चिकित्सक दम्पतीको रोचक प्रेमकहानी, फुर्सद मिल्दा सधैँ ‘भ्यालेन्टाइन डे’

चिकित्सा पेसा यसै पनि सधैँ व्यस्त हुनुपर्छ । रातसाँझ, घरपरिवार, चाडपर्व, जेसुकै होस्, चिकित्सक सधैँ बिरामीकै टहलमै व्यस्त हुन्छ । त्यसमा पनि दम्पती नै यही पेसामा हुँदा अझै निजी जीवन साँघुरिने नै भयो ।

पछिल्लो पुस्ताका चर्चित स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. सबिना श्रेष्ठ र नेत्ररोग विशेषज्ञ डा. किशोर प्रधानले पेसागत चुनौती र बाध्यतासँगै परिवारको व्यवस्थपन उस्तै कुशलतापूर्वक गरेका छन् । करिब पाँच वर्षको प्रेमसम्बन्धपछि विवाहबन्धन्मा बाँधिएको यो दम्पतीले आफ्नो संवेदनशील र व्यस्त अरिअरसँगै पारिवारिक जीवनलाई पनि सफलतापूर्वक अघि बढाइरहेको छ ।
दुवैले नामी चिकित्सकको पहिचान बनाउने संघर्षपूर्ण यात्रा एक–अर्काको साथविना सायदै पूरा हुन्थ्यो । तर, एक–अर्काबीचको विश्वास, साथ र सहयोगले उनीहरू यो कठिन यात्रा तय गर्दै कुशल अभिभावकसमेत बन्न सफल छन् ।

०५३ को कुरा हो, डा. सबिना थापाथलीस्थित परोपकार प्रसूतिगृहमा मेडिकल अफिसरका रूपमा कार्यरत थिइन् । त्यहीँ नै डा. किशोरको इन्टर्नसिपको अन्तिम वर्ष चलिरहेको थियो । उनीहरूबीच पहिलो भेट त्यहीँ भयो । दुवैजना चिकित्साक्षेत्रमा केही गर्ने अठोटका साथ साधनामा थिए । तर, यही भेट जीवनभरका लागि सहयात्रामा परिणत भयो ।

किशोरले राखे प्रेमप्रस्ताव
किशोर विराटनगरका, सबिना काठमाडौंकी, जन्मस्थलबीचको दूरी लामो रहे पनि दुई मनको दूरी क्रमशः छोटिँदै थियो । कार्यथलो एकै भएका कारण विस्तारै घुलमिल हुँदै गयो । मुख फोरेरै प्रेमप्रस्ताव राख्नुपूर्व पनि उनीहरू वेलाबखत सँगै खाजा खाने, एक–अर्कामा चोरेर हेर्ने कुरामा अभ्यस्त भइसकेका थिए, मुख नखुले पनि सायद दुवैका मनमा एक–अर्काप्रति प्रेम अंकुराइसकेको थियो । त्यसलाई मुखसम्म ल्याएर व्यक्त गर्ने साहसको मात्र खाँचो थियो । यो साहस किशोरले नै पहिले गरे । ‘उहाँले नै मलाई प्रेमप्रस्ताव राख्नुभएको थियो,’ सबिना सम्झिँन्छिन् । आफूले चाहेर पनि भन्न नसकेको कुरा मनले आफ्नो मानिसकेको मान्छेले भनिदिँदा सबिनाबाट अस्वीकार हुने त कुरै थिएन । दुईबीचको प्रेमसम्बन्ध अगाडि बढ्यो ।

अब आयो परिवारलाई मनाउने कुरा, जुन किशोरका लागि केही समस्या थिएन । किशोरकी आमाले छोरालाई भेट्न अस्पताल आउँदा सबिनालाई देखिसक्नुभएको थियो । पहिलो नजरमै सबिना आमाको नजरमा यसरी परिछिन् कि, आमाले छोरालाई ‘तिमी यही केटीसित बिहे गर’ भनिदिनुभयो । यतिवेला किशोरले सबिनालाई प्रेमप्रस्ताव राख्न भ्याएकै थिएनन् । सायद आमाकै स्वीकृतिको बलमा उनी सबिनाप्रति थप नजिकिएका थिए र प्रेमप्रस्ताव राख्नमा पहिलो भएका थिए । पछि सबिनाको परिवारले पनि स्विकारेपछि बिहेको निधो भयो । तर, करिअर र व्यस्तताका कारण लामो समय बिहे हुन सकेन ।

खाली समय हुँदा कुनै वेला सँगै सपिङ जाने, खानेकुराको योजना बनाउने गरेका छन्, जसका लागि भ्यालेन्टाइन डे कुर्नुपर्छ भन्ने उनीहरूलाई लाग्दैन । मनमा माया र फुर्सद भए दम्पतीका लागि सधैँ भ्यालेन्टाइन डे हुने सबिनाको तर्क छ । दुवैको फुर्सद भएको दिन आफ्ना लागि भ्यालेन्टाइन डे आएजस्तो लाग्ने उनी बताउँछिन् । ‘भ्यालेन्टाइन डे हाम्रा लागि त्यति आवश्यक नै छैन,’ सबिना भन्छिन्, ‘समय भए हाम्रा लागि जुनसुकै दिन भ्यालेन्टाइन डे हुन सक्छ ।’

प्रेम प्रस्तावको १ वर्षपछि इन्गेजमेन्ट, इन्गेजमेन्टको ४ वर्षपछि बिहे
एक–अर्कामा प्रेम अभिव्यक्त गरेको १ वर्षपछि सबिना र किशोरले जीवनभर साथ निभाउने अठोटका साथ इन्गेजमेन्ट गरे । जीवनसाथीको त पक्का निधो भयो, तर अरिअर र पढाइ भने दुवैको अधुरै थियो । अब दुवैको अरिअर पनि पक्का गर्नुपर्ने थियो । संयोगवश सबिना बिहेपूर्व नै विदेश पढ्न जानुपर्ने अवस्था आयो । उनी विदेशमा रहँदा दुईबीच फोनमा सम्पर्क हुन्थ्यो । कहिले एउटाको पढाइ, कहिले अर्कोको, ४ वर्ष बित्दा पनि इन्गेजमेन्ट विवाहमा परिणत हुन सकेन । अब त अति नै भयो भनेर सबिन विदेशको पढाइ छोडेर बिहेका लागि फर्किइन् । ‘म विदेशमा पढिरहँदा इन्गेजमेन्ट गरेको पनि ४ वर्ष बितिसकेका कारण अब त बिहे गर्नुपर्छ भन्ने लागेर नेपाल आएँ,’ दुर्लभ भोगाइ सम्झँदै सबिना भन्छिन्, ‘हामीबीच १ मार्च २००२ मा विवाह भयो ।’

फुर्सद भए सधैँ भ्यालेन्टाइन डे, तिथिविशेषमा कहिल्यै मनाएको छैन
लामो प्रेमपछि विवाहबन्धनमा बाँधिएर सफल सहयात्रा गरिरहेका सबिना र किशोरले अहिलेसम्म ‘भ्यालेन्टाइन डे’ नै भनेर मनाएका भने छैनन् । प्रेमदिवसका लागि नै भनेर कुनै विशेष, छुट्टै केही योजना बनाउने नगरेको सबिना बताउँछिन् । खाली समय हुँदा कुनै वेला सँगै सपिङ जाने, खानेकुराको योजना बनाउने गरेका छन्, जसका लागि भ्यालेन्टाइन डे कुर्नुपर्छ भन्ने उनीहरूलाई लाग्दैन । मनमा माया र फुर्सद भए दम्पतीका लागि सधैँ भ्यालेन्टाइन डे हुने सबिनाको तर्क छ । दुवैको फुर्सद भएको दिन आफ्ना लागि भ्यालेन्टाइन डे आएजस्तो लाग्ने उनी बताउँछिन् । ‘भ्यालेन्टाइन डे हाम्रा लागि त्यति आवश्यक नै छैन,’ सबिना भन्छिन्, ‘समय भए हाम्रा लागि जुनसुकै दिन भ्यालेन्टाइन डे हुन सक्छ ।’

पारिवारिक व्यवस्थापनमा सबिना अगाडि
डाक्टरी पेसा, व्यस्तताले कहिले पो छोड्छ र ! दुवैजना अत्याधिक व्यस्त हुँदा पारिवारिक व्यवस्थापनको पाटो भने चुनौतीपूर्ण रहन्छ । कम्तीमा दुईमध्ये एकले त केही न केही सम्झौता गर्नु नै पर्छ । घर–परिवारको व्यवस्थापनमा किशोरभन्दा बढी सबिनाले नै फुर्सद निकाल्ने गरेकी छिन् । ‘अलिकति मात्रै खाली समय भयो भने त्यो परिवारका लागि मिलाउने गरेकी छु,’ सबिना भन्छिन्, ‘उहाँले पनि सकभर समय मिलाउनुहुन्छ, तर उहाँभन्दा अलिकति बढी पारिवारिक जिम्मेवारी मैले नै लिएकी छु ।’ व्यस्त डाक्टरी पेसा र जिम्मेवारीबाट केही समय निकालेर बच्चाहरूका लागि दिन भने उनीहरू सकेसम्म चुक्दैनन् । ‘बच्चाहरूको बिदाको दिन कहीँ–कतै सँगै जाने र उनीहरूलाई घुमाउने गरेका छौँ,’ उनी भन्छिन् ।
प्रत्येक साताजसो दुवैजनाको देशका विभिन्न ठाउँ र देशबाहिर पनि कार्यक्रम पर्ने गर्छ । परिवारलाई समय दिने फुर्सद दुवैलाई हुँदैन । तर, मायाको कमी भने दुवै पक्षबाट छैन । उपत्यकाबाहिर हुँदा त यसै पनि फुर्सद हुँदैन, घरमै हुँदा पनि दुवैजनालाई कामको प्रेसर, एकअर्कासँग त्यति धेरै बोल्ने समय पनि हुँदैन ।

अरुलाई सुझाब दिन्छौँ, तर कहिलेकाहीँ आफैँ भने पालना गर्दैनौँ
स्वास्थ्य समस्या लिएर उपचारका लागि आउने जोकोहीलाई डाक्टरले खानपानको सन्तुलनमा ध्यान दिन सुझाउँछन् र यो उनीहरूको धर्म पनि हो । अधिकांश रोगको कारण अस्वस्थ आचरण र खानपान नै भएको मानिन्छ । तर, डाक्टर स्वयम्चाहिँ खानपानमा ध्यान दिइरहेका हुँदैनन् । यस्तो समस्या सबिना र किशोरमा पनि छ । अरुलाई नियमित ब्रेकफास्ट लिन सल्लाह दिने उनीहरू आफू भने ब्रेकफास्टका सौखिन छैनन् । उनीहरू एक कप कालो चियाकै भरमा काममा बिहान बिताइदिन्छन् । ‘हामी डाक्टर, अरुलाई यो खान हुन्छ, त्यो खान हुँदैन भनेर सिकाउने मान्छे, आफैँ भने त्यो कुरा पालना गरिरहेका हुँदैनौँ,’ सबिना भन्छिन्, ‘खानाको कुरा गर्ने हो भने हामी दुवैजना ब्रेकफास्टका लागि त्यति सौखिन छैनौँ । बिहान उठेर एक कप कालो चिया खाएपश्चात् दुवैजना आ–आफ्नो काममा लाग्छौँ ।’ उनीहरू डिनर भने प्रायः सँगै गर्छन् ।

सबिना खानाको खासै सौखिन छैनन्, सानैदेखि । तर, किशोरमा भने खानाको सोख ज्यादा छ । अहिले भने किशोरको संगतले बिस्तारै खानाको सौखिन बनाउँदै लगेको छ । तर, खाना बनाउने सवालमा भने सोख ठिक विपरीत छ । किशोर खाना बनाउन रुचि राख्दैनन् ।
बाहिरको खानामा त्यति बानी नभए पनि कहिलेकाहीँ बच्चाहरूले खानाका लागि बाहिर जाने रहर गर्दा उनीहरू सहमत हुन्छन् । ‘आफ्ना लागि भन्दा पनि बच्चाहरूकै लागि हामी कहिले–कहिले खाना खान बाहिर जाने गर्छाैं,’ सबिना भन्छिन् ।

पछिल्लो समय भने पारिवारिक हिसाबले पनि परिपक्व भइसक्दा रिसाएर र नबोलेर बस्नु समयको बर्बाद हो जस्तो लाग्छ, सबिनालाई । ‘आखिर नमिलीकन सुख छैन, रिसाएर के फाइदा ?’ उनी भन्छिन्, ‘सामान्य भनाभनपश्चात् हाम्रो झगडा सकिसक्छ, लामो समयसम्म रहँदैन ।’

वर्षको एकपटक बच्चासहित विदेश भ्रमण
सबिना र किशोर समय मिलेसम्म सपरिवार घुमफिर गर्न पछि पर्दैनन् । देशका विभिन्न भाग र विदेशमा पनि उनीहरूको भ्रमण भइरहन्छ । वर्षमा एकपटक बच्चासहित विदेश भ्रमणमा जान्छन् । त्यसका अतिरिक्त कहिलेकाहीँ कामकै सिलसिलामा विदेश जाँदा पनि केही समय निकालेर घुम्ने गरेका छन् । त्यति नै वेला बच्चाहरूको पनि बिदा परेमा उनीहरूसित घुम्ने समय मिलाउने गरेको सबिना बताउँछिन् । ‘हामी वर्षको एकपटक बच्चाहरूसहित विदेश भ्रमणमा जाने गरेका छौं,’ सबिना भन्छिन्, ‘उपत्यकाभित्रै पनि वेला–बखत सबै परिवार घुम्न गइरहेका हुन्छौँ ।’ यस वर्ष भने परिवारलाई त्यति समय दिन नसकेजस्तो लागिरहेको छ, सबिनालाई । पछिल्लो समय किशोर आफ्नै अस्पताल खोल्नमा व्यस्त छन् भने सबिना पनि आफ्नै क्लिनिकमा व्यस्त छिन् । ‘श्रीमान् आफ्नै अस्पताल खोल्न व्यस्त हुनुहुन्छ,’ उनी भन्छिन्, ‘म पनि व्यस्त भएका कारण यस वर्ष पहिलेजस्तो परिवारलाई समय निकाल्न नसकिएको हो ।’

भ्रमण मात्र होइन, यो डाक्टर जोडी समय मिलेसम्म बच्चासँग बसेर चलचित्र हेर्न पनि त्यति नै रुचाउँछ । वेला–बखत सिनेमाबाट मनोरञ्जन लिन हल पुग्छन् । पछिल्लो समय भने व्यस्तताले हल पुग्न दिएको छैन ।

सामान्य ठाकठुक, रिसाउँदा दुवैको नबोलेरै बिताइदिने बानी
दम्पतीमा कहिलेकाहीँ सामान्य ठाकठुक पर्नु स्वाभाविकै हो, सबिना र किशोरमा पनि त्यो हुन्छ । रिस उठ्दा बोल्ने, कराउने वा झगडा गर्ने स्वभाव सबिनाको छैन । उनी निकैबेर चुपचाप बसिन् भने जान्नुपर्छ कि– उनी रिसाइछिन् । ‘म रिस उठेमा चुपचाप, बौल्दै–नबोली बस्ने गर्छु,’ सबिना भन्छिन् ।

पछिल्लो समय भने पारिवारिक हिसाबले पनि परिपक्व भइसक्दा रिसाएर र नबोलेर बस्नु समयको बर्बाद हो जस्तो लाग्छ, सबिनालाई । ‘आखिर नमिलीकन सुख छैन, रिसाएर के फाइदा ?’ उनी भन्छिन्, ‘सामान्य भनाभनपश्चात् हाम्रो झगडा सकिसक्छ, लामो समयसम्म रहँदैन ।’
परिपक्वतासँगै किशोर पनि रिसाउने कुरामा पहिलेभन्दा परिवर्तन भइसकेको अनुभव सबिनाको छ । पहिले भने रिस उठ्दा किशोरको पनि हतियार उही हुन्थ्यो, नबोलिदिने । ‘पहिले–पहिले भने रिस उठ्दा उहाँ पनि कतिपयवेला नबोलीकनै बस्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय