१४ सय सरकारी चिकित्सक एकैदिन बिदामा ! अधिकांशले मागिसके बुधबारका लागि बिदा

संघीयता कार्यान्वयनका क्रममा नयाँ संगठन संरचना र कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलन कडा पार्दै लगेको छ । मंगलबार सांकेतिक रुपमा रक्तदान कार्यक्रममार्फत आन्दोलनलाई रचनात्मक स्वरुप दिन खोजेको गोदान बुधबार भने कठोर रुपमा प्रस्तुत हुँदै छ ।

सोमबार सामूहिक राजीनामा संकलन सुरु गरेको गोदान आबद्ध १ हजार ४ सय चिकित्सकहरु बुधबार सामूहिक बिदा बस्ने भएका छन् । उनीहरुले आ–आफ्ना हाकिमसित बुधबारका लागि मौखिक बिदा मागेको अस्पतालका निर्देशकहरुले बताएका छन् । चिकित्सकले भैपरी आउने बिदा मौखिक जानकारीका आधारमा पनि लिन सक्ने प्रावधान छ । यद्यपि, बिदा अधिकारको विषय नभएर सहुलियत मात्र हो ।

देशभरका सरकारी अस्पतालमा करिब १ हजार ४ सय चिकित्सक नेपाल सरकारको दरबन्दीमा कार्यरत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती चिकित्सक एकैपटक बिदा बस्दा देशभरका सरकारी अस्पतालमा उपचारसेवा ठप्प हुने निश्चित छ । तर, गोदानको घोषणाअनुरुप सबै चिकित्सक बिदा बस्लान् वा नबस्लान्, त्यो हेर्न भने बुधबारसम्म कुर्नुपर्नेछ ।

प्रमुख अस्पतालहरुमा कतिले मागे बिदा ?
कान्ती बाल अस्पतालमा कार्यरत ४० सरकारी चिकित्सकमध्ये सबैले मौखिक रुपमा बुधबार बिदा बस्ने जानकारी गराएको अस्पतालका निर्देशक डा. गणेश राईले जानकारी दिएका छन् । ‘मन्त्रालयअन्तर्गतका सबै चिकित्सकले मौखिक रुपमा बिदाका लागि जानकारी गराएका छन्,’ उनले भने, ‘लिखित रुपमा बिदाको निवेदन कसैको पनि आएको छैन ।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलका अनुसार अस्पतालमा कार्यरत जम्मा ४१ सरकारी चिकित्सकमध्ये ५–७ जनाले मात्र बिदाको सूचना दिएका छन् । ‘हामीकहाँ २६ जना चिकित्सक विकास समितिअन्तर्गत कार्यरत छन्,’ उनले भने, ‘मन्त्रालयका चिकित्सक बिदामा बसेको खण्डमा तिनै २६ चिकित्सकबाट सेवा सुचारु गर्छौं ।’

वीर अस्पतालका निमित्तनिर्देशक डा. किरण श्रेष्ठका अनुसार वीरका कुनै पनि चिकित्सकले बिदाबारे मंगलबार बेलुकीसम्म प्रशासनमा जानकारी गराएका छैनन् ।

सोमबार सामूहिक राजीनामा संकलन सुरु गरेको गोदान आबद्ध १ हजार ४ सय चिकित्सकहरु बुधबार सामूहिक बिदा बस्ने भएका छन् । उनीहरुले आ–आफ्ना हाकिमसित बुधबारका लागि मौखिक बिदा मागेको अस्पतालका निर्देशकहरुले बताएका छन् । चिकित्सकले भैपरी आउने बिदा मौखिक जानकारीका आधारमा पनि लिन सक्ने प्रावधान छ । यद्यपि, बिदा अधिकारको विषय नभएर सहुलियत मात्र हो ।

मंगलबार माइतीघरमा रक्तदान
पछिल्लोपटक आइतबारदेखि आन्दोलन सुरु गरेका सरकारी चिकित्सकले मंगलबार सरकारलाई सांकेतिक दबाब दिन भन्दै माइतीघरमण्डलामा आमजनसमुदायको समेत संलग्नतामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा डाक्टर र जनसाधारणसमेत गरी ३१ जनाले रक्तदान गरेका छन् । त्यसैगरी, गोदानले घोषित कार्यक्रमअनुसार सोमबारदेखि सुरु गरेको देशभर कार्यरत सरकारी चिकित्सकहरुको राजीनामा संकलन कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिएको छ । राजीनामा संकलनपश्चात् देशभरका चिकित्सकलाई काठमाडौं बोलार्ई बिहीबार सामूहिक रुपमा सरकारलाई बुझाउने कार्यक्रम छ ।

के भन्छ मन्त्रालय ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अहिलेसम्म मन्त्रालयलाई चिकित्सक संघले सामूहिक बिदामा बस्ने लिखित वा मैखिक रुपमा जानकारी नदिएको बताए । यद्यपि, गोदानले पत्रकारसम्मेलन नै गरी आइतबार नै सामूहिक बिदाको कार्यक्रम घोषणा गरेको थियो । ‘मन्त्रालयमा सामूहिक बिदाबारे हालसम्म कुनै जानकारी आएको छैन,’ उनले भने, ‘सबैले सामूहिक रुपमा काम नगरेमा सेवाप्रवाहित त हुनेछ ।’

सरकारी चिकित्सकसँगको सम्झौता कार्यान्वयन हुनेक्रममा रहेको उनले बताए । ‘चिकित्सकहरुले आमनागरिकको स्वास्थ्यसेवामा असर पर्ने गरी आन्दोलन गर्नुपर्ने देखिँदैन,’ उनले भने, ‘कानुनी रुपमा कुनै पनि बहानामा कसैले पनि आममानिसलाई असर पर्ने गरी स्वास्थ्यसंस्था बन्द गर्न पाइँदैन ।’ सेवाप्रवाहित गरेर सरकारी चिकित्सकले बिदा बसेमा मन्त्रालयले के–कस्तो प्रतिरोध गर्छ भन्ने कुरा पछि नै थाहा हुने उनले बताए ।

आन्दोलन थप चर्काउँछौँ– गोदान
गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकार चिकित्सकका माग सम्बोधन गर्न कत्ति पनि संवेदनशील नदेखिएकाले आन्दोलन कडा बनाउनुपरेको बताए । ‘चिकित्सक संघको मागलाई तत्काल सम्बोधन गर्न मन्त्रालय संवेदनशील छैन,’ उनले भने, ‘सरकारलाई थप दबाब दिन पनि बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपछि सरकारलाई बुझाउने तथा शुक्रबारदेखि सबै अस्पतालका सबै सेवा बन्द गरी असहयोग आन्दोलन गर्न लागेका हौँ ।’ उनले सरकारले वेलैमा माग सम्बोधन नगरेमा आन्दोलनलाई थप चर्काउँदै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय