासमेत समावेश छ । यहाँ जम्मा १६ जना नर्स कार्यरत छन् । यसरी नै स्वास्थ्यको एउटा टोलीले नगरपालिकाभित्रका जनताको स्वास्थ्यसेवाका लागि काम गरिरहेको छ । घर–घरमा उपलब्ध नर्सिङ सेवामा नर्सहरूले स्वास्थ्यस्थिति हेरेर स्वास्थ्यचेतना दिने, बिरामी रेफर गर्ने, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सेवा दिनेजस्ता स्वास्थ्य कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ । समग्रमा भक्तपुर नगरपालिकाले स्वास्थ्यक्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ भन्ने लाग्छ ।

भक्तपुर नगरपालिकाले २५ शय्याको ख्वप अस्पताल निर्माणका लागि भवन निर्माणको स्वीकृति पाइसकेको छ । हाल २५ शय्या भनिए पनि उक्त अस्पताललाई सय शय्यासम्म विस्तार गर्न सकिनेछ । नगरपालिकाकै लगानीमा ४० करोडको कुल बजेटमा उक्त अस्पताल बन्न लागेको हो ।

नगरपालिकाले महिनामा दुईपटक नगरवासीलाई आयुर्वेद सेवा प्रदान गरिरहेको छ । प्रत्येक १५ दिनको फरकमा आयुर्वेदिक पद्धतिबाट गरिने चेकजाँचका क्रममा निःशुल्क औषधिसमेत वितरण गर्ने गरिएको छ । समग्रमा भन्नुपर्दा नगरपालिकाले सम्भव भएसम्मका स्वास्थ्यसेवा र सुविधा नगरवासीलाई पुर्याउँदै आएको छ ।

जनचेतनाका लागि नगरपालिकाभित्रका विद्यालयहरूमा नगरले विभिन्न प्रकारका स्वास्थ्य चेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले हरेक महिना तीनवटासम्म स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन नै गर्दै आएको छ । स्वास्थ्यक्षेत्रका समस्यालाई मासिक रूपमा अनुसन्धान गरी नगरपालिकाले त्यसको निराकरण गर्ने प्रयास गरेको छ ।

स्वास्थ्यमा बजेट
नगरपालिकाको कुल बजेट १ अर्ब ७४ करोड ४० लाख हो । त्यसमध्ये स्वास्थ्यक्षेत्रमा ७ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । स्वास्थ्यक्षेत्रका लागि यो बजेट पर्याप्त भने होइन । यदि पर्याप्त बजेट विनियोजन गर्न सकिएको भए स्वास्थ्यक्षेत्रमा अझ प्रभावकारी योजना बन्नेथियो । क्युबाले आफ्ना नागरिकलाई एकदमै प्रभावकारी स्वास्थ्यसेवा दिने गरेको छ । त्यहाँ १ सय ५० जना बिरामीबराबर एकजना डाक्टर छन् । नेपालमा भने ४–५ हजार बिरामीबराबर १ डाक्टर पर्न आउँछ । त्यो पनि सबै डाक्टर सहरकेन्द्रित छन् । त्यसैले प्रभावकारी स्वास्थ्य सुविधाका लागि स्वास्थ्यको सम्पूर्ण अधिकार नगरस्तरलाई नै दिनुपर्छ भन्ने मलाई लाग्छ ।

नगरका प्रमुख स्वास्थ्य समस्या
भक्तपुर नगरपालिकाको मुख्य स्वास्थ्य समस्या भनेको पहिलेभन्दा फरकखाले रोगहरू देखापरिरहेका छन् । पहिले सर्ने रोगहरूको प्रकोप नगरपालिकामा धेरै देखिएको थियो भने अहिले नसर्ने रोगहरूको प्रकोप देखापर्दै छन् । जस्तै, क्यान्सर, ब्लड प्रेसर, सुगरजस्ता रोगको समस्या बढी देखिएका छन् । नसर्ने रोगहरू बढ्दै गएका कारण हामीले हाम्रा ३ वटै जनस्वास्थ्यकेन्द्रमा प्रतिव्यक्ति ४० रूपैयाँका दरले ग्लुकोमिटर अर्थात् चिनीरोग परीक्षण गर्ने काम सुरु गरिसकेका छौँ ।

नगरपालिकाले मस्तिष्काघात भएका, मिर्गौला फेल भएका, क्यान्सरका बिरामीलाई आर्थिक सहायतास्वरूप १० हजार रूपैयाँ दिने गरेको छ । मस्तिष्काघात, क्यान्सर, मिर्गौला तथा अन्य दीर्घरोगका बिरामीलाई अलिकति भए पनि राहत दिन नगरपालिकाले यस्तो कार्यक्रमको सुरुवात गरेको हो ।

स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीका सेवा कम अावश्यक
नगरपालिकाभित्रका स्वास्थ्यचौकीबाट सबै प्रकारका आधारभूत सेवा प्रदान गरिएको छ । यसका अतिरिक्त नगरपालिकाभित्र भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रलगायत ठूला अस्पताल पनि छन् । नर्सिङ सेवाजस्तै चिकित्सकीय सेवासमेत घर–घरमा पुर्याउनका लागि विभिन्न छलफल भइरहेका छन् । त्यसकारण स्वास्थ्यचौकीबाट दिइने सेवाले भक्तपुर नगरपालिकामा त्यति ठूलो महत्व राख्दैन जस्तो लाग्छ ।

महिला स्वास्थ्यमा नगरको प्रयास
नगरपालिकाले गएको कात्तिक मसान्तभित्र नगरपालिकाका सबै वडामा महिलाको पाठेघरसम्बन्धी रोगको परीक्षण र उपचारका लागि शिविर सञ्चालन गरेको थियो । त्यसबाट प्राप्त रिपोर्टका आधारमा नगरपालिकाको कुनै वडामा त्यस्ता महिलाको संख्या अलिकति बढी देखापरेका र तत्कालै शल्यक्रिया गर्नुपर्ने, क्यान्सरको सम्भावना देखिएका महिलालाई उपचारका लागि नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालसँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाले विभिन्न रोग लागेका नगरवासीको पहिचान गर्ने अभियान नै सञ्चालन गर्ने गरेको छ । त्यसबाट प्राप्त नतिजाअनुसार नगरपालिकाले स्वास्थ्यक्षेत्रमा अन्य कार्यक्रम सञ्चालन गर्नेछ ।

स्वास्थ्यको अधिकार स्थानीयलाई दिने कुरा प्रचार मात्र
सरकारले स्वास्थ्यक्षेत्रको जिम्मा स्थानीय तहलाई हस्तान्तरण गर्ने काम प्रचारात्मक भएको छ । जुन हिसाबले स्थानीय तहलाई स्वास्थ्यक्षेत्रको अधिकार दिइनुपथ्र्याे, त्यो गर्न सकेको छैन । सबै अधिकार दिइसकेको भनिएपछि औषधि पठाउने काममा पनि सरकारले सहजता दिन सक्नुपथ्र्याे । स्थानीय तहलाई दिइयो भनेर हल्ला मात्र गरेर हुन्न, त्यसका लागि बजेट पनि विनियोजन गर्नुपर्छ ।

हालको स्थानीय तहमा कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकासमेतको व्यवस्था भएकाले केन्द्र सरकारले स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई नै दिने हो भने अवश्य पनि स्वास्थ्यक्षेत्रमा पनि सुधारचाहिँ आउँछ भन्ने विश्वास छ ।
सरकारले स्वास्थ्यक्षेत्रमा आवश्यक मात्रामा बजेट उपलब्ध गराउने, अस्पताल बनाउन बजेट दिने, स्वास्थ्यचौकीका लागि डाक्टर उपलब्ध गराउनेजस्ता काम गरेमा स्वास्थ्य सेवाप्रवाहमा प्रभावकारिता आउँछ । सरकारले स्वास्थ्यसंस्थामा डाक्टर उपलब्ध गराइदिन सकेमा स्वास्थ्यसेवा प्रभावकारी बनाउन सकिन्छ । अहिले पनि कतिपय ठाउँमा त पियनले नै स्वास्थ्यसंस्थामा औषधि वितरण गरिरहेको अवस्था छ ।
नेपालमा २० देखि २३ हजारसम्म डाक्टर छन् भन्ने तथ्यांकले बताएको छ । त्यसमध्ये पनि ५ हजार विदेशमा भएको बताइन्छ । ४–५ हजार बेरोजगार छन् भन्ने पनि आएको छ । कतिपय डाक्टर केन्द्रमा मात्रै सीमित भई दुर्गममा जान मानेनन् भन्ने समाचारहरू पनि आइरहेका छन् । दुर्गम क्षेत्रमा पनि डाक्टर जाने वातारण बनाउने काम सरकारको हो ।

बढ्दो प्रदूषण प्रमुख स्वास्थ्य चुनौती
नगरवासी स्वस्थ हुनु भनेको सिंगै नगर नै स्वस्थ हुनु हो । स्वस्थ हुनका लागि सरसफाइ अत्यावश्यक मानिन्छ । धुवाँ, धुलोलगायत बाहिरी वातावरणले नगरवासीको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ । त्यसैले धुवाँ–धुलो फाल्ने उद्योगलाई व्यवस्थित गराउनु आवश्यक छ । नगरपालिकाभित्रका त्यस्ता उद्योगलाई व्यवस्थित बनाउन हामी छलफल गरिरहेका छौँ । उद्योगहरूबाट निस्किने धुवाँलाई व्यवस्थित गर्न चिम्नीलाई माथि राख्न नगरपालिकाले कतिपय उद्योगलाई आग्रह गरेको छ । विद्यमान प्रदूषणलाई ५० देखि ६० प्रतिशतसम्म कम गर्न सक्ने उपकरणहरू प्रयोग गर्नु आवश्यक छ ।

(मेयर प्रजापतिसित हेल्थपोस्टकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय