गोदानले ल्यायाे कडा आन्दोलन कार्यक्रम, याे साता सामूहिक राजीनामादेखि सेवा बहिष्कारसम्म

हेल्थपोस्ट नेपाल

समायोजन ऐनलाई मिचेर सहसचिवस्तरका ११औँ तहका चिकित्सकलाई प्रदेशमा गैरकानुनी रुपमा समायोजन गरेको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आन्दोलनका कडा कार्यक्रम घोषणा गरेको छ । आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा पत्रकार सम्मेलन गर्दै गोदानले शुक्रबारदेखि ‘अवज्ञा आन्दोलन’मा उत्रने गरी एक साताका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रममा सामूहिक राजीनामा संकलन र हस्तान्तरण, माइतीघर मण्डलामा रक्तदान, सामूहिक बिदामा बस्ने तथा आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरी अवज्ञामा उत्रिनेलगायत छन् । गोदानले शुक्रबारदेखि देशैभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प गरी अवज्ञा आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । अवज्ञा शुक्रबारबाट सुरु हुने भए पनि स्वास्थ्योपचार सेवा भने बुधबारदेखि नै प्रभावित हुने देखिएको छ । बुधबार देशभरका सरकारी चिकित्सक सामूहिक बिदामा बस्ने भएका हुन् ।

गोदानले शुक्रबारदेखि देशैभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प गरी अवज्ञा आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । अवज्ञा शुक्रबारबाट सुरु हुने भए पनि स्वास्थ्योपचार सेवा भने बुधबारदेखि नै प्रभावित हुने देखिएको छ । बुधबार देशभरका सरकारी चिकित्सक सामूहिक बिदामा बस्ने भएका हुन् ।

पत्रकारसम्मेलनमा गोदनका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले चिकित्सकसितको सम्झौता कार्यान्वयन गर्नुको साटो उल्टै दबाउन खोजेकाले थप आन्दोलन गर्नुपरेको बताए । ‘सरकारले पटक–पटक मौखिक र लिखित वाचा गर्यो, तर हाम्रो आवाजलाई बन्द गर्ने रणनीति मात्र रहेछ,’ उनले भने, ‘सरकार सम्झौता कार्यान्वयन गर्नेतर्फ नलागेको देखेर हामीले थप आन्दोलनका घोषणा गरेका हौँ ।’

सरकारले ३० पुसमा भएको सम्झौताविपरीत समायोजन प्रक्रिया अघि बढाएकाले सशक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको डा. पाण्डेको भनाइ छ ।

 

यस्ता छन् साताव्यापी आन्दोलनका कार्यक्रम :

आइतबार
१. पत्रकारसम्मेलन तथा मडिया कार्यक्रममार्फत आमनागरिक, राजनीतिकर्मी, समाजसेवी, मानवअधिकारकर्मी, शुभचिन्तकलगायतलाई निरन्तर सुसूचित गरी सरकारले गरेको उपरोक्त गैरजिम्मेवार व्यवस्थाप्रति ध्यानकर्षण गराउँदै सबैको सहयोग लिने ।
२. सामान्य प्रशासन मन्त्रालयबाट सधैँ स्वास्थ्य मन्त्रालयले कुनै ठोस पहल नगरेको भन्ने जवाफ आउने गरेकोमा स्वास्थ्य मन्त्रालयमा हदैसम्मको ताकेता निरन्तर गरिराख्ने ।
३. जायज संशोधन प्रस्तावहरुमा छलफल नै हुन नदिई ल्याइएको समायोजन विधेयकलाई सच्याउन लगाउन माननीय राष्ट्रिय सभाका अध्यक्षलगायतलाई आग्रह गर्ने ।

सोमबार
४. देशैभरका ११औँदेखि ८औँ तहसम्मका सरकारी चिकित्सकलाई स्वैछिक सामूहिक राजीनामाका लागि हस्ताक्षर संकलन अभियान चलाउने ।
५. जायज संशोधन प्रस्तावहरुमा छलफल नै हुन नदिई ल्याइएको समायोजन विधेयकलाई सच्याउन लगाउन सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्ने ।

मंगलबार
६. माइतीघर मण्डलामा रक्तदान कार्यक्रम गरेर आमजनतालाई थप सुसूचित गर्ने र साथका लागि अपिल गर्ने ।

बुधबार
७. देशैभर सरकारी चिकित्सकहरु सामूहिक बिदामा बस्ने ।

बिहीबार
८. राजीनामा संकलन भएपश्चात् त्यसको हस्तान्तरणका लागि सम्पूर्ण सरकारी चिकित्सक काठमाडौं आउने ।

शुक्रबार
९.आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने ।



Leave a Reply

Your email address will not be published.