‘समायोजनमा स्वास्थ्यसेवाका कर्मचारीमाथिकाे विभेद’ सच्याउन स्वास्थ्यका दुई संगठनको माग

कर्मचारी समायोजनमा स्वास्थ्यक्षेत्रका कर्मचारीमाथि विभेद भएको भन्दै स्वास्थ्यकर्मीका प्रमुख दुई संगठनले आपत्ति जनाएका छन् । नेपाल जनस्वास्थ्य संघ (नेपा) र स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालले छुट्टाछुट्टै विज्ञाप्ति जारी गरी समायोजनमा स्वास्थ्यकर्मीमाथि विभेद हुने अवस्था आएकोप्रति विरोध जनाएका छन् ।

नेपाले स्थानीय र प्रदेश तहमा समायोजन हुँदा वृत्तिविकास तथा सम्भावित अवसरहरूमा एकरूपता नहुने अवस्था देखिएको भन्दै निजामतीसरहको सेवा–सुविधा र अवसरको ग्यारेन्टीका लागि माग गरेको छ । नेपाले अन्य समूहका अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारअन्तर्गत राखेर खटन–पटन गरेअनुसार नै स्वास्थ्यसेवाका कर्मचारीलाई पनि गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी, स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघले पनि समायोजन कानुनअनुसार स्वास्थ्यसेवाका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुँदा समान नहुने देखिएको भन्दै आपत्ति जनाएको छ । ‘प्रशासन सेवाका कर्मचारी संघीय निजामती सेवामा रहेर प्रदेश र स्थानीय तहमा काम गर्न खटिने तर स्वास्थ्यसेवाका कर्मचारी सम्बन्धित तहमै समायोजन भएर काम गर्नुपर्ने अवस्था आएको छ,’ संघका अध्यक्ष बद्रीबहादुर खड्काले हस्ताक्षर गरेको विज्ञाप्तिमा भनिएको छ, ‘यसले निजामती सेवामा विभेद भएको छ, शासक र शासितको रूपमा देखिएको छ ।’

त्यसैगरी, शिक्षा संघले स्वास्थ्यसेवाका कर्मचारीलाई अन्य सरकारी सेवाका कर्मचारीजस्तो निश्चित अवधिपछि एक तह बढुवा दिई प्रदेश र स्थानीय तहमा समायोजन गर्ने कुरामा पनि विभेद गरिएकोप्रति समेत आपत्ति जनाएको छ ।

त्यति मात्रै होइन, स्वास्थ्यसेवाबाट समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीले अन्य जुनियर कर्मचारीको मातहतमा रही काम गर्नुपर्ने अवस्थाप्रति संघको आपत्ति छ । संघले स्थानीय र प्रदेशमा समायोजन गर्दा प्रमुख प्रशासकीय अधिकृत र सचिव स्वास्थ्यसेवाका भए पनि विज्ञ र क्षमतावान् कर्मचारीलाई वञ्चित गर्ने अवस्था आएको समेत जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय