नेपालमा हुर्किन नसकेको बाल सघन उपचारकक्ष (पिआइसियू) : आवश्यकता र चुनौती

बाल सघन उपचारकक्षको इतिहास
वयष्क सघन उपचारकक्षको विकास सन् १९२०–१९५० को पोलियोको महामारीको उपचारका क्रममा भएको थियो । वयष्क सघन उपचारकक्षको ज्ञानलाई उपयोग गर्दै निमोनिया संक्रमित बालबालिकाको उपचार गर्न सन् १९५५ मा स्विडेनमा पहिलो बालसघन उपचारकक्ष (पिआइसियू)को विकास गरियो । त्यसको केही दशकपछि पिआइसियूको स्थापना विकसित देशहरूमा पनि क्रमिक रूपमा भयो । हाम्रो छिमेकी भारतमै विश्वस्तरीय पिआइसियूको विकास भइसक्दा पनि नेपालमा भने पिआइसियू प्रारम्भिक चरणमै छ ।

के हो, बाल सघन उपचारकक्ष (पिआइसियू)
सघन उपचारकक्ष भन्नाले सिकिस्त बिरामी वा सिकिस्त हुन सक्ने बिरामी (जसलाई विशेष उपचार र निगरानीको आवश्यकता पर्दछ)लाई राखेर उपचार गर्ने कक्ष बुझिन्छ । जन्मेको २८ दिनपश्चात् १६ वर्षसम्म (कुनै अस्पतालमा २१ वर्षसम्म)का त्यस्ता बिरामीलाई बाल सघन उपचारकक्षमा राखेर उपचार गरिन्छ ।
सन् २०१६ को तथ्यांकअनुसार नेपालको नवजात शिशु र ५ वर्षमुनिका बालबालिको मुत्युदर प्रति १० हजार जीवित जन्ममा क्रमशः २१ र ३४ दशमलव ५ छ । विगत केही वर्षको तुलनामा यो कम भए पनि अन्य विकसित राष्ट्रको तुलनामा निकै बढी हो । २८ दिनसम्मको नवजात शिशुको उपचारमा केन्द्रित रही नेपाल सरकारले विभिन्न अस्पतामा नवजात शिशु व्यवस्थापन केन्द्रहरू (एसएनसियू, एनआइसियू) व्यवस्था गरे पनि सिकिस्त बालबालिकालाई राखी उपचार गर्ने बाल सघन उपचारकक्षको स्थापना सरकारी अस्पतालमा केन्द्रीय बाल अस्पतालबाहेक अन्य अस्पतालमा हुन सकेको छैन ।

चुस्त आकस्मिक उपचारकक्ष टिम, बिरामीको वर्गीकरण र सघन उपचारकक्ष टिमको अनुपलब्धताले अस्पतालमा पुगेपश्चात् हुने ढिलाइले गर्दा हुने मुत्यु धेरै हदसम्म कम गर्न सकिन्छ । कम विकसित मुलुकमा यी तिनै किसिमका ढिलाइ हुनुका साथै आकस्मिक कक्ष र सधन उपचारकक्षको टिमको चुस्त व्यवस्थापन नहुनाले मुत्युदर भइरहेको छ ।

बाल सघन उपचारकक्ष (पिआइसियू)को आवश्यकता
कुनै पनि बिरामीको मृत्युको रोकथाम गर्न सकिने कारणहरूको विश्लेषण गर्ने हो भने निर्णयमा ढिलाइ, अस्पताल पुग्नमा ढिलाइ र अस्पताल पुगेपश्चात् उपचारमा ढिलाइ गरी तीन प्रमुख कारणमा विभाजित गर्न सकिन्छ । चुस्त आकस्मिक उपचारकक्ष टिम, बिरामीको वर्गीकरण र सघन उपचारकक्ष टिमको उपलब्धताले अस्पतालमा पुगेपश्चात् हुने ढिलाइले गर्दा हुने मुत्यु धेरै हदसम्म कम गर्न सकिन्छ । कम विकसित मुलुकमा यी तिनै किसिमका ढिलाइ हुनुका साथै आकस्मिक कक्ष र सधन उपचारकक्षको टिमको चुस्त व्यवस्थापन नहुनाले मुत्युदर भइरहेको छ ।

कस्ता बिरामीका लागि पिआइसियू ?
सिकिस्त बालबालिका वा चाँडै नै सिकिस्त हुन सक्ने बालबालिका, जसलाई निरन्तर निगरानी र विशेष उपचार आवश्यक हुन्छ, उनीहरूलाई पिआइसियूमा राखेर उपचार गरिन्छ । जस्तै,
१. श्वास–प्रश्वासमा समस्या भएका बिरामी, जसलाई कृत्रिम श्वास–प्रश्वास मेसिनको आवश्यकता पर्छ, जस्तै, निमोनिया, दम आदि ।
२. कडा संक्रमणका बिरामी ।
३. मुटुमा समस्या भएका बिरामी ।
४. कडा छारे रोगका बिरामी ।
५. विष सेवन गरेका बिरामी ।
६. सर्पदंशका बिरामी ।
७. विभिन्न अंगको समस्या भएका बिरामी ।

पिआइसियूको वर्गीकरण
सुविधा तथा जनशक्तिका आधारमा पिआइसियूलाई ४ तहमा वर्गीकरण गरिएको छ–
तह १ : यसमा निरन्तर निगरानीमा राख्नुपर्ने बिरामी राखिन्छ । यसमा एकजना नर्सले २ जनासम्म बिरामी हेर्ने गर्छन् ।
तह २ र ३ : यसमा श्वास–प्रश्वास र अन्य अंगका काम सुचारु गर्नका लागि सहायता आवश्यक भएका बिरामीहरू राखिन्छन् । तेस्रो तहमा अझ बढी सकिस्त बिरामी राखिन्छ, जसलाई विशेष उपचार र उच्च तहको कृत्रिम श्वास–प्रश्वासको सहयोग चाहिन्छ । यहाँ एक नर्सले एक बिरामी हेर्ने गर्छन् ।
तह ४ : श्वास–प्रश्वास र मुटुका लागि अति विशिष्ट सहायता (इमो) आवश्यक पर्ने बिरामी यसमा राखिन्छन् । यहाँ दुई नर्सले एक बिरामी हेर्ने गर्छन् ।
तर, अहिलेसम्म नेपालमा तह २ र ३ का पिआइसियू मात्र सञ्चालित छन् ।

पिआइसियू स्थापना र सञ्चालनमा समस्या :
१. सरकारीस्तरमा पिआइसियूको स्थापना गर्नुपर्ने आवश्यकता महसुस नहुनु ।
२. अति विशिष्ट जनशक्तिको कमी हुनु । बालबालिकामा सघन उपचारकक्ष विशेषज्ञ, फोक्सोरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ क्रिटिकल केयर नर्सिङलगायत अन्य आवश्यक जनशक्तिको अभाव हुनु ।
३. स्तरीय पिआइसियू सञ्चालन जनशक्ति तथा उपकरणमा खर्च धेरै लाग्नु ।
४. जनशक्तिलाई सघन उपचार सहज रूपमा गर्न सामाजिक र कानुनी वातावरण नहुनु ।

(बालरोग विशेषज्ञ (एमडी) डा. पाठकले नवजात र बाल सघन उपचार विषयमा फेलोसिप समेत गरेका छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय