दिनभर सरकारी चिकित्सकको दौडधुप, मन्त्रीले भेट नै दिएनन्, नर्स र आयुर्वेद चिकित्सकको साथ

कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका कर्मचारीमाथि विभेद भएको भन्दै आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल दिनभर राजनीतिक पहलमा लागेपनि निकाशको संभावना क्षीण बन्दै गएको छ ।

माग पूरा गर्न विभिन्न निकाय र पदाधिकारीलाई भेटेर फर्किएका सरकारी चिकित्सकलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री उप्रेन्द्र यादवले भेट समेत दिएनन् । घोषित कार्यक्रमअनुसार गोदानका पदाधिकारीले सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव दिनेश थपलियालाई भेटेर मागबारे ध्यानाकर्षण गराएका थिए । भेटका क्रममा अधिकांश अधिकारीले मन्त्रालयबाटै पहल कदमी भए माग संवोधन सहज हुने प्रतिक्रियापछि सरकारी चिकित्सक मन्त्रालय पुगेका थिए ।
चिकित्सकहरुले स्वास्थ्य मन्त्री यादवसँग भेटका लागि लामो समयसम्म पर्खिएका थिए । त्यसलाई बेवास्ता गर्दै मन्त्री मन्त्रालयबाट निस्किने क्रममा ‘म तपाईहरुलाई भेट्दिन’ भन्दै निस्किएको अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।

स्रोतका अनुसार मन्त्रालयबाट संगठन संरचन पठाउने क्रममै आफूलाई झुक्याइएको भन्दै मन्त्री मन्त्रालयकै अधिकारीसँग आक्रोशीत छन् । आन्दोलनसमेत स्वास्थ्यमा आफूलाई अप्ठ्यारो पार्नका लागि योजनाबद्ध रुपमा गरिएको बुझाई मन्त्रीको छ ।

डा. पाण्डेका अनुसार अन्य पक्षको कुरा सुन्दा चिकित्सकको समस्या हल गर्न मन्त्रालय नै संवेदनशील नभएको देखिएको छ । ‘हामीसँग सम्झौता गरियो तर त्यसको कार्यान्वयनमा पहलै भएनछ’ डा. पाण्डेले भने, ‘अब मन्त्रीलाई आफूअनुकुलका मान्छे ल्याएर काम गर्ने वातावरण बनाइदिन राजीनामाको पक्षमा उभिएका हौँ’ । संघले सामूहिक राजिनामामा हस्ताक्षरका लागि देशभर आफ्ना सदस्यहरुलाई विभिन्न माध्यामबाट खबर पठाईसकेको जनाएको छ ।

आयुर्वेद चिकित्सकको साथ
आर्युर्वेद चिकित्सकहरुको संस्था नेपाल आयुर्वेद चिकित्सक संघले पनि सरकारी चिकित्सकको माग र विरोधका कार्याक्रमप्रति समर्थन जनाएको छ ।
आयुवेद चिकित्सक संघले पनि समायोजनलाइए स्वैच्छिक बनाएर सम्पूर्ण चिकित्सकलाई पुल दरवन्दीमा राखेर संघ तथा प्रदेश अस्पताल र स्वासथ्य केन्द्रमा खटाउने व्यवस्था गर्न माग गरेको छ । संघले निश्चित अवधिमा संघमा आउने बाटो खोल्ला राख्न सन्दर्भमा पनि संघ अडिग रहेको जनाएको छ । संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीद्धारा हस्तक्षरित विज्ञाप्तिमा फागुन ५ गते सरकारी चिकित्सक संघले घोषणा गरेको विरोधका कार्याक्रममा ऐक्यवद्धता र समर्थन जनाइएको छ ।

नर्सिङ संघको पनि उस्तै माग
यसैबीच नर्सिङ संघले विज्ञाप्तिमार्फत् स्वास्थ्य सेवाका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा वृति विकास र अन्य अवसरमा एक रुपमा नहुने अवस्था आएको भन्दै निजामति सेवाका अन्य कर्मचारी सरह गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि संघीय सरकार अन्र्तगत राखेर एकै सेवाभित्र पनि विभिन्न समूहबीच असमानता र विभेद नहुनेगरी समायोजन गर्न माग गरेको छ । संघले नर्सिङ सेवामा लोकसेवामार्फत् प्रवेश गरेका अधिकृतस्तरदेखि माथिका सम्पूर्ण कर्मचारीलाई संघीय सरकारकै खटनपटन रहनेगरी संघ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्चित गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय