भयावह बन्दै विषादी प्रयोग, प्रतिदिन ७ सयको लिन्छ ज्यान

‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नारासहित ६ फागुनदेखि विषादी प्रयोगमुक्त सप्ताह मनाइराखिएको छ । १२ फागुनसम्म चल्ने विषदीमुक्त सप्ताह कृषि तथा पशुपक्षी विकास मन्त्रायलको प्लान्ट क्वारेन्टी एवम् विषादी व्यवस्थापन केन्द्रले घोषणा गरेको हो ।
केन्द्रले उपत्यकालगायत देशका विभिन्न भागमा विविध चेतनामूलक कार्यक्रम गरी विषदीमुक्त सप्ताह मनाइरहेको छ । जसअन्तर्गत प्रभातफेरी, सडक नाटक प्रदर्शन, नेपाल टेलिभिजन र रेडियो नेपालको कृषि कार्यक्रममा सप्ताहभर विषादीसम्बन्धी चर्चा, एफएमबाट सूचना प्रवाहलगायत छन् ।

वार्षिक ७५ करोडको ६३५ टन विषदी आयात
केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ । यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । उक्त आर्थिक वर्षमा विषादीका लागि करिब ७५ करोड रूपैयाँ खर्च भएको देखिन्छ ।
नेपालमा सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्र्याइएको विषादी कृषि उत्पादनका लागि प्रयोग हुन थालेपछि यसको मात्रा प्रतिवर्ष बढ्दै गएको पाइन्छ । अन्य देशको तुलनामा नेपालमा प्रतिहेक्टर जमिन विषादीको प्रयोग निकै कम, अर्थात् ३ सय ९६ ग्राम खास विष रहे पनि करिब ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीबालीमा आधारित सघन खेती प्रणाली भएका स्थानमा प्रयोग हुने गरेको पाइएको छ । तरकारीबालीमा १ हजार ६ सय ५ ग्राम खास विष प्रतिहेक्टर विषादीको प्रयोग भइरहको पाइन्छ ।

नेपालमा विषादीको प्रयोगमा देखिएका समस्या
नेपालमा विषादीको प्रयोगमा ज्ञानअभाव, हेलचेक्य्राइँ, कडा कानुनको अभाव, कानुन कार्यान्वयनमा आउन नसक्नुलगायत कारण विभिन्न समस्या देखिएका छन् । नियमनको अभाव, चुस्त नियामक निकायको कमी र नियमनकारी निकायहरूको उदासीनताका कारण विषादीको अवैध प्रयोगले प्रश्रय पाउँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।
विषदी प्रयोगका समस्यामा पाक्ने अवधि ख्याल नगर्ने, बालीकटानी समयमा विषादीको प्रयोग गर्ने, विक्रीभन्दा ठिक अघि विषादीमा डुबाउने, विषादीको मात्रा बढाएर छर्ने, रोग कीराको पहिचानविना विषादी छर्ने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तुमा तथा स्थानमा प्रयोग गर्ने प्रचलन छ । त्यसैगरी, कृषिकार्यबाहेक अन्य उद्देश्यमा विषदीको प्रयोग, दर्ता नगरिएका विषादीको लुकी–छिपी विक्री–वितरण तथा प्रयोग, खाद्य सामग्रीको पसलमा विषादी पनि विक्री–वितरण, प्रतिबन्धित विषादीको लुकि–छिपी प्रयोग, विषादीको प्याकेट खोली पुनः प्याकेजिङ र विक्री, विनालेबलका विषादीको प्रयोग, म्याद नाघेका विषादीको प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग अभावलगायत समस्या विषदी प्रयोगमा देखिएका छन् ।

नेपालमा ६ सय ३५ टन खास विष–विषादी आयात भएको देखिन्छ । यसमध्ये कीटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन छन् । उक्त आर्थिक वर्षमा विषादीका लागि करिब ७५ करोड रूपैयाँ खर्च भएको देखिन्छ ।

नेपाल सन् २०१३ देखि सहभागी
सन् १९८४ का भारतको भोपालमा विषादी चुहावटका कारण पुगेको असरले २० हजार मनिसको ज्यान गएको थियो भने ५ लाखभन्दा बढी घाइते भएका थिए । त्यसै घटनालाई स्मरण गर्दै सन् १९९८ देखि पिएएनले ३ डिसम्बरलाई विषादी प्रयोगमुक्त दिनका रूपमा विश्वव्यापीरूपमा मनाउँदै आएको छ । विषादी प्रयोगका असरबारे अभियानका रूपमा सचेत गराउन सन् २०१० देखि सप्ताहव्यापी रूपमा विषदीमुक्त अभियानको थालनी गरिएको हो । यसमा नेपाल सन् २०१३ देखि सहभागी हुँदै आएको छ ।

नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट नेपाल विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय बाली संरक्षण महासन्धि र एसिया प्रशान्त क्षेत्रीय बाली संरक्षण आयोगको सदस्य, स्टकहाम, रोटरडम तथा वासल महासन्धि पक्षधर भएबाट पनि मानव स्वास्थ र वातावरण सुरक्षाका लागि विभिन्न पहल र कार्य हुँदै आएका छन् । घातक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने, ऐन–नियमावलीहरू परिमार्जन र कडाइका साथ लागू गर्ने, आइपिएम कार्यक्रमलाई बढावा दिने, विषादीका विकल्पहरूलाई प्राथमिकता दिने, सञ्चारमाध्यमहरूबाट विषादीका असरबारे जानकारी दिने, विषादीको सुरक्षित प्रयोग विधिलगायत विभिन्न कार्यक्रम पनि सञ्चालनमा ल्याएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार रासायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरणअनुकूल जैविक विषादी उत्पादन एवम् प्रयोगका लागि नेपालका ७ जिल्लामा सामुदायिक आइपिएम स्रोतकेन्द्र स्थापना गरी कृषकस्तरमै जैविक तथा वानस्पतिक विषादीको उत्पादन र प्रयोग कार्य भइरहेको छ भने आमउपभोक्तामा विषादीयुक्त तरकारी एवम् फलफूल सेवनबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ कालिमाटीलगायत देशका अन्य ६ स्थानमा विषादी अवशेष दु्रत विश्लेषण एकाइ स्थापना गरी अनुगमन कार्य भइरहेको छ । स्थापनाकालमा विषादीको अवशेष तरकारी र फलफूलमा तोकिएभन्दा बढी देखिए पनि हालसम्म आइपुग्दा न्यूनीकरण भई नगण्यजस्तै भएको केन्द्रको दाबी छ । यसबाट आमउपभोक्ता एवम् कृषकमा जनचेतना पुग्नुका साथै विषादी न्यूनीकरणमा ठूलो योगदान पुगेको केन्द्रको बुझाइ छ ।

कृषि क्षेत्रको विविधीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गरी गरिबीनिवारणको राष्ट्रिय लक्ष्य हासिल गर्न मूलतः कृषि उत्पादन र उत्पादकत्वको वृद्धि अनिवार्य छ । बढ्दो जनसंख्याका लागि खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धिका साथै कृषि व्यापार वृद्धि आवश्यक रहेको अवस्थामा विषादीको प्रयोग आवश्यक छ । यस परिपे्रक्ष्यमा विभिन्न बाली–नालीमा बर्सेनि नोक्सान पुर्याउने शत्रुजीवहरू कीरा, रोग, झारपात, मुसा, चरा आदिबाट बालीको कटानीअघि र पछि भण्डारणसम्म २०–३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्नु पनि उत्पादन वृद्धि गर्नुसरह नै हो ।

विषदीका असर
विषादीहरू रासायनिक पदार्थहरू हुन्, जसलाई रोग, कीरा, सूक्ष्म जीवाणु, झारपात, मुसा आदि मार्न, कृषिकार्यमा तथा अन्य स्थानमा प्रयोग गर्ने गरिन्छ । विषादी मानव शरीरमा श्वास–प्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्ने गर्छ । विषादीले कारोबारमा संलग्न व्यक्ति, प्रयोगकर्ता (कृषक तथा अन्य), कृषि उपज, उपभोक्तालगायत सबैलाई नराम्रो प्रभाव पारिरहेको छ । महिला र केटाकेटीमा यसको प्रभाव बढी हुने गर्छ । विषादीका कारणले मानवमा तत्काल देखिने असरहरूमा मूच्र्छा, झाडा–पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म हुन सक्छ । त्यसैगरी, दीर्घकालीन असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, पक्षघातजस्ता नसासम्बन्धी समस्या विषदीका कारण निम्तिने गर्छन् । १ सय २३ भन्दा बढी विषादीले अन्तःस्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ । अन्तःस्राव प्रणालीले शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रिया, प्रजनन, शरीरको वृद्धि र विकासका साथै अन्य महत्वपूर्ण कार्यलाई अधीनमा राखी मानव स्वास्थ्यको हितमा कार्य गरिराखेको हुन्छ । यस्ता विषादीको थोरै मात्रामा पनि बारम्बारको सम्पर्कले यस प्रणालीलाई असर पुर्याउँछ । अन्तःस्राव नाश गर्ने रसायन सालनालबाट पनि वारपार गर्न सक्छ । यी रसायनहरू भ्रूण तथा बच्चा जन्मेपश्चात्का अवस्थामा सम्पर्क भएमा रोगसँग लड्ने क्षमताको ह्रास वयष्क अवस्थासम्म कायम रहन्छ । साथै, यी रसायनहरूको कुप्रभाव सन्ततीहरूमा पनि देखापर्न सक्छन् । प्रायः विषादीको शरीरमा ग्रहण गर्न तथा सञ्चय गर्ने सम्भावना बालबालिकामा बढी हुन्छ । बालबालिकाका विकासशील अंगहरू यस्ता विषलाई पूर्ण रूपमा तटस्थीकरण वा हटाउन असमर्थ हुन्छन् । साथै, बालबालिकाको जीवनकाल लामो हुने हुनाले पछिल्ला अवस्थामा दीर्घकालीन रोगहरू ल्याउँछ ।

दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधारमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । कृषकलाई विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीका वैकल्पिक प्रविधिसम्बन्धी ज्ञान दिन जरुरी देखिन्छ ।

संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै, कुनै न कुनै रूपमा असर गरेको अनुमान गरिएको छ । विश्वमा विषादीकै कारणल वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्य हुने गरेको बताइन्छ । एक अध्ययनका अनुसार प्रतिदिन ७ सयजना व्यक्तिको मृत्यु कुनै न कुनै रूपमा विषादीसँग सम्बन्धित रहेको पाइएको छ । त्यसैगरी, आत्महत्याका घटनामध्ये ३१ प्रतिशत विषादीसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ ।

खतरनाक विषादीहरू मानव स्वास्थ्य र वातावरणका लागि चुनौतीका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार विकासोन्मुख देशहरूमा खतरनाक विषादीलगायतका रसायनको उत्पादन र प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी बढिरहको छ । प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नभन्दा मानव, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा समाविष्ट भएको देखिन्छ । जसले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या देखापर्दै आएको छ । खेतबारीमा प्रयोग गरिएका विषादीले मौरीको संख्यामा कमी ल्याउन प्रमुख भूमिका खेलेको प्रमाणित भइसकेको छ । जसका कारण बाली–बिरुवामा हुने परागसेचन प्रक्रियामा कमी आई कृषि उत्पादनमा ह्रास आउँछ । विषादीको व्यापक प्रयोगले विषादीका अवशेष माटो तथा पानीमा बढेर गएको छ । ओजनतहको विनाशमा विषादीको भार ६ प्रतिशत रहको तथ्यांहरूले देखाएका छन् ।

एसिया महादेशका बहुसंख्यक कृषक विषादीको प्रकार, विषको स्तर, सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य र वातावरणमा विषादीको नकारात्मक असरबारे अनभिज्ञ रहेका कारण विषादीसँग बढी सम्पर्कमा आउने र सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुपर्ने साधनको प्रयोग गर्न नसक्नाले उनीहरूमा बढी असर परेको पाइएको छ ।

सम्भाव्य समाधान
स्वस्थ कृषि पर्यावरणमा खतरनाक विषादी हटाई कृषि उत्पादन गर्न र वातावरणलाई सुरक्षित राख्नु आजको आवश्यकता र चुनौती भएको विज्ञहरु बताउँछन् । विषादीको न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका साथै विषादीबाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न व्यवस्थापन विधि, जनचेतनामूलक कार्यक्रम सञ्चालन, ऐन–नियम कार्यान्वयन पक्ष सुदृढ गराउन बोटबिरुवाका शत्रुजीवहरूका विवेकपूर्ण व्यवस्थापन कार्यमा अघि बढ्न जरुरी रहेको उनीहरुको भनाइ छ ।
दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधारमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । कृषकलाई विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीका वैकल्पिक प्रविधिसम्बन्धी ज्ञान दिन जरुरी देखिन्छ । ऐन–नियम, नीति, निर्देशिका तयार गर्नेदेखि लिएर मापदण्ड निर्धारण गर्ने तथा सम्बन्धित पक्षलाई सोको दायराभित्र ल्याउन, सुपरीवेक्षण गर्न पनि उत्तिकै आवश्यक र चुनौतीपूर्ण पनि छ । साथै, अत्यन्त खतरनाक विषादीहरू बेचबिखन तथा प्रयोगमा प्रतिबन्ध गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय