न्याम्सको उपकुलपति नियुक्ति प्रक्रिया – मन्त्रीको आग्रह र घुर्कीले छोएन, कर्मचारीको आन्दोलनले होला ?

झण्डै सात महिनादेखि रिक्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्तीका लागि मन्त्रीदेखि कर्मचारीसमेतले दबाब दिँदा पनि टुंगोमा पुग्न सकेको छैन् । नियुक्तीको टुंग्याउने अधिकार प्रधानमन्त्रीमा निहित भएपनि सिफारिसकर्ताले आफू अनुकुलका मान्छे सिफारिस  नभएपछि प्रधानमन्त्रीले ५ महिनाअघिको सिफारिस थन्क्याएर राखेको आरोप मन्त्रालयको छ ।  केही दिनअघि प्रधानमन्त्री कार्यालयकै केही व्यक्तिले अनौपचारिक रुपमा उपकूलपति नियूक्तीको हल्ला फैलाएर केही घण्टापछि नै औपचारिक रुपमा खण्डन गरेका थिए ।

उपकूलपति नियूक्ती टुग्याउन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पटक पटक आग्रह, घुर्की र दबाब समेत दिँदा पनि प्रधानमन्त्री टसमस भएका छैनन् । केही दिनअघि पत्रकार सम्मेलन नै गरेर मन्त्री यादवले प्रधानमन्त्रीले ‘आजै गर्छु, भोली गर्छु भनेर भन्ने तर रोकिराख्ने’ गरेको आरोप लगाएका थिए । पछि यादवको पार्टी संघीय समाजवादी फोरमले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीको भागमा परेको मन्त्रालयको काममा सहजिकरणको समेत माग गरेपनि प्रधानमन्त्रीले उपकूलपति नियुक्ती प्रक्रिया अगाडि बढाएका छैनन् ।

कुलपति एवम् प्रधानमन्त्रीले सहकुलपति एवम् स्वास्थ्यमन्त्रीको सिफारिसमा उपकुलपति नियुक्त गरेपछि उपकुलपतिले बाँकी पदाधिकारीको नाम सहकुलपति समक्ष सिफारिस गर्ने प्रावधान छ । सहकुलपति उपेन्द्र यादवले संयोजकत्वको सिफारिस कमिटी बनाई विभिन्न विज्ञहरूको संलग्नतामा पूर्ण पारदर्शी प्रक्रिया अपनाई १ असोजमै उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरे पनि प्रधानमन्त्री केपी ओलीले नियुक्ति नगर्दा प्रतिष्ठान यति लामो समयसम्म नेतृत्वविहीन बनेको हो । हाल निमित्तउपकुलपति डा. सुबोध अधिकारीले कार्यभार सम्हालिरहेका छन् ।

कर्मचारीको आन्दोलन

प्रतिष्ठानको आधिकारिक टेड्र युनियनको अगुवाईमा १ फागुनदेखि अस्पतालको प्रांगणमा दैनिक १ देखि २ बजेसम्म धर्ना दिँदै आएको छ । कर्मचारीको आन्दोलन अन्ततः मन्त्रीलाई सहयोग हुनेगरी अगाडि बढेको भनाई मन्त्रालयका अधिकारीहरुको छ । कर्मचारी आन्दोलन चरणबद्ध रुपमा सेवा अवरोध नै गर्ने दिशामा अगाडि बढ्ने बुझाई अधिकारीहरुको छ ।करिब ७ महिनादेखि उपकुलपति नियुक्ति नहुँदा रेक्टर, रजिस्ट्रार, डिन, वीरका निर्देशक, ट्रमा सेन्टरका निर्देशकलगायत पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।

मन्त्रीको तहबाट भएकै प्रयास सफल नभइरहेको अवस्थमा प्रतिष्ठानका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुरुमा धर्ना गर्दा पनि सुनुवाई नभए आन्दोलन कडा पार्दै लैजाने चेतावनी दिएका छन् ।

न्याम्सका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पटक–पटक ध्यानाकर्षण गर्दा उहाँहरूले चासो नदिएको युनियनका सचिव दीपक मुडभरीले बताए । लामो समयसम्म यति ठूलो संख्यामा पदाधिकारी नियुक्त नगरिएका कारण संस्था अस्तव्यस्त बनेपछि युनियनले बिरामीलाई असर नपर्ने गरी दिउँसो १ देखि २ बजेसम्म धर्ना कार्यक्रम गर्दै आएको छ । पदाधिकारी नियुक्ति नहुँदासम्म युनियनको धर्ना जारी रहने मुडभरीले बताए ।

युनियनले उपकुलपति तथा अन्य पदाधिकारी नियुक्ति चाँडैै हुनुपर्ने, पदाधिकारीमा न्याम्सअन्तर्गत कार्यरतबाट ५० प्रतिशत नियुक्त हुनुपर्नेलगायत माग अघि सारेको छ । न्याम्समा मन्त्रालयतर्फबाट ६ सय ६३ र न्याम्सतर्फका ६ सय २३ गरी करिब १ हजार ३ सय कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय