खोटाङमा बृहत् शिविर, १२ दिनमा साढे ४ हजारलाई विशेषज्ञसेवा

स्वास्थ्यसेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाको आयोजनामा खोटाङ जिल्लाका विभिन्न स्थानमा दोस्रो चरणको १२ दिने घुम्ती स्वास्थ्यशिविर सम्पन्न भएको छ । स्वस्थ नागरिक नै विकास र समृद्धिको आधार भएको तथ्यलाई आत्मसात् गर्दै ‘समयमै रोग पहिचानका निम्ति घुम्ती अस्पताल सेवा गाउँ–गाउँमा पुर्याउने हाम्रो प्रयास, सबैलाई स्वस्थ राख्ने हाम्रो प्रयास’ नाराका साथ अभियानका रूपमा चलाइएको ‘विशेषज्ञ घुम्ती अस्पताल सेवा शिविर’ यसपटक १३ देखि २४ माघसम्म सञ्चालन गरिएको हो ।

महाशाखाले एक साताको अन्तरालमा खोटाङमा यो दोस्रो शिविर चलाएको हो । यसपटक जिल्लाका मानेभन्ज्याङ, साकेला, ओख्रे, जनसेवा दिँहु, चिप्रिङ, सिम्पानी, खोटाङ बजार, चिसापानी बजार र धर्तुङमा शिविर चलाइएको हो ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका सल्लाहकार जनस्वास्थ्यविज्ञ एवम् वरिष्ठ फेमिली फिजिसियन डा. केके राईको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकी, वरिष्ठ रेडियोलोजिस्ट डा. कृष्ण बुढाथोकी, वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. साभना प्रधान, फेमिली फिजिसियन डा. रोहेन्द्र पाण्डे, डा. सुमित प्रजापति, हाडजोर्नी विशेषज्ञ डा. सरोज राई, डेन्टल सर्जन डा. अमिता राई, डा. नवराज घिमिरे, डा. राजीवकुमार मण्डल, आयुर्वेद चिकित्सक डा. सभ्यता पन्थी, डा. सुनील भण्डारीलगायत चिकित्सकले स्थानीयलाई स्वास्थ्यसेवा प्रदान गरेका थिए ।

त्यसैगरी, शिविरमा आस सिर्जना जयसवाल, अप्टोमेट्रिसियन मिनु श्रेष्ठ, हेल्थ असिस्टेन्ट ज्ञानु कार्की, हेअ दौलत तुलाधर, जअ भवानी शर्मा, जअ योगेन्द्र पञ्जीयार, ल्याब टेक्निसियन पंकज थारू, नर्सिङ अधिकृत यशोदा गिरीलगायत २२ स्वास्थ्यकर्मीको संलग्नता रहेको डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

नरदेवी आयुर्वेद अस्पताल, न्याम्स वीर अस्पताल, पाटन अस्पताल, कान्तिपुर डेन्टल हस्पिटल, कीर्तिपुर आँखा अस्पताललगायत संघ–संस्थाका विशेषज्ञहरू संलग्न शिविरबाट ४ हजार ५ सयभन्दा बढी खेटाङवासीले सेवा लिएका छन् ।

घुम्ती अस्पताल शिविरमा छाला, हाडजोर्नी, छाती, बालरोग, ज्येष्ठ नागरिक, दाँत तथा मुख,आँखा, महिलासम्बन्धी रोग, स्तनक्यान्सर, स्क्रिनिङ, भिडियो एक्स रे, चिनीरोगको परीक्षण, आर्युवेद, योग तथा जीवनशैली व्यवस्थापन, सामाजिक सेवा एकाइ र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको आयोजकले जनाएको छ । सामाजिक सेवा एकाइमार्फत उपचार गर्न नसक्नेका लागि नजिकको प्रेषण वा काठमाडौंमा ल्याई वा घुम्ती शल्यक्रिया शिविर सञ्चालन गरी उपचार गराउन बिरामीको नाम, सम्पर्कलगायतको अभिलेख संकलन गरिएको शिविर संयोजक तथा उपचारात्मक सेवा महाशाखाका आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखाप्रमुख डा. प्रकाश बुढाथोकीले बताए ।

नरदेवी आयुर्वेद अस्पताल, न्याम्स वीर अस्पताल, पाटन अस्पताल, कान्तिपुर डेन्टल हस्पिटल, कीर्तिपुर आँखा अस्पताललगायत संघ–संस्थाका विशेषज्ञहरू संलग्न शिविरबाट ४ हजार ५ सयभन्दा बढी खेटाङवासीले सेवा लिएका छन् ।

शिविरमा ४ सय महिलाको म्यामो गरिएकोमा १ सय ५ जनाको स्तनमा गिर्खा वा डल्लो भेटिएको जनाइएको छ । त्यसैगरी, ७ सय १६ महिलाले शिविरमार्फत स्त्रीरोगको उपचार गराएका छन् । त्यस्तै, १ सय १३ जनामा चिनीरोगको पहिचान भएको छ भने ७ सय ६४ बिरामीको दाँतको उपचार गरिएकोे बताइएको छ । शिविरमा ७ सय १५ जनाको भिडियो एक्स रे गरिएको थियो । त्यस्तै, १ सय ३५ जना विविध रोगका बिरामी शिविरमार्फत लाभान्वित भएका छन् । शल्यक्रिया अवश्यक देखिएका ६८ जना आँखाका बिरामीको अभिलेख राखिएको र उनीहरूलाई छिटै उपयुक्त स्थानमा बोलाएर शल्यक्रिया सेवा दिइने संयोजक डा. बुढाथोकी बताउँछन् ।

आयुर्वेदिक, होमीयोप्याथिक र एलोप्याथिक गरी १५ लाखभन्दा बढी मूल्यको औषधि शिविरमा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । यसका साथै शिविरमा नेपाल डेन्टल एसोसिएसनबाट प्राप्त ५ हजार दन्तमन्जनसमेत निःशुल्क वितरण गरिएको छ ।

आयुर्वेदिक, होमीयोप्याथिक र एलोप्याथिक गरी १५ लाखभन्दा बढी मूल्यको औषधि शिविरमा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । यसका साथै शिविरमा नेपाल डेन्टल एसोसिएसनबाट प्राप्त ५ हजार दन्तमन्जनसमेत निःशुल्क वितरण गरिएको छ ।

सेवाप्रदायक सेवाग्राहीको घरमै पुगी रोगको पहिचान गरी समयमै उपचार प्रदान गर्ने उद्देश्यले निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्यशिविर सञ्चालन गरिएको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मनीषा रावलले बताइन् ।
यसअघि महाशाखाले खोटाङको उत्तरी जाल्पा, बाक्सिला, दार्गाम्छा, ऐँसेलुखर्क र हलेसीका ५ स्थानमा २३ पुसदेखि ११ दिनसम्म विशेषज्ञ घुम्ती अस्पताल शिविर सञ्चालन गरेको थियो । बजेट विनियोजन भए हरेक प्रदेशका मानव विकास सूचकांक कमजोर भएका र अस्पताल तथा विशेषज्ञ सेवाको पहुँच नभएका दुर्गम स्थानहरूमा यस्तो घुम्ती अस्पताल सेवा शिविर सञ्चालन गर्ने सोच उपचारात्मक सेवा महाशाखाले बनाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय