नेपालमै सुरु भयो ‘डेडिकेटेड ह्यान्ड सर्जरी’ फेलोसिप, छोरीको संस्कृतमोहले तानिए विश्वचर्चित सर्जन

स्ट्यान्डफोर्ड युनिभर्सिटी अफ मेडिकल सेन्टरका प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी प्रमुख जेम्स चाङ ३० वर्षअघि मेडिकल विद्यार्थी छँदै नेपाल आएका थिए । तीन दशकको चिकित्सकीय अभ्यासमा संसारका धेरै मुलुक चहारे पनि यी नामी सर्जनलाई नेपाल आउने दोस्रो संयोग जुरेको थिएन ।
सन् २०१४ मा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलको एउटा कार्यक्रममा सोही युनिभर्सिटीकी प्लास्टिक सर्जरीकी पूर्वविद्यार्थी डा. सिलु श्रेष्ठसँग चाङको चिनजान भयो । सो भेटमा यी नामी प्राध्यापक डा. सिलुको नेतृत्व क्षमता र लगावबाट प्रभावित बने ।
त्यतिवेला चाङकी छोरी जुलियाले संस्कृत सिक्नका लागि नेपाल आउने चाहना राखिन् । चाङले सिलुलाई सम्झे र फोन गरे । ‘मेरी छोरीलाई केही समय तिम्रो सान्निध्यमा राख्न चाहन्छु, केही प्रेरणा लेओस्,’ उनले भने ।
जुलिया २ महिना डा. सिलुकै घरमा बसिन् । जुलिया सिलुको मिहिनेत र केही गरौँ भन्ने सोचबाट यति प्रभावित भइन् कि उनले अमेरिकाकै चर्चित ‘ह्यान्ड सर्जन’ बाबु चाङलाई आफूले आर्जन गरेको विशिष्टता नेपालका लागि लगानी गर्न आग्रह गरिन् । छोरीकै आग्रहमा डा. चाङले डा. सिलुलाई अमेरिकामा स्ट्यान्डफर्ड, साइनसजस्ता चर्चित अस्पतालमा ह्यान्ड सर्जरीमा तालिमको अवसर जुरायो ।
त्यतिवेला चाङकी छोरी जुलियाले संस्कृत सिक्नका लागि नेपाल आउने चाहना राखिन् । चाङले सिलुलाई सम्झे र फोन गरे । ‘मेरी छोरीलाई केही समय तिम्रो सान्निध्यमा राख्न चाहन्छु, केही प्रेरणा लेओस्,’ उनले भने ।
विशिष्ट सीप सिकेपछि डा. सिलुले नेपालमा पनि यो विधामा केही काम सुरु गर्ने इच्छा राखिन् । सिलुकै इच्छानुसार प्रोफेसर चाङले फेलोसिप कार्यक्रम सुरु गर्ने उपाय निकाले ।
‘छोरी जुलियाले मलाई चिकित्साक्षेत्रमा प्रतिबद्ध नेपाली महिला डाक्टर सिलु र नेपाललाई केही सहयोग गर्न भनिन्,’ बिहीबार साँझ होटेल अन्नपूर्णमा चाङले हेल्थपोस्टसँग भने, ‘जसले गर्दा हामी नेपालमा ह्यान्ड सर्जरीको फेलोसिप सुरु गर्न सफल भएका छौँ ।’
प्लास्टिक सर्जरीको नवीनतम विधा रिकन्स्ट्रक्टिभ सर्जरी नेपालमा सुरुवात भएको झन्डै २ दशकपछि डेडिकेटेड ह्यान्ड सर्जरी तालिम (फेलोसिप) गत जुलाईदेखि सुरु भएको हो ।
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानको प्राज्ञिक कार्यक्रमअन्तर्गत समेटिने गरी कीर्तिपुरस्थित बर्न एन्ड प्लास्टिक सर्जरी अस्पताल, ल्याप्रोसी सेन्टर आनन्दवन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा फेलोहरूले अभ्यास गर्नेछन् । जसमा अधिकांश तालिम कीर्तिपुर अस्पतालबाट हुनेछ । फ्याकल्टीका रूपमा डा. सिलुसहित डा. किरण नकर्मी, त्रिवि शिक्षणका डा. जयनमान श्रेष्ठ र आनन्दवन अस्पतालका डा. इन्द्र नापित छन् ।
फेलो उत्पादनका लागि रिकन्स्ट्रक्टिभ सर्जरी (रिसर्ज), इन्टरनेसनल, स्ट्यान्डफोर्ड युनिभर्सिटी र अमेरिकन सोसाइटी फर सर्जरी अफ ह्यान्डले आगामी दिनमा सम्भावित जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । समय–समयमा रिसर्जलगायत संस्थाबाट भिजिटिङ फ्याकल्टीले समेत नेपाल आएर प्रशिक्षण दिनेछन् ।
चाङका अनुसार नेपालमा यो शल्यक्रिया सेवा दिनका लागि क्षमतायुक्त जनशक्ति, पूर्वाधारसम्पन्न अस्पताल भए पनि ठोस रूपमा तालिम भने सुरु हुन सकेको थिएन । ‘सबै कुरा यहीँ थियो,’ उनले भने, ‘एउटा सुरुवाती प्रयासको खाँचो थियो र त्यो पनि एउटी महिला (डा. सिलु)को नेतृत्वमा सुरु भएको छ ।’
‘हातको सर्जरी सामान्यजस्तो लागे पनि उपयोगी तर क्रिटिकल छ,’ डा. चाङले भने, ‘जस्तै, कसैको औँलो पूरै छिन्यो भने जोडिनुको महत्व त्यो व्यक्तिले मात्रै महसुस गर्न सक्छ ।’ ह्यान्ड सर्जरीमा विशेषगरी मृत मांसपेशीलाई फाल्ने र हातको सञ्चालन (चाल)लाई विशेष ध्यान दिनुपर्छ ।
हाडजोर्नी तथा प्लास्टिक सर्जरीमा विशेषज्ञता हासिल गरेका जनशक्तिले ह्यान्ड सर्जरीमा फेलोसिप गर्न सक्छन् । पहिलो वर्ष फेलोसिपअन्तर्गत एकजना विद्यार्थी भर्ना भएका छन् भने अर्को वर्ष २ जना भर्ना गरिनेछन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका नामी हाडजोर्नी तथा प्लास्टिक सर्जनहरूको उपस्थितिमा चाङले विश्व परिवेशमा ह्यान्ड सर्जरीको सुरुवात र विस्तारसँगै पछिल्ला चुनौतीबारे प्रस्तुति दिएका थिए । उनले नेपालमा सबै कुरा भएर पनि हात शल्यक्रियामा समर्पित पढाइ सुरु नसकेको अवस्थामा यो प्रयास महत्वपूर्ण हुने बताए ।
विशेष तालिमबाट जनशक्ति उत्पादन र सेवा विस्तारसँगै जलेर दुर्घटना वा अन्य कारणले हात बिग्रिएका, क्षति पुगेका, जन्मजात औँला धेरै भएकाहरू यो शल्यक्रियाबाट लाभान्वित हुनेछन् । नेपालमा बढ्दो दुर्घटनाका कारण पनि हात क्षतिग्रस्त हुने संख्या धेरै भएको र ठूलो संख्यामा यसको माग रहेको डा. श्रेष्ठको भनाइ छ ।
नेपालमा सन् १९९९ मा प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी सुरु भएको थियो । पछिल्लो समय नेपालमा ह्यान्ड सर्जरी सुरु हुनु एउटा क्रान्ति नै भएको चाङ बताउँछन् । दोस्रो विश्वयुद्धपछि ठूलो संख्यामा युद्धमा संलग्न सैनिकले हात गुमाउने तथा क्षति पुग्ने भएपछि ह्यान्ड सर्जरीको आवश्यकता महसुस गरिएसँगै अन्तर्राष्ट्रिय रूपमा सेवा सुरु भएको थियो ।
ह्यान्ड सर्जरीको विश्व इतिहास हेर्दा सन् १९६२ मा १२ वर्षे बच्चामा पाखुरा रिप्लान्ट गरिएको थियो । सन् १९६८ मा थम्ब (बूढी औँला) रिप्लान्ट गरिएको थियो । सन् २००० पछि हात प्रत्यारोपण सुरु भएको थियो ।
‘हातको सर्जरी सामान्यजस्तो लागे पनि उपयोगी तर क्रिटिकल छ,’ डा. चाङले भने, ‘जस्तै, कसैको औँलो पूरै छिन्यो भने जोडिनुको महत्व त्यो व्यक्तिले मात्रै महसुस गर्न सक्छ ।’ ह्यान्ड सर्जरीमा विशेषगरी मृत मांसपेशीलाई फाल्ने र हातको सञ्चालन (चाल)लाई विशेष ध्यान दिनुपर्छ ।
कार्यक्रममा वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईले चाङको नेतृत्वमा प्लास्टिक सर्जरी, माइक्रोसर्जरी र ह्यान्ड सर्जरीमा ठूला–ठूला परिवर्तन भएको भन्दै नेपालले पनि उनको अभिभावकत्व पाउनु महत्वपूर्ण कुरा भएको बताए । ‘चाङ केही दशकदेखि नदीजस्तै निरन्तर लागिपरेका छन्,’ उनले भने, ‘उनको सहकार्य नेपालीले पाउनु ठूलो उपलब्धि हो ।’
स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले सरकारले प्लास्टिक सर्जरीलाई प्राथमिकतामा नराखे पनि यो क्षेत्रमा भएको प्रयास र उपलब्धि उल्लेखनीय भएको बताए । उनले यो अभियानलाई सघाउन मन्त्रालय तयार भएको बताए ।
प्लास्टिक सर्जन एसोसिएसनका अध्यक्ष केडी जोशीले आफू पहिलोपटक प्लास्टिक सर्जरीको तालिम लिएर आउँदा यो विधा कति महत्वपूर्ण भन्ने अनुभूति नै नभएको बताए । ‘अहिले यसको महत्व थाहा भएको छ, तर सरकारले अहिले पनि प्रथामिकता दिएको छैन,’ डा. जोशीले भने, ‘सरकारले यो सर्जरीको विकास बढाउन सानो सहयोग गरेपछि निकै महत्वपूर्ण रिजल्ट दिन सकिन्छ ।’