अनुगमन गर्न नपाइने भन्दै चालकले ठप्प पारे एम्बुलेन्स सेवा

आकस्मिक उपचारसेवामा प्रयोग गरिने एम्बुलेन्सलाई जो–कोहीले आपत्कालीन उद्धारको साधनका रूपमा लिई यसको निर्बाध सञ्चालनमा सहयोग पुर्याउँछन् । बन्दा–हडताल होस् वा सशत्र विद्रोह, या त युद्ध नै किन नहोस्, जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि एम्बुलेन्सलाई कसैले रोक लगाउँदैन । जस्तो अप्ठ्यारो अवस्थामा पनि बिरामीलाई अस्पताल ल्याउन–लैजान छुट दिइएको हुन्छ । तर, चितवनका एम्बुलेन्सचालक आफैँ एम्बुलेन्स चलाउन छाडेर आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले एम्बुलेन्समा अनुगमन गर्न लागेपछि चालकहरू मंगलबारबाट आन्दोलनमा उत्रिएका हुन् । संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन चितवनले मंगलबार जिल्लामा एम्बुलेन्स नचलाई भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालय चितवनवरिपरि राखेर आन्दोलन गरेका हुन् ।

जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले जिल्लाका एम्बुलेन्सको दर्ता, नवीकरण, बिरामी बोकेको वा नबोकेको विषयमा अनुगमन गर्ने तयारी गरेको थियो । अनुगमनका क्रममा संयुक्त एम्बुलेन्स चालक संघ चितवनले जथाभावी स्थानमा अनुगमन गर्न नपाइने भन्दै एम्बुलेन्स सञ्चालनमा रोक लगाइएको बताएको छ । ‘अनुगमन गर्ने हो भने हामीलाई पत्र काटेर कार्यालयमा बोलाएर अनुगमन गर्नुपर्छ, बाटोमा गर्न पाइँदैन,’ युनियनका जिल्ला अध्यक्ष सुमन घलेले भने, ‘अनुगमन गर्दा हाम्रो संस्थालाई पत्राचार गरिनुपर्छ । बिरामी बोकेर सडकमा गुडेका एम्बुलेन्सलाई अनुगमनका नाममा रोक्न पाइँदैन ।’

चालकको लाइसेन्स खोज्ने, बिलबुक खोज्ने, चलिराखेको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्ने काम जिल्ला स्वास्थ्य कार्यालयले गर्न नहुने उनले बताए । आफ्नो अनुमतिबेगर अनुगमन गर्न नपाइने भन्दै आन्दोलनमा उत्रेको अध्यक्ष घलेले बताए । जिल्ला प्रहरी कार्यालयले संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियनका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई नछोडेसम्म र अनुगमन गर्दा पत्रचार नगरेसम्म एम्बुलेन्स नचलाउने अध्यक्ष घलेको भनाइ छ । उनका अनुसार संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियनको केन्द्रले पनि आन्दोलन गर्ने तयारी गरेको छ ।

जिल्ला जनस्वास्थ्य अधिकृत शोभाखर अधिकारीले एम्बुलेन्सले पालना गर्नुपर्ने मापदण्ड चेकजाँचको तयारी गर्दा चालकहरूले विरोध जनाएको बताए । ‘एम्बुलेन्सहरूको दर्ता, चालकको लाइसेन्स, बिलबुक, नवीकरणको विषयमा हामीले एम्बुलेन्स चेक गर्ने तयारी गरेका थियौँ,’ अधिकारीले भने, ‘तयारी गर्नासाथ अनुगमन सुरु नै नभई चालकहरूले विरोध गर्नुभयो ।’ बिरामीभन्दा अन्य व्यक्ति बोकेको गुनासो आएपछि अनुगमन थालिएको अधिकारीले बताए । अनुगमन टोलीलाई नै अवरोध गरेर चालकहरूले अनुगमन गर्न दिएका छैनन् । टोलीमा जिल्ला रेडक्रस, प्रहरी, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरू सहभागी छन् ।

चितवन जिल्लामा युनियनमा आबद्ध एम्बुलेन्स ९० वटा छन् । अनुगमनमा युनियनलाई समावेश नगरे आन्दोलन जारी राख्ने युनियनले चेतावनी दिएको छ । मेडिकल सिटीका रूपमा परिचित चितवनमा एम्बुलेन्सचालकले सामान्य मापदण्ड पनि पालना गरेको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय